‘सन्तुलित मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमाथिको दबाब घटाऔं’

  २०७९ असार २१ गते २०:५८     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सन्तुलित किसिमको आउनु पर्ने धारणा सरोकारवालाले राखेका छन् । मंगलबार नेपाल ब्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको मौद्रिक नीतिको छलफल कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले मौद्रिक नीति सन्तुलित आउनु पर्ने धारणा राखेका हुन् ।

उनीहरूले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित ढंगले ल्याएर अर्थतन्त्रमाथिको दबाब घटाउनु पर्ने धारणा राखेका हुन् ।

कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल व्यवस्थापन संघका कार्यसमिति सदस्य प्रद्युमन पोखरेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने नीति ल्याउनु पर्ने बताए ।

उनले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न ८ खर्बको निर्यात आवश्यक रहेको बताउँदै त्यो किसिमको नीति राष्ट्र बैंकले बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत रहेका पोखरेलले मूल्यवृद्धि र व्याजदरमा स्थायित्वको पनि आवश्यकता रहेको बताएका छन् । उनले मौद्रिक नीतिले कृषि, जलविद्युत, उद्योग र पर्यटनलाई प्राथमिकताका क्षेत्रका रूपमा राखेर नीति बनाउनु पर्ने धारणा राखे ।

यस्तै, कार्यक्रममा नेपाल मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले कृषिमा प्रवाह हुने कर्जामा नियमन कडाइ गर्नु पर्ने धारणा राखे ।

‘पहिले बैंकहरुले कृषिमा लगानी गरेनन्, जोखिम देखे, राष्ट्र बैंकले अनिवार्य गरेपछि लगानी गर्न बाध्य भए तर, अहिले लगानी गरिरहेको भएपनि त्यसको प्रभावकारिता देखिएको छैन, यस विषयमा अध्ययन गर्न आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले अब विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न नेपालीले विदेशमा पनि लगानी गर्न पाउनु पर्ने नीति आवश्यक रहेको धारणा राखे ।

‘नेपालीहरुले विदेशमा लगानी गर्न पाउनु पर्छ, बिदेशबाट नाफामार्फत् डलर ल्याउन सक्छन्, विदेशीले नेपालमा लगानी गरेर विदेशमा नै नाफा लिएर जान्छन्, अब नेपालीले पनि विदेशमा लगानी गरेर विदेशबाट नाफामार्फत् नेपालमा डलर ल्याउन सक्ने नीति आवश्यक छ, यस विषयमा पनि राष्ट्र बैंकले सोच्ने बेला भएको छ,’ उनले भने ।

यस्तै, अध्यक्ष तुलाधरले सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको बताउँदै त्यसका लागि कर्जा वृद्धि आवश्यक भएको र अहिले कर्जा लगानी बढाउने अवस्था नरहेकोले ८ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने धारणा राखे ।

उनले कृषि कर्जामा भने सहुलियत बढाउनु पर्ने बताए । उनले पनि कृषिमा प्रवाह भएको कर्जा सदुपयोग भएको छ वा छैन भन्ने विषयमा अध्ययन गर्ने बेला आएको पनि बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले पनि यतिबेला विदेशी लगानी आउने सम्भावना कम भएकोले आफुसँग भएको स्रोत साधनको सही प्रयोग गरी अगाडि बढ्नु पने बेला आएको बताए ।

उनले अब बण्ड र डिवेन्चरलाई पनि एक महत्वपूर्ण औजारका रूपमा सेकेण्डरी मार्केटमा जानु पर्ने धारणा राखे । उनले अब सबैले जोखिम सेयर गरेर अगाडि बढ्नु पर्ने पनि धारणा राखे ।

‘हिजोको दिनमा माग कम र सप्लाई बढी भएको बेला ब्याजदर कमै थियो तर, आज त्यो अवस्था छैन, हामीले बैंकलाई मात्रै दोष दिनु हुँदैन, जोखिम र नाफा पनि सेयर गर्नु पर्छ,’ उनले भने ।

यस्तै, उनले सरकारी खर्च असारमा गरेर धान नफल्ने तर्क राखे । उनले एकैचोटी असारे विकास गरेर खर्च बढाउने प्रवृति भएकोले यसले बैंकिङ क्षेत्रलाई पनि असर पर्ने बताए ।

