एकवर्षमा नेक्सन इभी ७ सय बिक्री, १८ सय बुक

  २०७९ साउन १२ गते १५:५२     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन इभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ गरेको १ वर्ष पुरा भएको छ । एक वर्ष अवधिमा सो इभी अन्य कम्पनीका इभी गाडीहरुको तुलनामा धेरै नेपालीले मन पराउने गाडीको रुपमा स्थापित भएको छ ।

सिप्रदी ट्रेडिङका सेल्स हेड साओजंग सिंजापतिका अनुसार टाटाको इभि गाडी १ वर्षमा नेपालमा ७ सय वटा बिक्री भए । अहिलेपनि कम्पनीसँग नयाँ गाडी खरिदको लागि १ हजार ८ सयले बुक गरेको उनले जानकारी दिए । टाटाको इभी मध्ये धेरैले नेक्सन इभी डार्क लक्जरियस भर्सनलाई मन पराएको सिंजापति बताउँछन् ।

गाडीको डिजाइन, प्रविधि, सञ्चालन खर्च, चार्जिङ क्षमता, ब्याट्रीको आयु र सुलभ मूल्यको कारणले चालकहरुले मन पराएको कम्पनीको दाबी रहेको छ ।

‘गाडीको बिक्री एकदमै राम्रो रह्यो, सोही अनुसार यससँग सम्बन्धित भौतिक पूर्वाधार हामीले नेपालभरी नै बनाएका छौं । चार्जिङ देखि रिपेयरिङ स्टेशन देशभरी नै बनाएका छौं,’ कम्पनीका सिइओ राजनबाबु श्रेष्ठले विकासन्युजलाई बताए । श्रेष्ठले कम्पनीले मागको चापलाई सम्बोधन गर्न नसकेको र त्यो पनि विस्तारै सुधार हुँदै गएको बताए ।

कम्पनीले नेपालमा शुरुमा गाडी लन्च गर्दाखेरीको अवस्थामा कायम भएको बिक्री मूल्य र अहिलेको अवस्थामा झण्डै २ लाख रुपैयाँ बराबरको फरक परेको उनले बताए । ‘जतिजनाले गाडी लिनुभयो उहाँहरु असाध्यै खुसी हुनुभयो, उहाँहरुले खुसी भएर नै रेस्पोन्स गरिरहनुभएको छ,’ श्रेष्ठले भने ।

कम्पनीले अहिलेसम्म १६ ठाउँमा फास्ट चार्जिङ स्टेशन, १ सय ५० ठाउँमा एसी चार्जर स्टेशन र १५ ठाउँमा सम्पूर्ण सर्भिस दिनसक्ने सर्भिस सेन्टर निर्माण गरेको छ । ‘हामीले चार्जिङ स्टेशन र सर्भिस सेन्टरको लागि पुरै नेपाल नै कभर गरिसकेका छौं,’ श्रेष्ठले भने ।

नेपालमा टाटाको टिगोर इभी, नेक्सन इभी डार्क र नेक्सन इभी उपलब्ध रहेका छन् । कम्पनीले उपभोक्ताहरुलाई बिक्री गरेको १ वर्षमा सर्भिसको क्षेत्रमा धेरै गुनासो नआएको सिप्रदी ट्रेडिङका सर्भिस हेड कपिल क्षेत्री बताउँछन् । चार्जिङमा चालकहरुले अपनाउनुपर्ने नियम नअपनाउँदा केही समस्या आएको क्षेत्रीको भनाइ छ ।

‘केही चालकहरुले फास्ट चार्जिङ मात्रै गर्ने र स्लो चार्जिङलाई ध्यान नदिँदा समस्या आउन सक्छ, कम्तिमा चारपटक फास्ट चार्जिङ गरेपछि एकपटक स्लो चार्ज गर्नुपर्छ । यो ब्याट्रीको जीवनको लागि महत्वपूर्ण कुरा हो,’ क्षेत्रीले भने । पछिल्लो समयमा कम्पनीले सफ्टवेयर समेत अपग्रेड गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.