कलेजमा पास हुने पनि हराए, फेल हुने पनि हराए

  २०७९ साउन २६ गते ११:०५     द्विराज शर्मा

नेपालमा विद्यमान अवस्थामा रहेका उद्योग तथा व्यवसायहरुलाई हेर्दा विषयगत रुपमा धेरै प्रकारका जनशक्तिहरुको आवश्यकता रहेको देखिन्छ । उद्योगहरुको प्रकृतिअनुसार आ–आफ्नो विशेषता अनुसारको जनशक्तिको आवश्यकता हुने गर्दछ ।

कृषि क्षेत्र अहिले पनि परम्परागत रुपमा चलिरहेको छ । यो क्षेत्रमा काम गर्ने जनशक्ति साइन्स जानेको भयो भने राम्रो हुन्छ । कृषि क्षेत्रमा अहिले माटो नै नभएको ठाउँमा पनि धेरै उत्पादन गर्ने प्रविधि जडान गरेर काम गरिरहेको हामीले देखेका छौं । त्यसैले कृषक भनेको कुशल व्यवस्थापन र विज्ञानमा ज्ञान भएको व्यक्ति त भने झनै सफल हुन सक्छ । अहिले यहाँ हामीले कृषकले भन्दा विचौलियाले कृषि उपजको व्यवसायमा धेरै पैसा आर्जन गरिरहेको देखेका छौं । यो अवस्था सिर्जना हुनुमा कृषकको सम्बन्धित विषय वस्तुको ज्ञानमा कमी भएर नै हो ।

जसले बजार बुझ्छ, जसले बजारको भाउ बुझ्छ, बजारको पार्टीहरुसँग समन्वय गर्छ, आफ्नो सामानलाई प्याकेजिङ गर्छ, रिकलरिङ गर्छ, जे जस्तो चिज छ त्यसलाई राम्रो भाषामा लेख्छ र त्यसलाई खाउँ–खाउँ लाग्ने बनाउँछ, उसको सामान बिक्छ । यो विषय यहाँका सिधासाधा किसानहरुले गर्न सक्दैनन् । यहाँनेर सही व्यवस्थापन नपुगेको देखिन्छ । यो कुरा की त ठूला बिग हाउसहरुले गर्नुपर्छ वा किसानहरु नै सक्षम हुनुपर्छ । तर, प्रविधिको प्रयोग र व्यवस्थापनको लागि विग हाउसमा जानु नै पर्ने हुन्छ ।

ट्रयाक्टर, डोजरदेखि धेरै प्राविधिक ज्ञानमा आधारित काम गर्नको लागि आवश्यक जनशक्ति अहिलेपनि भारतबाट ल्याउनुपरेको अवस्था छ । तर, रोजगार तथा आयआर्जनको समस्या मध्यम र निम्नवर्गमा उच्च रुपमा रहेको छ ।

जसको संख्या धेरै भएको, पढाइ राम्रो नभएको र प्राविधिक क्षमता पनि कम भएको अवस्था छ । हाम्रोमा सिटिइभिटी जस्तो संस्था छ, उसले पढाउँछ, तर उसले पढाएका कति मान्छेहरु रोजगारमा जोडिए वा जोडिएनन भन्ने कुनै लेखाजोखा छैन । पैसा खर्च भइरहेको छ, तर, सो खर्च अनुसारको उपलब्धिको पाटोमा ध्यान गएको छैन् ।

विदेशमा शिक्षा प्रदान गर्ने कलेजमा सरकारको लगानी कति छ, करदाताको लगानी कति छ, त्यहाँ को पढेका छन्, त्यहाँको उपलव्धि जाँच गर्ने, रेकर्ड गर्ने जिम्मेवारी व्यवस्थापन र बोर्डको हुनेगर्छ । हाम्रो कलेजमा यति जनालाई पढायौं, अहिले उनीहरुले यो–यो ठाउँमा काम गर्दैछन् भनेर रिपोटिङ गर्नुपर्छ । त्यहाँ एउटा संस्था कसले कतिलाई तालिम दिएर रोजगार वा उद्यममा प्लेसमेन्ट गर्यो भन्ने कुरालाई सबैभन्दा ठूलो मापदण्ड बनाइन्छ ।

