उडान चाप बढेपछि विमानहरुको रात्रिकालिन बसाई सार्नुपरेको हो : प्राधिकरण

  २०७९ असार ७ गते १७:२१     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उडान चाप बढेपछि विमानहरुको बसाई सार्नुपरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हवाई जहाजहरुको हकमा असार १३ गतेदेखि र हेलिकप्टरको हकमा आजैदेखि सो निर्णय लागू गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्राधिकरणले सोमबार नै सबै हवाई सेवा सञ्चालकहरुलाई पत्र पठाएर जानकारी दिएको पनि जनाएको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर राखिएको ठाउँ हेलिकप्टर राख्नका लागि डिजाइन नगरिएको तर सो ठाउँमा हेलिकप्टर राख्नुपर्ने अवस्था रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले बताए । अहिले विभिन्न वायुसेवा सञ्चालकहरुसँग ३८ वटा हेलिकप्टर रहेको, जसमा २१ वटा बाहेक बाँकी त्रिभुवन विमानस्थल भन्दा बाहिर राख्नुपर्ने उनले बताए ।

त्यस्तै हवाइजहाजको सन्दर्भमा विभिन्न सञ्चालकहरुसँग अहिले ५२ वटा हवाइजहाज भएको र त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटाको मात्र रहेकोमा अन्य बाहिर राख्नुपर्ने प्राधिकरणको भनाई छ ।

अहिले न्यूनतम दैनिक उडान ३०/३५ वटा हुनेगरेको, जसमा उडान चापले गर्दा फ्लाइट डिले, रद्द, होल्डिङ जस्ता समस्या रहने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले कम्पनीहरुसँग भएका एक तिहाई बाहेक जहाजहरु मोफसलका एयरपोर्टमा राख्नुपर्ने बताए । मोफसलमा रात्रीकालिन बसाईको लागि १० वटा एयरपोर्ट योग्य भएको र सुधारको आवश्यकता भएमा तत्काल सुधार गर्न प्राधिकरण तयार रहेको जनाइएको छ ।

हवाई उडान अत्यावश्यक क्षेत्र भएको हुँदा सञ्चालकहरुले प्राधिकरणको कार्यक्रमलाई लिएर उडान बन्द नगर्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताए । मोफसलमा विमानहरुको रात्रीकालिन बसाई हुँदा सबै ठाउँका यात्रुहरुले बिहानै समयमा नै उड्न पाउने, हवाई सुरक्षा बढ्ने, उडान क्षमता बढ्ने लगायतका विषयहरुमा सकारात्मक परिवर्तन आउने अधिकारीको भनाई छ । आफूहरुले लिएको निर्णय सहि भएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने र उडान बन्द गर्ने अवस्थामा सञ्चालकहरु नजाने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.