‘रेडी टु गो’काे अवस्थामा बेतन कर्णाली, बिजुली बेचेर दैनिक ३ करोड कमाउने, आईपीओ पनि निकाल्ने

  २०७९ साउन १० गते ११:४८     विकासन्युज

काठमाडौं । बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गर्ने तयारीमा छ । ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्नु अघि गरिने सम्पूर्ण कार्य सकेर निर्माणको चरणमा प्रवेश गर्न लागेको हो ।

बेतन कर्णाली जलविद्युत आयोजनाका परियोजना प्रबन्धक उपेन्द्र न्यौपानेका अनुसार प्रि–कन्स्ट्रक्सका सबै काम भइसकेका छन् । उनका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

कम्पनीका अनुसार पश्चिम सुर्खेत र अछाम जिल्लाको सीमानामा बन्ने अर्धजलाशययुक्त जलविद्युत आयोजना अब ‘रेडी टु गो’ अवस्थामा छ । अब केही महिनापछि निर्माणको चरणमा प्रवेश गर्नेछ ।

‘आयोजनाको डीपीआर पूरा भइसकेको छ, पूर्वाधार विकासका काम भइसकेका छन्, क्याम्प हाउस बनिसकेका छन्, पहुँच मार्ग पनि बनिरहेको छ, पीपीएको प्रक्रिया भइरहेको छ, परामर्शदार्ता छनोट गर्ने काम पनि भइरहेको छ, जग्गा अधिग्रहणको काम पनि भइसकेको छ, एक वर्षभित्रै निर्माण प्रक्रियामा जान्छ,’ उनले भने ।

परियोजनाका अनुसार ८९ मिटर अग्लो आयोजनाका ड्याम (बाँध) सुर्खेतको चौकुने र अछामको ढकारीका वडा नं. ६ अन्तर्गत मालुमेलातर्फ बन्दैछन् । त्यसबाट ८/८ मिटर डायमिटरका तीन वटा सुरुङ बनाइनेछ ।

सुर्खेत जिल्लाको चौकुने गाविसस्थित बेतान भन्ने स्थानमा निर्माण गर्न लागिएको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणकर्ता बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीको कुल लगानी ८८ अर्ब अनुमान गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी २० अर्ब र जारी पूँजी १० अर्ब रुपैयाँ छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चकयर्ताको कुल ४० प्रतिशत सेयर स्वामित्व छ । यस्तै कर्मचारी सञ्चयकोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अति विपन्न परिवारको सेयर स्वामित्व रहनेछ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री (पीपीए)को तयारी गरिरहेको छ । आयोजनाको काम निर्माण भइसकेको पाँच वर्षमा निर्माण सक्ने लक्ष्य छ । आयोजना निर्माण भइसकेपछि बिजुली बेचेर दैनिक ३ करोड रुपैयाँ कमाउने लक्ष्य कम्पनीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.