तर, हामीकहाँ पढ्नेले पढ्छ, फेल हुनेले केही पनि पाउँदैन । पास हुनेले सर्टिफिकेट लिन्छ, हिँड्छ । को कता जान्छ, कसैलाई ख्याल हुँदैन । कसैसँग तथ्यांक छैन । उच्च स्तरका स्कूल कलेज पढ्नेहरुको अवस्था त राम्रो भैहाल्छ, तर, मध्यम र तल्लो आर्थिक स्तर भएका मानिसहरुको हकमा भने ठूलो समस्या छ । उनीहरुले उद्यम गर्न पनि सक्दैनन् । उनीहरुले तालिम लिने र आफ्नो अपग्रेड गर्न सक्दैनन् । यीनै मध्येको ठूलो संख्या मध्य पूर्वका देशहरुमा अर्धदक्ष कामदार भएर जाने अवस्था बनेको छ । त्यहाँ गएर सिक्दै काम गर्नुपर्ने कठिन परिस्थिति उनीहरुको अगाडि छ ।
एउटा उद्योग वा रोजगारदाता व्यवसायीलाई धेरै पैसा खर्च गरेर पनि दक्ष कामदारलाई काम गराउनुपर्ने हुन्छ । तर, हामीकहाँ दक्ष कामदारकै अभाव रहेकोले समग्र उद्यम तथा व्यवसाय क्षेत्रको उपलव्धी नै कमजोर अवस्थामा रहेको देख्न सकिन्छ ।

आजको दिनमा एसएलसी फेल, प्लस टु फेल वा स्नातक तहमा पढेर फेल भएका विद्यार्थी कति छन भनेर तथ्यांक कसैसँग छैन । त्यस्ता कति विद्यार्थीले रोजगारको लागि पासपोर्ट बनाएर विदेश गए भन्ने कुराको तथ्यांक कसैसँग छैन । कुनै विद्यार्थी कुनै विषयमा पास हुन सकेन भनेपनि त्यो विद्यार्थी अरु कुनै विषयमा राम्रो हुनसक्छ । त्यो विद्यार्थीलाई उसको क्षमताअनुसारको अवसर प्रदान गर्ने हो भने उनीहरुले आफ्नो क्षमतामा राम्रो गर्न सक्छन । त्यतातर्फ राज्यको ध्यान अलिकति पनि छैन । कलेजहरुले पनि यसतर्फ काम गरेका छैनन् ।

तर, हामीकहाँ पढ्नेले पढ्छ, फेल हुनेले केही पनि पाउँदैन । पास हुनेले सर्टिफिकेट लिन्छ, हिँड्छ । को कता जान्छ, कसैलाई ख्याल हुँदैन । कसैसँग तथ्यांक छैन । उच्च स्तरका स्कूल कलेज पढ्नेहरुको अवस्था त राम्रो भैहाल्छ, तर, मध्यम र तल्लो आर्थिक स्तर भएका मानिसहरुको हकमा भने ठूलो समस्या छ ।

अहिले विदेशतिर श्रमको मूल्य निकै महंगो छ । नेपालमै पनि आइटी सेक्टरमा जनशक्तिको विकास भइरहेको छ । उनीहरुले निकै राम्रो काम गरिरहेका छन् । सरकारले अहिले आइटी सेक्टरबाट विदेशी मुद्रा आर्जन गर्ने व्यवसायीलाई ल्याउनेहरुलाई कर पनि १ प्रतिशतमा झारेको छ । विदेश नै जानै जनशक्तिलाई पनि कुन देशमा जाने, कुन पेशामा जाने र त्यसलाई कुन तालिम दिँदा बढी पैसा कमाउन सक्छ ? त्यो तालिम राज्यले उच्चस्तरको तालिम दातामार्फत् दिन सक्छ ।

