२०७९ असार १३ गते १०:२३ नारायण अर्याल
काठमाडौं । विश्व व्यवस्थामा यतिबेला उदारवादी पुँजीवादी अर्थराजनीतिले बाहुल्यता पाएको छ । समाजवादी आन्दोलन विश्वव्यापी रुपमा नै भएतापनि त्यसले आफुलाई प्रभावकारी रुपमा उभ्याउन सफल भएको छैन । कम्युनिष्टहरुले आन्दोलनको समयमा निर्माण गरेका कम्युनहरु पनि लगभग अस्तित्वमा छैनन् । सहकारी प्रणालीले पनि मुलुकको अर्थतन्त्रमा प्रभावकारी उपस्थिति जनाउन सकेको छैन भने विश्व अर्थव्यवस्थामा पनि तुलनात्मक रुपमा सहकारीको बलियो उपस्थिति देखिएको छैन ।
तर, २८ वर्ष अगाडि प्राध्यापक डा. सन्दुक रोइत र डा रिता गुरुङले निर्माण गरेको गैरनाफामुलक तिलगंगा आँखा अस्पताल अहिले मुलुककै नमूना अस्पतालको रुपमा परिचित बनेको छ । सरकारी अस्पतालहरुमा राज्यको ठूलो लगानीको बाबजुद व्यवस्थापनमा प्रश्न उठिरहेको छ । त्यस्तै निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालहरुमा महँगीको कारण आम सर्वसाधारणको सहज पहुँच हुन सकिरहेको छैन । तर, राज्यको अनुदान र निजी क्षेत्रको लगानीको बाबजुद पनि तिलगंगा आँखा अस्पतालले आफुलाई नमूना अस्पतालको रुपमा उभ्याउन सफल भएको छ ।
नाफाले मानिसलाई थप काम वा सिर्जनशिल व्यवस्थापनको निमित्त उत्प्रेरित गर्दछ भन्ने पुँजीवादी अर्थशास्त्रीय मान्यता छ र सोही मान्यता वा अर्थशास्त्रीय दर्शन बमोजिम आज निजी क्षेत्रको लगानीले हाम्रो मुलुकमा पनि फड्को मारेको छ । तर, अपवादको रुपमा तिलगंगा आँखा अस्पतालले आफुलाई आलोचनामुक्त नाफारहित प्रतिष्ठित संस्थाको रुपमा निरन्तर अगाडि बढाएको छ । तिलगंगाले प्रतिष्ठा कमाउने मात्रै होइन्, आँखाका रोगीहरुको भरोसाको केन्द्र समेत बनेको देखिन्छ ।
यस्ताे छ व्यवस्थापन
तिलगंगा आँखा अस्पताल सुरिद घिमिरेको नेतृत्वमा रहेको ६ सदस्यीय बोर्डले गरेको छ । जसको सदस्य सचिवमा प्रा.डा सन्दुक रोइत, कोशाध्यक्षमा सम्भु तामाङ र निर्देशकहरुमा हरिवंश आचार्य, रवी केसी, गोविन्द पोखरेल, सन्जय थापा र सिद्धिलाल श्रेष्ठ रहेका छन् ।
बोर्डमा रहेकाहरु फरक–फरक पेशागत पृष्ठभूमिका व्यक्तिहरु हुन् । यद्यपी उनीहरुमा अस्पताल सञ्चालनको लागि समान धारणा रहेको छ । अस्पतालको नियमित सञ्चालनको लागि कार्यकारी संरचना अलग्गै छ । कार्यकारी टिममा रहेका व्यक्तिहरुले अस्पतालको नियमित कामको सञ्चालन गर्ने गर्छन् ।
तिलगंगाले इमर्जेन्सी, साधारण, एक्सटेन्डेड र प्रिमियम गरी चारवटा तरिकाबाट आँखाका बिमारीहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा उपचारको अलावा अरु धेरै विभाग तथा कार्यक्रमरु समेत छन् । जसमा आँखा बैंक, इन्ट्रयाकुलर ल्याब, रिसर्च डिपार्टमेन्ट, एकेडेमिक एण्ड ट्रेनिङ डिपार्टमेन्ट, एक्सपोजर ट्रेनिङ, आँखा शिविर र काठमाडौं आँखा अध्ययन लगायतका कार्यक्रमहरु छन् । अस्पतालले विभिन्न कार्यक्रमहरुलाई फरक–फरक ढंगले सञ्चालन गर्ने गरेको छ ।
