विद्युत्, सिमेन्ट र स्टील निर्यातले जगाएको आशा

  २०७९ साउन ८ गते ९:४३     विकासन्युज

काठमाडौं । व्यापार घाटा चुलिदै गएको र बैदेशिक मुद्रा संचिति घट्दै गएको अवस्थामा निर्यात क्षेत्रमा नयाँ तरङ्क पैदा भएको छ । पछिल्लो समय नेपालबाट तीन वस्तुको निर्यात शुरु भएको छ । विजुली, सिमेन्ट र स्टील । स्टीलजन्य उत्पादन निर्यातको बारेमा धेरै आशावादी हुने आधार छैन, तर विद्युत् र सिमेन्ट निर्यातले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्छ ।

नेपालले भारततर्फ विजुली निर्यात गर्न थालेको छ । गत वर्ष ३९ मेगावाटबाट सुुरु भएको बिजुली व्यापार यस वर्ष जेठबाट ३६४ मेगावाट बिजुली निर्यात भइरहेको छ । हाल नेपालले विजुली बेचेर मासिक ३ अर्ब ६० करोड रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरिरहेको छ । यस्तो निर्यात हरेक वर्ष बढ्ने सम्भावना छ । गत आर्थिक वर्षमा मात्र झण्डै ७०० मेघावाट विजुली उत्पादन थप भएको छ । यसले एकातिर नेपालभित्रको बढ्दो खपत धान्न मद्दत गरेको छ भने अर्कोतिर निर्यातको नयाँ ढोका खुला गरेको छ । विद्युत उत्पादन र निर्यात नेपालको आन्तरिक प्राकृतिक स्रोतमा आधारित भएकोले यसबाट नेपालले राम्रो लाभ लिन सक्छ ।

भारतको साथै, नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण गरेर बंगलादेशमा पनि बिजुली निर्यात गर्दैछ । हाल नेपाल र भारत जोड्ने ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै सञ्चालनमा छ । सो प्रसारण लाइनको क्षमता ४०० केभीको हो । अन्य प्रसारण लाइन पनि सञ्चालनमा छन् तर, ती प्रसारण लाइनको क्षमता २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी क्षमताका मात्रै छन् । सरकारले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको क्रममा छ । अब प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेछ ।

नेपाल २०७३ सालसम्म दैनिक १८ घण्टा लोडसेडिङबाट गुज्रेको थियो । नेपालीले २०५९ देखि लगातार १५ वर्षभन्दा बढी लोडसेडिङको सामना गर्नु परेको थियो । अहिले देशभित्र लोडसेडिङ हटेको छ भने निर्यात गरेर महिना मै साढे ३ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा आम्दानी गर्न थालेका छौं । हरेक वर्ष विजुलीको उत्पादन बढ्दै छ । भारतको साथै बंगलादेशमा पनि निर्यातको तयारी हुँदैछ । सरकारले प्रसारण लाईन राम्रोसँग बनाई दियो र छिमेकी देशसँग राम्रो सम्बन्ध मात्र कायम गरिदियो भने पनि निजी क्षेत्रले उत्पादन गरेको विजुली बेचेर अर्थतन्त्रलाई राम्रो टेवा दिनसक्छ ।

त्यस्तै, हालै मात्र तानसेन सिमेन्टले पनि भारतमा निर्यात थालेको छ । त्यस्तै श्री स्टीलले पनि नेपालबाट स्टील निर्यात थालेको छ । स्टील निर्यातको सम्भावना कम हुन्छ । निर्यात ठूला मात्रमा भयो भने पनि नेपालले पाम आयल निर्यात गरे जस्तै हुनेछ । किनभने यसको सम्पूर्ण कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । जनशक्ति र विजुली नेपालको खपत हुन्छ । स्टील उद्योगको भ्यालु एडिशन २५ प्रतिशत भन्दा कम छ ।

तर सिमेन्ट निर्यातको सम्भावना बढी छ । ४ दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरु खुलेका छन् । सिमेन्ट उद्योगमा विदेशीहरुले पनि हात हालेका छन् । सिमेन्ट सम्पूर्ण रुपमा नेपाली कच्चा पदार्थमा आधारित उद्योग हो । सिमेन्ट निर्यात गर्दा सरकारले ८ प्रतिशत अनुदान पनि दिने भनेको छ । सरकारले पनि निर्यातलाई प्रोत्साहित गरेको छ । सिमेन्ट क्षेत्रमा लगानी गरेको निजी क्षेत्र पनि उत्साहित भएको छ । यद्यपी सिमेन्टको ढुवानी खर्च बढी हुने भएकोले नेपालबाट भारत बाहेक अरु देशमा निर्यातको सम्भावना छैन । खासगरी विजुली र सिमेन्टको निर्यातले नेपालको अन्तराष्ट्रिय व्यापार घाटा कम गर्न र विदेशी मुद्रा संचितिमा पर्दै आएको दवाव कम गर्न मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.