४ वर्ष बित्दा पनि सहकारीबाट रकम फिर्ता नपाएपछि बचतकर्ता आन्दोलित

  २०७९ साउन १३ गते १२:३४     विकासन्युज

काठमाडौं । सुनसरीको भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बचतकर्ताले बताएका छन् । आन्दोलित वचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रर्दशन समेत गरेका छन् ।

संस्थाका सञ्चालक ३०० बढी बचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् । पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताहरुले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

यता सहकारी संस्थाका एजेन्टका रुपमा रहेका वचत संकलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट बचत संकलन गरी रकम जम्मा गरेपनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तिएको बताए । आफू बारम्बार बचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उनको भनाइ छ । साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनी आरोप लगाउन थालेको बताए ।

यता सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ । संचालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा बचतकर्तासँग मतभेदको अवस्था सृजना हुनपुग्दा अवस्था असहज बन्न पुगेको बताए । उनले अडिट रिर्पोट प्राप्त हुनासाथ बचतकर्ताको रकम फिर्ता दिइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.