२०७९ असार १३ गते १७:४७ राजिव न्यौपाने
काठमाडौं । अहिले स्वदेशमा काम पाइएन भनेर दैनिक ठूलो संख्यामा युवाहरु विदेशिदै छन् । देशमा नयाँ-नयाँ उद्यमका लागि कमजोर आर्थिक अवस्था र सरकारले पनि उद्यमी बन्न सक्ने किसिमको वातावरण सिर्जना नगरेपछि युवाहरु विदेश जान बाध्य छन् । राम्रो कमाइ पनि हुने र विदेशमै पढ्न पनि पाइने भन्ने मानसिकताका साथ उनीहरु विदेश गइरहेका छन् ।
तर, इलामका सुमित श्रेष्ठलाई भने विदेशमा गएर मनग्य आम्दानी गर्ने माेह कहिल्यै चलेन । बरु उनलाई आफ्नै देशमा केही पृथक काम गरेर घरधन्दा चलाउने रहर जाग्यो । सुमितले १२ कक्षासम्मको पढाइ भारतको दार्जिलिङमा पढे । सानैदेखि उद्यमी बन्ने रहर थियो सुमितमा । त्यो रहरलाई यथार्थमा परिणत गर्न उनी कक्षा १२ को पढाइ सकेर दार्जिलिङबाट नेपाल फर्किए ।
उनी परिपक्क भइसकेका थिएनन् । उनलाई थप पढ्ने रहर जाग्यो । उनले स्नातक पढ्न काठमाडौंको गोल्डेनगेट कलेजमा भर्ना भए । काठमाडौंकाे बालुवाटारमा बसेर उनले स्नातकमा पर्यावरण विज्ञान विषय लिएर पढाइ सुरु गरे ।
‘मलाई आफ्नै देशमा नै केही न केही गर्नुपर्छ भन्ने हुटहुटी थियो, दार्जिलिङको पढाइ छोडेर नेपाल फर्किएँ, इलाममा चिया राम्रो भएको हुनाले मलाई चिया उद्यमी बन्ने नै रहर थियो,’ सुमितले आफ्नो प्रारम्भिक दिनहरु स्मरण गर्दै भने ।
इलाममा मनग्य चिया उत्पादन हुने भएकोले पनि उनलाई त्यसबारे सामान्य जानकारी अगाडि नै थियो । उनको स्नातकको पढाइ पनि सकियो । स्नातकसँगै स्नातकोत्तरको पढाइलाई पनि निरन्तरता दिए ।
स्नातकोत्तर पढ्दै गर्दा उनले चिया खेतीका बारेमा अध्ययन अनुसन्धान गर्न पनि पछि परेनन् । पर्यावरण विज्ञान तथा व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेका उनी स्नातकोत्तरमा पनि उत्कृष्ट अंक ल्याएर पास भए ।
‘मेरो घरमा पनि चिया बगान धेरै थियो, आमा बुबा चियाको खेतीमा नै गर्नुहुन्थ्यो, मैले अब चियालाई व्यवसायिक रुपमा सरुवात गर्नु पर्छ भन्ने सोच बनाएँ, र डोको ब्राण्डमार्फत् व्यवसाय सुरु गरेँ,’ उनले भने ।
१ लाखमा जन्मियो ‘डोको’
अहिले इलाममा मात्रै होइन नेपाल र अन्तर्राष्ट्रिय रूपमा पनि डोको ब्राण्डको चियो परिचित छ । चियालाई ब्रान्डिङ गरेर बेच्ने सोच बनाएपछि उनले के ब्राण्ड राख्ने भन्ने विषयमा सोचे ।
चिया टिप्नको लागि इलाममा डोको प्रयोग गरिन्छ । उनले डोको टी (डोको चिया) नै ब्राण्डकाे नाम राख्ने योजना बनाए । नभन्दै उनले सन् २०१६ सालमा ‘डोको चिया’ लाई दर्ता गरे । र, उनको व्यवसायिक डोको चिया यात्रा १ लाख रुपैयाँबाट सुरु भयो । तर फ्याक्टी खाेल्न लाखाैँ रूपैयाँ लाग्ने भएकाले विस्तारै नयाँ उद्याेग सञ्चालन गर्ने सुमितले साेच बनाएका थिए ।
‘नेपालीपन देखाउनको लागि मैले डोको चिया कम्पनीको नाम राखेको हुँ, डोको भनेर नबुझ्ने नेपाली समाज कमै होला, म पनि त्यही डोकोमा चिया टिपेकाे देखेर नै हुर्किएको मान्छे, अब विदेशीलाई डोको नेपाली एउटा ब्रान्ड हो भनेर चिनाउन डोको राख्न मन लागेको हो,’ सुमितले भने ।
सुरुमा सुमित तारागाउँ चिया स्टेट (फ्याक्ट्रीको) नाम राखेर चिया उत्पादनको सुरुवात गरेका थिए । सो फ्याट्रीबाट ग्रिन, ब्ल्याक र अर्थोडक्स चियाको उत्पादन गर्न थाले । चियाको उत्पादनसँगै उनको आम्दानी पनि राम्रो हुँदै गयो । सो फ्याट्री नेपालकाे पहिलाे रेन फाेरेष्ट अलाइन्स सटिफाइड टि फ्याक्ट्रीका रूपमा पनि चिनिन्छ ।
