२०७९ साउन १३ गते १३:५० विकासन्युज
काठमाडौं । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस सेवामार्फत अब ग्राहकले सहज रुपमा बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् ।
यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।
यस मेसिनबाट १ हजार र ५ सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० रुपैयाँ गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने छ ।
सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटिपी प्राप्त गर्नेछन् र उक्त ओटिपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया सुरु हुनेछ ।
उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।
बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा अन्य शाखाहरुमा पनि लागु गर्ने जनएको छ ।
बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.