भारत निर्यात हुनथाल्यो सिमेन्ट, ‘तानसेन’ ब्रान्डको सिमेन्टले निकासीमा खोल्यो खाता

  २०७९ असार २५ गते ११:०६     विकासन्युज

काठमाडौं । नेपाली सिमेन्ट भारत निकासी हुन थालेको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भएको घोषणा गरेका सिमेन्ट उद्योगीले भारतमा निर्यात गर्न थालेका हुन ।

पहिलो चरणमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले नेपाली सिमेन्ट भारत निर्यात गरेको हो । शुक्रबार एक समारोह गर्दै पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात भएको जनाएको छ ।

पाल्पा सिमेन्ट इन्डष्ट्रिजले दैनिक करिब ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । ५ वर्ष अगाडी स्थापना भएको पाल्पा सिमेन्ट उद्योगले तीन वर्ष यता सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो ।

निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् ।

सरकारको उक्त छुटसँगै पाल्पा सिमेन्ट पछि जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.