सिरहामा विद्युत् चुहावट सात प्रतिशत घट्यो, पाँच करोड बक्यौता रकम असुली

  २०७९ साउन १३ गते ९:३३     विकासन्युज

लहान । सिरहामा विद्युत् चुहावट सात प्रतिशतले घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो । एक हजार ९७२ नयाँ ग्राहक थपिएका छन् ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट घटेर २५ प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा ३२ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७८/७९ मा विद्युत् चुहावट २५ प्रतिशतमा झेरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए ।

यस्तै आव २०७८/७९ मा विद्युत्को महसुल नबुझाउने एक हजार ७९४ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार ३५४ ग्राहकबाट पाँच करोड दुई लाख ६७ हजार बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ । त्यस्तै केन्द्रले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई पक्राउ गरी जरिवानाबापत  १६ लाख ४१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो क्रममा ७९ विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताए ।

त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारबाही गरी २१ लाख १७ हजार राजस्व सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रिकनेक्सन दस्तुरबापत नौ लाख ८५ हजार राजस्व सङ्कलन भएको यादवले जानकारी दिए ।

आव २०७८/७९ मा एक हजार नौ सय ७२ ग्राहक थपिएका छन् । योसँगै लहान क्षेत्रमा ग्राहकको सङख्या ६५ हजार तीन सय २४ पुगेको छ । यसअघि आव २०७७/७८ वितरण केन्द्रले रु एक करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.