लोजिस्टिक कष्ट कम गरौं, औद्योगिक उत्पादन बढाऔं : अध्यक्ष गोल्छा

  २०७९ साउन १३ गते १५:५१     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशमा औद्योगिक उत्पादन बढाउन नेपालको लोजिस्टिक कष्टलाई घटाउनुपर्ने बताएका छन् । शुक्रबार २८औं काग्रो दिवसको अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

उनले काग्रो व्यवसायमा लाग्ने लोजिस्टिक कष्ट कम गर्न नसकेसम्म औद्योगिक उत्पादन नबढ्ने बताएका हुन् ।

‘उद्योग वाणिज्य महासंघले भिजन पेपर ल्याएको छ, यसको लक्ष्य भनेको २०३० सम्म आफ्नो अर्थतन्त्रलाई सय मिलियन डलर पुर्याउने हो, यसको लागि अध्ययन अनुसन्धान गरेर १० वटा क्षेत्रमा १०० वटा इनिसियटिभ लिएका छौं, यसलाई सरकारले सकारात्मक रुपमा हेरेको तर ओनसिप भने लिएको छैन, त्यसैले सरकारले यसलाई प्राथमिकता देओस् र ओनसिप लिएर छिट्टै एमओयू गरोस् भन्ने हाम्रो चाहना हो, उनले बताए ।

त्यसैले, अर्थतन्त्रमा रहेका समस्याहरु अर्थात विशेष गरी लोजिस्टिकमा गर्नुपर्ने विषयमा केन्द्रित भई रोडम्याप तयार पारेर अघि बढ्नु पर्ने अध्यक्ष गोल्छाको भनाई छ ।

त्यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पनि काग्रो व्यवसायलाई थप व्यवस्थित पार्न निर्यातमा टीडीएस काट्ने अहिलेको नयाँ व्यवस्थालाई संसोधन गर्नुपर्ने बताएका छन् । यसले काग्रोमा आवद्ध भएका १२५ व्यवसायलाई मारमा परेको उनको भनाई छ ।

‘कोभिडमा पनि चलायमान भएको काग्रो व्यवसायलाई व्यवस्थित गर्न डुवानी गर्दाको समस्यालाई समाधान गर्नुपर्छ, एयर काग्रोभन्दा पनि रोड काग्रो महंगो भएको छ, यसलाई घटाउनतर्फ लाग्नुपर्छ,’ उनले भने ।

अध्यक्ष मल्लले अहिले व्यवसायीहरुले बजारमा तरलता अभाव र बैंकको उच्च ब्याजदर भोगिरहेको अवस्थामा राष्ट्र बैंकले सार्वजनिक मौद्रिक नीति कसिलो र पेचिलो बन्दै गएको बताए । उनले मौद्रिक नीतिले विगतमा व्यवसायीहरुलाई दिएको सुविधा समेत कटौती भएको तथा बैंकको ब्याजदरको बेस रेटको प्रिमियम समेत ४ पतिशत लिने नीतिले अत्याधिक महँगी बढाउनसक्ने बताएका छन् । त्यसैगरी, संसदमा पुगेको आर्थिक ऐनलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर, २०३० ले औंल्याएका केही विषयहरुमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । साथै, उनले नेपालको लजिस्टिक्स नीति अन्तिम चरणमा पुगेको समेत जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.