व्यवसायी भन्छन् : मौद्रिक नीतिमाथि ठूलो आशा छ

कार्यक्रममा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरूले मौद्रिक नीतिले आफुहरूकाे माग सम्बाेधन गर्ने अपेक्षा राखेकाे बताएका छन् । उनीहरूले अहिले अर्थतन्त्र संकटको अवस्थामा भइरहेको बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सन्तुलित नीतिहरू ल्याएर अर्थतन्त्रमाथिको दबाब कम गर्ने विश्वास रहेको धारणा राखेका छन् ।

होटल संघकी अध्यक्ष सिर्जना राणाले अहिले नेपालको पर्यटन बजार  सुधार नभएको बताउँदै राष्ट्र बैंकबाट सहज र सहुलियत किसिमकाे नीति ल्याएर पर्यटन रिभाइव हुने अपेक्षा राखेको बताइन् ।

‘सरकारले पर्यटन क्षेत्रलाई हेला गरेको छ, पर्यटनलाई अहिलेसम्म उद्योगका रुपमा रिकगनाइज गरेको छैन, अहिले पनि चुनौति व्याप्त छ, राष्ट्र बैंकले पुनः पनि रिफाइनान्स, रिस्ट्रक्चर र रिसेड्युअलको नीति निरन्तरता दिन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन् ।

यस्तै, उनले भारतीय ५ सय र २ हजारका नोट नेपालमा खुला गर्नुपर्ने धारणा राखिन् । भारतीय नोट नेपालमा खुला गरेमा पर्यटनमा केही सहज हुने बताउँदै उनले राष्ट्र बैंकले यस विषयमा सोचिदिन आग्रह गरिन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले देशको अर्थतन्त्र कठिन अवस्थामा पुगेको बताउँदै राष्ट्र बैंकले यसमा पहल गर्नु पर्ने बताए ।

उनले तरलताको अभाव, विदेशी मुद्रा सञ्चितिको दबाबले निजि क्षेत्रको मनोबल हतोत्साहित भइरहेको बताउँदै राष्ट्र बैंकले सीडी रेसियाे र ४/१२ कराेडको नीति खारेज गर्नु पर्ने धारणा राखे । 

यस्तै, उनले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउनुपर्ने भन्दै स्प्रेडरेट घटाउनु पर्नेमा जोड दिए । उनले स्प्रेडरेट ३.५ प्रतिशत कायम गर्नुपर्ने भन्दै आयात निरुत्साहितभन्दा पनि व्यवस्थापन गर्न तिर ध्यान केन्द्रित हुनुपर्ने बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि सन्तुलित किसिमको मौद्रिक नीति ल्याउनु पर्ने आवश्यकता रहेको बताएका छन् । उनले कृषिको नाममा घरजग्गामा कर्जा गएको विषयमा आशंका व्यक्त गरे ।

‘कतै कृषिको नाममा घरजग्गामा कर्जा गएको त छैन,’ कार्यक्रममा ढकालले प्रश्न गरे, ‘कृषिमा लगानी गर्नै पर्ने राष्ट्र बैंकको नीति छ तर, त्यसको प्रभावकारिता छ कि छैन, कृषिमा गरिएको कर्जाको विषयमा अध्ययन गर्न आवश्यक छ ।’

साना तथा मझौला उद्यमी, कृषि, जलविद्युत र पर्यटन क्षेत्रलाई प्राथमिकता राखेर मौद्रिक नीति आउनुपर्ने उनको धारणा छ ।

ब्याजदर बढ्न सक्छ, सहनु पर्छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही क्षेत्रमा ब्याजदर बढ्न सक्ने बताएका छन् । उनले अहिले सन्तुलित ढंगले मौद्रिक नीति ल्याउनु पर्ने आवश्यकता रहेकोले कुनै क्षेत्रलाई मर्का पर्ने भएपनि त्यसलाई सहनुको विकल्प नरहेको उनको भनाइ छ ।

अर्थतन्त्र असहज भएको बेला सबै सहज क्षेत्र सहज नहुने बताउँदै उनले निजी क्षेत्रले पनि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नु पर्ने धारणा राखे । उनले अहिले दिँदै आएका केही सहुलियत तथा सुविधाहरु विस्तारै घटाउँदै लैजाने पनि बताएका छन् ।

‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका थियौं,क्रमशः सुविधाहरु घटाउँदै लिनु पर्ने आजको आवश्यकता हो, त्यसमा हामी सबैले साथ दिनु पर्छ,’ उनले भने ।

यस्तै, उनले अर्थतन्त्रमा अहिले विदेशी मुद्राको सञ्चिति घट्दा समस्या भएको बताउँदै सबैले आन्तरिक उत्पादन बढाउनतर्फ ध्यान दिनु पर्ने बेला भएको र राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति ल्याउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.