मुखियापट्टी गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने

  २०७९ असार १० गते १३:०९     विकासन्युज

काठमाडौं । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको बीमामा गाउँपालिकाले थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो ।

बिहीबार बीमा समितिले आयोजना गरेको बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका अध्यक्ष यादवले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने कार्यक्रम समावेश गरिएको र यसलाई आगामी बजेटमा राखेर कार्यान्वयनमा लैजाने बताए ।

उनले किसानहरूले अझै पनि कृषि तथा पशुपन्छी बीमा गर्न नपाएको र बीमा गरेका किसानले पनि दाबी पाउन नसकेको उल्लेख गर्दै गाउँपालिकामा बीमा कम्पनीका शाखा कार्यालयहरु विस्तार गर्न तथा बीमा दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो तुल्याउनका लागि आवश्यक व्यवस्था गर्न बीमा समितिसँग आग्रह गरे ।

कार्यक्रमको सभापतित्व गर्दै बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, महत्व, बीमा गर्ने तथा दाबी भुक्तानी पाउने तरिका, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा जानकारी दिएका थिए ।

निर्देशक लालले किसानहरुले गाउँपालिकामा नै सहज किसिमले कृषि तथा पशुपन्छी बीमा गर्न पाउने र बीमा दाबी भुक्तानी पनि विनाढिलाई समयमै पाउने व्यवस्था गर्न बीमा समिति प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै दावी भुक्तानी समयमै नपाए वा बीमा सम्बन्धी कुनै समस्या परे समितिलाई जानकारी गराउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.