क्यानले आईटी विषय पढ्न २ करोडको छात्रवृत्ति दिने, कसले दिन पाउँछन् आवेदन ?

  २०७९ साउन २५ गते १२:४३     विकासन्युज

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ प्रदान गर्दै आईरहेको  ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ । क्यानले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

क्यानले विगत ४ वर्षदेखि गरिब तथा जहेन्दार विद्यार्थीलाई सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा छात्रवृत्ति दिँदै आएको छ ।

क्यानले काठमाडौंको मैतिदेविस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागेको छ । क्यान महासंघ र कलेजबिच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँ दबराबरको छात्रवृत्ति पाउनेछन् ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रवृत्ति प्रदान गरिन्छ । क्यानको अनुसार विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई र आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने क्यानले जानकारी दिएको छ ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।

क्यानको अनुसार नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन । छात्रवृत्तिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेश गर्नुपर्नेछ ।

क्यानले छात्रवृत्तिका अनलाईन परीक्षा भदौ १० गते गर्ने र भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा गर्ने जानकारी दिएको छ ।

One comment on "क्यानले आईटी विषय पढ्न २ करोडको छात्रवृत्ति दिने, कसले दिन पाउँछन् आवेदन ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.