अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

  २०७९ साउन २ गते १४:०३     विकासन्युज

नवलपुर । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतबार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए । ‘अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ’, घिमिरेले भने ।

आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको घिमिरेले बताउनुभयो । जिल्लामा कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता बढाइएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ । ‘अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो’, घिमिरेले भने, ‘कोरोनाको सङ्क्रमण बढ्ने/घट्ने भएमा सोहीअनुसारको नीति अवलम्बन गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.