तालिमको सन्दर्भमा यहाँ के समस्या छ भने सरकारले वा एनजिओहरुले औपचारिक रुपमा तालिम दिने तर उपलव्धी नहुने अवस्था छ । अल्पकालिन र जनशक्तिलाई एकछिनको लागि अल्मल्याउने बाहेक केही हुन सकेको छैन् । यस्तो कुरामा राज्यले राम्रोसँग योजना बनाएर खर्च गर्नुपर्छ । बरु आवश्यक पर्छ भने ऋण लिएर पनि काम गर्नुपर्छ । राज्यको जनशक्ति विकासको लागि जति लगानी गरेपनि त्यो पैसा भोलि जनशक्तिले फिर्ता गर्छ । यस्ता विषयमा पूर्ण रुपमा केन्द्रीत भएर लाग्ने हो भने राज्यलाई चाहिने जनशक्ति विकास गर्न गाह्रो छैन । धेरै समय पनि लाग्दैन ।

हाम्रो देशमा कति मान्छेहरु के कामका लागि अन्य देशबाट आइरहेका छन् ? त्यसको पनि लेखाजोखा छैन । उदाहरणको लागि घरमा लगाउने टायलको काम गर्न अधिकांश मानिसहरु भारतबाट आएर गरेको देखिन्छ । उनीहरुले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जुन जनशक्ति यहिँ नै उत्पादन गर्न सम्भव छ । त्यस्तै यस्ता धेरै कामहरु छन् जो हामी नेपालीहरुले नै गर्न सक्छौं तर गरिरहेका छैनौ । त्यो अनुसारको सोंच र वातावरण निर्माण गर्नेतर्फ राज्यको ध्यान गइरहेको छैन ।

केही सीमित कलेजहरुले राम्रा शिक्षकको व्यवस्था गरेर राम्रो जनशक्ति उत्पादन गर्ने प्रयत्न पनि गरिरहेका छन् । यहाँनेर एउटा महत्वपूर्ण विषय के हो भने स्नातक वा स्नातकोत्तर पास गरेरपनि केही समय तालिम दिएर मानिसलाई क्षमतावान बनाउन सकिँदैन । शिक्षाको मुख्य आधार भनेको स्कूल तह नै हो । स्कूलमा एउटा मान्छेले १०÷१२ वर्ष पढेको हुन्छ । त्यसैले बढी ध्यान दिनुपर्ने भनेको नै स्कूल तहमा हो ।

उदाहरणको लागि काठमाडौंमा केही राम्रा स्कूलहरु छन्, त्यहाँ पढ्ने विद्यार्थीलाई जागिरको कुनै समस्या नै हुँदैन । उनीहरु ग्लोबल लेबलमा नै प्रतिस्पर्धा गर्न सक्छन् । उदाहरणको लागि रातो बंगालाको विद्यार्थी पढाई सकिएपछि काम नपाएर हिँडेको कोही छैन । त्यो लेवलको विद्यार्थीहरु देशभरबाट हर्ने हो भने १ प्रतिशत पनि छैन । सरकारी विद्यालयहरुमा शिक्षकको गुणस्तरमा समस्या छ । शिक्षाको गुणस्तर राम्रो हुनको लागि मुख्यतः शिक्षकको गुणस्तर राम्रो हुन जरुरी हुन्छ । त्यहाँ शिक्षकले प्रर्याप्त तालिम नै पाएका छैनन् । निजी लगानीबाट सञ्चालित स्कूल कलेजले आन्तरिक तालिम र सूचना प्रविधिलाई बढी उपयोगितामा ल्याएका छन् । गर्नुपर्छ भन्ने जिम्मेवारीबोध छ तर सरकारी विद्यालयमा जिम्मेवारी वोधको पनि तुलनात्मक रुपमा अभाव देखिन्छ ।