सुमितका अनुसार सो फ्याट्रीबाट वर्षेनी करिब ३ लाख किलोग्राम चिया उत्पादन हुन्छ । यस कारखानामा चिया उब्जाउने र आपूर्ति गर्ने काममा करिब ७ सय किसान संलग्न छन् भने कारखानामा दैनिक ७० देखि ८० जना मजदुर कार्यरत छन् ।
चियाको माग बढेपछि उनले चियाकै अर्को उद्योग समेत सञ्चालनमा ल्याएका छन् । उनले सन् २०२० मा दोस्रो चिया उद्योगको स्थापना गरे । ‘सिद्धेश्व टी स्टेट’ नाम दिएर सुरुवात गरेको सो उद्योग पनि अहिले इलाममा परिचित छ ।
हाल उक्त फ्याट्रीबाट वार्षिक करिब १ लाख किलोग्राम चिया उत्पादन हुन्छ । सुमितका अनुसार फ्याट्रीमा २५ जनाले रोजगारी पाएका छन् । उनका दुई वटै फ्याट्री इलामको सूर्योदय नगरपालिकामा छन् । २ वटै फ्याट्रीबाट ४ लाख किलोग्राम चिया उत्पादन हुँदै आएको सुमितले सुनाए ।
डोको चियाको अहिले विदेशमा पनि उच्च माग छ । डोको ब्रान्डको चिया लोकप्रिय बन्दै गएको छ । लामो समयको संघर्षका कारण नै यो स्थानमा डोको चिया आउन सफल भएको सुमित सुनाउँछन् ।
६० रोपनीको बगान
सुमितको करिब ६० रोपनीमा फैलिएको आफ्नै चिया बगान छ । तर, त्यतिले मात्र फ्याट्री उत्पादनबाट नपुग्ने भएकाले किसानहरूबाट पनि उनी चियाका पत्ताहरू खरिद गर्छन् ।
‘आफ्नो बगानको चियाले मात्रै पुग्दैन, माग धेरै हुन्छ, किसानहरुबाट पनि खरिद गर्छौं, गुणस्तर पत्ती भएको खण्डमा प्रतिकेजी १ सय रुपैयाँसम्म दिएर चियाको खरिद गर्छौं,’ उनले भने ।
सुमितले सयौं मानिसहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । तारागाउँ र सिद्धेश्वरबाट उत्पादन भएको लगभग ४ लाख किलोग्राम चिया भारत निर्यात हुने गरेको छ । सुमितका अनुसार ९५ प्रतिशत चिया निर्यात हुन्छ भने बाँकी ५ प्रतिशत मात्र नेपालमा नै खपत हुन्छ ।
सुमितका अनुसार नेपालबाट चियाकाे मात्रै वार्षिक ४ अर्वकाे काराेबार हुँदै आएको छ । चिया मात्र नभएर इलाममा नै उत्पादन हुने कफी, चीज, दूधको ललिपप लगायत उत्पादन गरी त्यसलाई एउटा ब्रान्डिङ गरी डोको नै नाम दिएर पनि बेच्दै आएको पनि श्रेष्ठले बताए ।
‘चियाको पनि ग्रेड हुन्छ, ग्रेड अनुसारको चियाको रेट पनि हुन्छ, यहाँ उत्पादन हुने चियाको मूल्य फ्याट्रीमा एउटा हुन्छ, प्याकेजिङ भएर बजारमा निस्किए मूल्य बढी पर्न जान्छ, भारत निर्यात गर्दा हामीले ३ सयदेखि एक हजार रूपैयाँसम्म बेचिरहेको छौं, त्यही हिसाबले हामीले नेपालमा पनि दिन सक्छौं,’ उनले भने ।
सो ब्रान्डको चिया बेच्न डिलर पनि खोजी रहेको सुमितले जनाए । नेपाल भरिनै उक्त ब्रान्डको चिया बेच्ने इच्छा हुनेहरूले सम्पर्क गर्न सक्ने छन् । अहिले नेपाली बजारमा पनि विभिन्न प्रकारका चियाहरू उपलब्ध छन् । त्यसमध्ये डोको ब्रान्डका चिया स्वास्थ्यको हिसाबले पनि उपयुक्त हुने उनको भनाइ छ ।
सुमितका अनुसार भारतबाट सबैभन्दा बढी ब्ल्याक टीको माग हुन्छ । नेपालको चियालाई निर्यात गर्न सके अर्थतन्त्रमा राम्रो टेवा पुग्न सक्ने उनी बताउँछन् ।
‘सुरुमा नै किसानहरूले बगानबाट टिपेर ल्याएको चिया फ्याट्रीमा नै न्यूनतम ४० रुपैयाँका दरले किन्नु पर्ने हुन्छ, ५ केजी चियालाई प्रशोधन गर्याे भए बल्ल १ केजी बन्छ, यसलाई प्रशोधन गर्दा डाँठ निस्किन्छ, थाेरै भएपछि चियाकाे उत्पादन समेत कम हुन्छ, त्यसैले विदेशमा यसको माग उच्च छ, जुन चिजको माग बढी हुन्छ त्यसको मूल्य पनि उच्च हुन्छ,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.