सेवाग्राही अनुरूपको उपचार व्यवस्थापन
तिलगंगाले बिमारीहरूलाई अन्य अस्पतालले जस्तै इमर्जेन्सी र साधारण तरिकाबाट उपचार सेवा उपलब्ध गराउँदै आएकाे छ । तर, बिमारीहरुलाई उपचार सेवा उपलब्ध गराउने विषयमा भने विशिष्ट तरिकाको अबलम्बन गरिएको छ । अस्पतालमा चिकित्सकहरुले २ सिफ्टमा काम गर्ने गर्दछन् । पहिलो सिफ्टमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म र दोस्रो सिफ्टमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काम चिकित्सकहरुले सेवा उपलब्ध गराउने गर्दछन् ।
दिउसो काममा व्यस्त हुनेहरुलाई अस्पतालले बिहान ८ बजे नै सेवा उपलब्ध गराउने काम गर्छ । जसलाई एक्सटेन्डेड सेवा भनिन्छ । सो सेवा लिने सेवाग्राहीले दर्ता र उपचारमा अन्यको तुलनामा केही बढी शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै आफुसँग कम समय भएका बिमारीहरुलाई लक्षित गरेर अस्पतालले प्रिमियम सेवा सञ्चालन गरेको छ । प्रिमियम सेवा लिने सेवाग्राहीलाई एउटै कक्षमा चेकजाँच तथा उपचार सेवा उपलब्ध गराउने गरिन्छ । त्यस्तै आँखाको उपचार गर्न आउने बिमारीहरुले अप्रेसन पश्चात आराम गर्नको लागि साधारण र क्याविन बेडको व्यवस्था गरिएको छ । साधारण प्रयोग गर्नेहरुलाई पैसा लाग्दैन भने क्याबिन प्रयोग गर्नेहरुले भने पैसा तिर्नु पर्ने हुन्छ ।
तिलगंगामा जलविन्दु, आँखाको क्यान्सर, आँखाको नशा, बाल आँखा, रिफ्लायक्टिभ सर्जरी, आँखाको नानी, आँखाको रेटिना र आँखाको प्लाष्टिक सम्बन्धी लगायत उपचार हुने गर्छ ।
अस्पतालका कार्यक्रम
तिलगंगाले बिमारीहरुको उपचार गर्नुको अलावा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछ । जुन कार्यक्रमहरु आँखा रोग र उपचारसँग नै सम्बन्धित छन् । केही कार्यक्रम विदेशी दातृ निकायसँग सहकार्य गरेर र केही कार्यक्रम अस्पतालको आफ्नै व्यवस्थापन गर्ने गर्दछ ।
नेपाल आँखा बैंक यो अस्पतालले सञ्चालन गर्दै आएको नेपालकै एउटा त्यस्तो कार्यक्रम हो जो अन्य अस्पतालहरुले सञ्चालन गर्दैनन् ।
आँखा बैंकको लागि अस्पतालले वीर अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताल, गंगालाल अस्पताल, पशुपति आर्यघाट र विद्युतीय सवदाहमा आँखा बैंकका केन्द्रहरु सञ्चालन गरेको छ । त्यस्तै अस्पतालले सञ्चालन गर्ने गरेको अर्को महत्वपूर्ण कार्यक्रम इन्ट्रयाकुलर ल्याब हो । जसले इन्ट्र्याकुलर ल्याबबाट इन्ट्रयाकुलर लेन्सको उत्पादन गर्ने गरिन्छ । अस्पतालले उत्पादन गर्ने इन्ट्रयाकुलर लेन्सको बिक्री ७० वटा भन्दा धेरै मुलुकमा हुने गरेको छ ।