अहिलेको सन्दर्भमा प्रविधिको पहुँचको कारणले शिक्षक भन्दा पनि विद्यार्थीहरु नै धेरै जान्ने भइसकेको हुन्छ । मोवाइल, ट्याब र ल्यापटपमार्फत घरमै बसेर धेरै कुरा सिकिरहेका हुन्छन । अहिले अनलाइन शिक्षा पनि सर्वशुलभ पहुँचमा छ । थोरै लगानी गरेर धेरै कुराहरु सिक्न सकिने कुराहरु पनि छन् ।

जुन देशहरु धनी छन् वा राम्रो विकास गरेका छन्, त्यहाँको सरकारले सबैभन्दा धेरै लगानी शिक्षामा गरेको छ । शिक्षकलाई सबैभन्दा धेरै सेवा सुविधा दिएका छन् । त्यहाँ अरु भन्दापनि म शिक्षक हुन्छु भन्नेको संख्या धेरै हुन्छ । यहाँ हाम्रोमा अलि पढेलेखेको र राम्रो मान्छे शिक्षक हुन्छु नै भन्दैन । हामीले शिक्षकलाई सबैभन्दा कम प्राथमिकतामा राख्छौं, अनि जनशक्ति चाहिँ राम्रो उत्पादन हुनुपर्यो भन्ने अपेक्षा राख्छौं ।

नेपाली शिक्षाको आधारभूत तहमा नै समस्या छ । राजनीतिक र व्युरोक्रेसीका मानिसहरुले यो विषयलाई राम्रोसँग बुझेका छन् । तर गर्न चाहेको देखिँदैन् । अहिले सरकारी विद्यालयबाट उत्पादन भएको विद्यार्थी नै धेरै संख्यामा बेरोजगार भएको अवस्था छ । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ ।

यहाँको मध्यम वा निम्नस्तरको आर्थिक अवस्था भएको समूदायसँग निर्वाचन अगाडि होइन, निर्वाचन पछाडि प्रधानमन्त्री तथा मन्त्रीहरु नजिक हुनुपर्ने हो । राज्यमा सही दिशानिर्देश गर्ने भनेको प्रधानमन्त्री तथा मन्त्रीहरुले हो । एउटा कूचीकारलाई पनि प्रधानमन्त्री तथा मन्त्रीहरुले भेटेर के छ अवस्था भनेर सोध्ने संस्कार हुनुपर्ने हो । कामप्रतिको सम्मानको संस्कार विकास गर्नुपर्छ । कामलाई आदर नगर्ने संस्कार भएको कारणले गर्दा सानो काम ठूलो काम भन्ने अवस्था हामीकहाँ जकडिएको छ ।
हामीकहाँ नयाँ ढंगले संस्कार सिकाउन र स्थापित गर्न जरुरी छ । काम भनेको काम हो । टाई लगाउने मात्रै ठूलो मान्छे हुँदैन अथवा ठूलो गाडीमा चढ्ने मान्छे ठूलो हुँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्छ । सार्वजनिक यातायात र सेवाका क्षेत्रहरुमा पनि प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्च तहका व्यक्तिहरु हिँड्ने तथा सेवा प्रयोग गर्ने गर्नुपर्छ, जसले गर्दा ती क्षेत्रहरु पनि थप व्यवस्थित हुन मद्दत गर्छ ।

यहाँ मजदूरी गर्दा विदेशको तुलनामा मनोवैज्ञानिक र सुविधाको पक्षमा निकै कमजोर छ । जसले गर्दा धेरै युवाहरु यहीँ काम गर्न भन्दा विदेशमा गएर काम गर्न तयार भइरहेका छन् । यहाँ राम्रो वातावरण सिर्जना गर्नको लागि हरेक क्षेत्रलाई समान ढंगले सकारात्मक रुपमा विकास गर्नुपर्छ । सबैभन्दा धेरै मजदूरी गर्ने मान्छेलाई धेरै तलबको व्यवस्था गर्नुपर्छ । त्यसो गर्न सकियो भने मानिसहरुले यहीँको कामलाई रोज्छन् ।

