नेपालमै पहिलो पटक खुल्यो ‘शिक्षक बैंक’

  २०७९ साउन २ गते १८:१५     नारायण अर्याल

काठमाडौं । पैसाको कारोबार गर्ने बैंक जस्तै शिक्षकको पनि बैंक हुन्छ भनेर सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले पढाउने शिक्षकहरूको पनि बैंक सञ्चालनमा ल्याएको छ ।

कुनै शिक्षक वा शिक्षिका विदामा बस्दा होस् वा कुनै कारणले विद्यालयमा उपस्थित हुन नसक्ने समस्यालाई मध्येनजर गर्दै बुढानिलकण्ठ नगरपालिकाले शिक्षक बैंक अवधारण सुरू गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालकाअनुसार पालिकाभित्र रहेको एउटा प्रावि तहमा पढाउने शिक्षिका सुत्केरी विदामा बसेर शिक्षकको अभाव भएपछि विकल्प खोज्नेक्रममा शिक्षक बैंक कार्यक्रमको अवधारणा आएको हो ।

बुढानिलकण्ठ नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । ती सामूदायिक विद्यालयहरूमा शिक्षक अभावको बेला पूर्ति गर्न र केहि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि शिक्षक बैंकमार्फत् शिक्षक परिचालन गर्ने कार्यक्रम पालिकाले बनाएको छ । सो कार्यक्रमको लागि पालिकाले चालु आवको लागि २५ लाख खर्च गर्ने योजना बनाएको शिक्षा शाखाका प्रमुख ललित विक्रम सिंहले विकासन्युजलाई बताए ।

पालिकाले गत शैक्षिक सत्रबाट नै शिक्षक बैंकको अवधारणा कार्यान्वयन गर्न खोजेको थियो । तर, गत शैक्षिक सत्रमा सूचना आह्वान गर्ने मात्रै काम भयो । गत माघ महिनामा पालिकाले शिक्षक बैंकको लागि सूचिकृत हुन योग्यता भएर बसेका व्यक्तिहरुलाई लक्षित गरेर सूचना आह्वान गरेको थियो ।

तर, समयमा आवश्यकतालाई सम्बोधन गर्नेगरी सूचिकृत हुन नआएपछि पालिकाले गत असारमा मात्रै अन्तर्वार्ता लिएर शिक्षक बैंकको लागि विभिन्न विषयका ११ जना व्यक्तिहरुलाई सूचिकृत गर्ने काम गरेको छ । जसमा नृत्य, संगित, योगा, अंग्रेजी, स्वास्थ्य तथा जनसंख्या र नेपाली विषय अध्यापन गराउन सक्ने शिक्षकहरु छन् ।

नगरपालिकाका अधिकृत दाहालका अनुसार पालिकाले अहिले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग बसेर अतिरिक्त क्रियाकलापको दैनिक तालिका समेत बनाइसकेको छ । पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा चक्रिय आधारमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, संगित र योगा कक्षाको तालिका निर्माण कार्य गरिएको छ । जसअनुसार सबै विद्यालयमा शिक्षक बैंकमा रहेका शिक्षकहरुले घुम्ती प्रणालीको आधारमा सबै विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अधिकृत दाहालले बताए ।

प्रमुख सिंहका अनुसार शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् । बुढानिलकण्ठमा विज्ञान र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने शिक्षकहरुको अभाव रहेको अवस्थामा शिक्षक बैकबाट शिक्षक पूर्ति गर्ने प्रकृया सस्तो पर्ने उनी बताउँछन् ।

सिंह भन्छन्, ‘हामीले संगित, कला र योगा जस्ता विषयहरुको लागि शिक्षक नियुक्ती गर्ने अवस्था छैन, यी विषयहरूमा तीन÷तीन महिनाको दरले एउटै शिक्षकले पनि ३ वटा विद्यालयमा अध्यापन गर्न सक्छ ।’

पालिकाले शुरुवात गरेको शिक्षक बैंक कार्यक्रममा अहिले न्यून मात्रामा शिक्षकहरू जोडिएपनि चालु शैक्षिक शत्रमा १ सय जना शिक्षकलाई जोड्ने योजना रहेको प्रमुख सिंहको भनाइ छ ।

‘जुनसुकै विद्यालयमा शिक्षक आवश्यकता पर्ने वित्तिकै ‘फास्ट ट्रयाक’ विधिबाट शिक्षक सप्लाई गर्न सकिने यो कार्यक्रम मुलुककै नमूना कार्यक्रम हो, यो नयाँ अवधारणा र नयाँ प्रयोग पनि हो, यो विधिलाई कार्यान्वयन गर्दा कुनैपनि विद्यालयमा एकदिन पनि शिक्षक खाली हुने अवस्था आउँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.