अस्पतालले अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा आँखा शिविर, अस्पतालहरुको सञ्चालन, सामुदायिक आँखा केन्द्र, एकेडेमिक एण्ड ट्रेनिङ विभाग, रिसर्च विभाग, एक्सपोजर ट्रेनिङ र हिमालयन क्याटर्याक्ट प्रोजेक्ट सञ्चालन गर्ने गरेको छ । साथै यतिबेला अस्पतालले काठमाडौं आँखा अध्ययन भन्ने सर्वेक्षण पनि गरिरहेको छ । सो अध्ययनमार्फत काठमाडौंबासीको आँखाको अवस्था थाहा हुने बताइएको छ ।
आम्दानी तथा खर्च व्यवस्थापन
गौशालामा रहेको तिलगंगा केन्द्रीय आँखा अस्पतालमा ३६ जना डाक्टर सहित २ सय भन्दा धेरै कर्मचारीले काम गर्छन् । त्यस्तै अस्पतालको लगानी तथा व्यवस्थापनमा सञ्चालनमा रहेका अन्य ठाउँका अस्पताल, सामुदायिक आँखा केन्द्र र आँखा बैंक युनिटमा २ सय भन्दा धेरै कर्मचारीहरुले काम गर्छन् ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीका अनुसार अस्पताल आफ्नै आम्दानीबाट पूर्ण रुपमा आत्मनिर्भर भएर सञ्चालन भइरहेको छ । उनका अनुसार अस्पतालले उपचार लगायत धेरै शिर्षकबाट आम्दानी गर्ने गर्छ ।
अस्पतालमा दैनिक एक हजार भन्दा धेरै आँखाका बिमारीहरु उपचार गर्न आउने गर्दछन् । अस्पतालले दैनिक ८० भन्दा धेरै बिमारीलाई सर्जरीको सुविधा प्रदान गर्ने गर्छ । यो अस्पतालको नियमित आम्दानीको स्रोत हो । त्यस्तै अस्पतालले लेन्सको उत्पादन गरेर ७० वटा भन्दा धेरै देशमा बिक्री गर्ने गर्दछ । अस्पतालले बिक्री गर्ने लेन्स अन्य मुलुकमा उत्पादन भएर आउने भन्दा धेरै सस्तो छ ।
तिलगंगाले विदेशी अनुसन्धान तथा तालिमको लागि विदेशी संस्थाहरुसँग साभेदारी गरेर कतिपय काम गरेको छ । जसको माध्यमबाट पनि सो अस्पतालमा स्कलरसिप लगायत विभिन्न माध्यमबाट अनुसन्धान तथा अध्ययन गर्न आउने गर्दछन्, यसरी सो शिर्षकबाट पनि अस्पतालले नियमित रुपमा राम्रो आम्दानी गर्ने गर्दछ ।
अस्पतालले बिमारीहरुलाई अन्य अस्पतालहरुको तुलनामा सस्तो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘हामीले गरिबहरुलाई निःशुल्क र अन्यलाई सस्तोमा उपचार गरिरहेका छौं तर, हामीले घाटामा रहेर बिमारीको उपचार गरिरहेका छैनौं बरु अस्पताल निरन्तर ग्रोथको दिशामा नै छ, यहाँ गुणस्तरीय प्रविधिको पनि व्यवस्था रहेको छ,’ अस्पतालका प्रमुख सञ्चालन अधिकृत अधीकारीले भने ।
अस्पतालमा काम गर्ने डाक्टर तथा कर्मचारीहरुले पनि देशमा नै सबैभन्दा राम्रो सेवा सुविधा लिएको उनको भनाइ छ । अस्पतालले सञ्चालन गर्ने शिविर र तालिमहरु विदेशी संस्थाहरुसँग साझेदारी गरेर गर्ने हुँदा ती कार्यक्रमहरुमा अस्पतालले खासै खर्च गर्नु पर्दैन् ।
अस्पताललाई विदेशी संस्था र नेपाल सरकारले सहयोग गरेतापनि नियमित सञ्चालनको लागि सहयोग गरेका छैनन् । अस्पताललमा कसैको सेयर नभएको र नाफाबापत कसैले पैसा दिनुनपर्ने हुँदा बचेको पैसाले अस्पतालको विभिन्न पक्षमा थप विकास र कर्मचारीहरुको सेवा सुविधामा खर्च गर्न सकिने अवस्था रहेको सञ्चालन प्रमुख अधिकारी बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
A pride of bepal