देशभरी भएका स्कूल तथा कलेजको अवस्था के छ ? त्यसको पहिला तथ्यांक निकाल्न जरुरी छ । त्यसपछि योजनावद्ध रुपमा विद्यार्थीहरुलाई आइटी, गणित र हाम्रो भाषा संगै अंग्रजी भाषामा कसरी विश्वकै लेवलको दक्ष बनाउन सकिन्छ त्यो विधिलाई लागू गर्नुपर्छ । त्यसको लागि अहिलेको अवस्थामा धेरै नेपालीहरु सक्षम भएर विदेशका युनिभर्सिटीहरुमा वा प्रोजेक्टहरुमा काम गरिरहेका छन् । उनीहरुलाई राज्यले अनुरोध गरेर स्कूल तथा कलेजहरुको लागि निश्चित समय माग गर्न सक्छ । अहिलेको सिंगापुर बनाउनको लागि लि क्वान यु ले पनि अंग्रेजी भाषालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका थिए । जसले गर्दा त्यहाँका नागरिकहरु संसारको जुनसुकै देशमा गएर काम गर्न सक्ने भए ।

त्यस्तै, एसईई दिएर बसेका सबै विद्यार्थीलाई समेटेर सरकारले भोकेसनल तालिमको व्यवस्था गर्नुपर्छ । हामीलाई कुन क्षेत्रको लागि कस्तो र कति जनशक्ति चाहिएको छ ? त्यसको राम्रो तथ्यांक निकालेर सो अनुसारको जनशक्ति तयार गर्नको लागि लागि निजी तथा अन्तर्राष्ट्रिय स्तरको संस्थाहरुलाई जिम्मेवारी दिन सकिन्छ । ठूलो रोजगार सिर्जना गरिरहेका वा राम्रा उद्यमीहरुलाई पनि प्रोत्साहन गर्ने हो भने उनीहरुले पनि धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । ५ वर्षको अवधिमा ती राम्रो प्रविधि र जनशक्ति सम्पन्न भएका संस्थाहरुले विद्यार्थीहरुलाई सक्षम बनाउन सक्छन् । एकेडेमिक रुपमा कमजोर विद्यार्थीहरुलाई उनीहरुको क्षमताअनुसारको प्राविधिक तालिमको व्यवस्था गर्न सकिन्छ ।

यसको लागि राज्य सञ्चालको तहमा रहेका मानिसहरुमा गर्ने इच्छाशक्ति हुनुपर्यो । राज्यको उच्च तहमा रहेकाहरुले गर्नुपर्छ र गर्न सकिन्छ भन्ने कुरालाई पनि निरन्तर रुपमा शन्देश प्रवाह गर्ने, आफ्नो स्थानबाट इमान्दारिता र अनुशासन पदर्शन गर्ने काम हुन जरुरी छ । यदि नीतिगत रुपमा राम्रो शैक्षिक अवस्था सिर्जना गर्नको लागि कुनै निजी क्षेत्र, एनजिओ क्षेत्र वा कसैले अवरोध गरिरहेको छ भने त्यसलाई पन्छाएर अगाडि बढ्न सकिन्छ । तर, राम्रो काम गरिरहेका संस्था तथा व्यक्तिहरुलाई थप प्रोत्साहन गरेर जिम्मेवारी पनि दिन सकिन्छ । त्यसो गर्दा कुल अवस्थामा सकारात्मक अवस्थाको सिर्जना हुनपुग्छ र काम गर्नपनि धेरै समय लाग्दैन ।
(वार्तामा आधारित, शर्मा नेपाल उद्योग परिसंघको केन्द्रीय सदस्य, एजुकेशन काउन्सिलको सभापति, अल्फाबिटा ग्रुपको सिइओ र सिएनआई रोजगार तथा सीप मेला २०७९ को संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.