ग्लोबल आइएमई बैंकले ६ स्थानमा गर्यो निःशुल्क महिला स्वास्थ्य शिविर

  २०७९ असार १२ गते १९:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ स्थानमा उक्त शिविरको आयोजना गरेको हो ।

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका-७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका-१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका-५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका-७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका-५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरुले ७५७ जना महिलाहरुलाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका/नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरु आयोजना गरेको होे । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन्, जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यसअघि बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको छ जसबाट देशका ग्रामीण तथा अर्धशहरी क्षेत्रका १ हजार ६६० महिलाहरु लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.