कृषि तथा पशुपन्छी बीमामा धमाधम अनुदान दिँदै पालिकाहरु, पिपराले थप २० प्रतिशत दिने

  २०७९ असार १२ गते १३:२२     विकासन्युज

काठमाडौं । पछिल्लो समय विभिन्न गाउँपालिकाहरुले बीमा कार्यक्रममा बढी जोड दिन थालेका छन् । पालिकाहरुले कृषकहरुलाई जोड दिँदै कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन थालेका हुन् ।

सो क्रममा मधेश प्रदेशको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले आफ्ना कृषकलाई थप २० प्रतिशित अनुदान दिने भएको छ । पिपरा गाउँपालिकाले हाल सरकारले दिएको अनुदानमा थप २० प्रतिशत अनुदान दिने निर्णय गरेको अध्यक्ष रामजानकी यादवले बताए ।

पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले कृषि तथा पशुपन्छी बीमामा आगामी साउन १ गतेदेखि नै लागू हुने गरी गाउँपालिकाले थप अनुदान उपलब्ध गराउने जानकारी दिए ।

‘हाल सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा बाँकी रहने २० प्रतिशतमा कति अनुदान दिने भन्ने सम्बन्धमा बोर्डबाट निर्णय गरेर साउन १ गतेदेखि नै उपलब्ध गराउने बताए । ’ अध्यक्ष यादवले बताए । उनले कृषि तथा पशुपन्छी बीमा गरेपछि क्षति भएमा बीमा दाबी पाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कृषकले गाउँमा नै बीमा गर्न पाउने गरी बीमा कम्पनीहरूलाई खटाउन बीमा समितिसँग आग्रह गरे ।

मुखियापट्टी गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने

कार्यक्रमको सभापतित्व गर्दै बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र समाजमा पछि परेका समुदायलाई समेत बीमाको दायरामा ल्याउन स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी दिए ।

निर्देशक लालले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा विस्तार गर्न बीमा समितिले जिल्ला समेत तोकेर विभिन्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको जानकारी गराए । त्यस्तै, तोकिएको समयमा बीमा दावी भुक्तानी नपाएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा समितिमा जानकारी दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.