ठगीको रोचक कथा : नक्कली श्रीमान् र मृत्युदर्ता गरेर करोडौंको जग्गा स्वाहा

  २०७९ असार ५ गते १९:१३     नारायण अर्याल

काठमाडौं । शान्तादेवी लोहनी र तारानिधि लोहनी वैदेशिक रोजगारको सन्दर्भमा विगत २४ वर्षदेखि जापानमा बस्दै आएका छन् । आफ्नो पारिवारिक भेटघाट र कामको शिलशिलामा मात्रै उनीहरु नेपाल आउने गर्छन् । आवतजावतको शिलशिलामा उनीहरू २०७९ सालमा नेपाल फर्किए ।

सधैँ आउँदा भेटघाट र आफन्तसँग दुःखसुख साटासाट गरेर जापान जाने लोहनीको परिवार यस पटक भने ठूलो समस्या सिर्जना भयो । उनीहरूले यसपटकको नेपाल बसाईमा आश्चर्यजनक र अकल्पनीय खबर थाहा पाए ।

उनीहरूले जापानकै कमाईबाट वि.स २०६१ सालमा काठमाडौं किर्तिपुरको वडा नं. २ मा ३६१ वर्गमिटर क्षेत्रफल भएको एउटा घडेरी खरिद गरेका थिए । सो जग्गा शान्ताको नाममा थियो । लोहनी दम्पत्तीले आफुहरूले दुःख गरेर जोडेको घडेरी कसैले नक्कली कागजात खडा गरी खरिद बिक्री भइसकेको भन्ने गाईंगुईं उनीहरू सुने ।

लोहनी दम्पत्तीलाई सो गाईंगुईंप्रति विश्वास लागेन । र, सो विषयमा आधिकारिक रुपमा बुझ्नको लागि गत जेठ १३ गते कलंकीमा रहेको मालपोत कार्यालयमा गए । उनीहरुले आफुले बोकेको सक्कली लालपुर्जा देखाई बायोमेट्रिक प्रणालीको बारेमा जानकारी लिन खोज्दा त लोहनी दम्पत्ती नै आश्चर्यमा पर्ने जानकारी पाए ।

कलंकीको मालपोत कार्यालयमा ज्युँदै शशरिर उपस्थित भएकी शान्ता लोहनीको मृत्यु भएर उनको नामबाट आफ्नै श्रीमान तारानिधि लोहनीको नाममा जग्गाको नामसारी भएर बिक्री पनि भइसकेको थियो । यतिबेला लोहनी दम्पत्तीको घडेरी भक्तपुर ११ मा बस्ने सुनिता कर्माचार्य भन्ने व्यक्तिको नाममा थियो ।

श्रीमति शान्ताको मृत्यु हुनु । जग्गा श्रीमान तारानिधि लोहनीको नाममा नामसारी गरेर बिक्री हुनु यो सबै अचम्मको खबर बनिरहेको थियो लोहनी दम्पत्तीको लागि । एउटा ज्युँदै मान्छेलाई मालपोत कार्यालयको कागजमा मरेको बनाएर उनको नाममा भएको घडेरी नामसारी गरिएको थियो भने श्रीमान पनि नक्कली नै खडा गरिएको थियो ।

लोहनी दम्पत्तीको घडेरीलाई यतिबेला चलनचल्तीको मूल्यमा झण्डै ७ करोड रूपैयाँभन्दा बढी पर्छ । तर, आरोपित ठगहरूले ०७७ फागुन महिनामा सो घडेरीलाई ३ करोड ७० लाखमा भक्तपुरकी सुनिता कर्माचार्यलाई बेचेको अनसन्धानबाट खुलेको छ ।

आफ्नो नै नक्कली मृत्यु गराएर आफ्नै नक्कली श्रीमान खडा गरी स्वामित्व परिवर्तन गरेर जग्गा बिक्री भैसकेको थाहा पाएपछि लोहनी दम्पत्तीले प्रहरीलाई उजुरी गर्ने निर्णयमा पुगे । उनीहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)मा असार १ गते उजुरी दिए । लोहनी दम्पत्तीको उजुरी पश्चात सोही दिन नै सिआईबीले लोहनी दम्पत्तीको घडेरी हत्याउने योजनामा प्रत्यक्ष रुपमा संलग्न ५ जनालाई गिरफ्तार गर्यो ।

सिआईबीका अनुसार लोहनी दम्पत्तीको घडेरी हत्याउनका लागि ललितपुर सुनाकोटी बस्ने गणेश बहादुर खनाल र काठमाडौं बुढानिलकण्ठ बस्ने बाबुराम कार्कीले योजना बनाएका रहेछन् । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं. ७ का महाविर चन्द काठमाडौंको टोखामा बस्दै आएका थिए । उनैलाई नक्कली तारानिधि लोहनीका रुपमा उभ्याइएको थियो । त्यसको लागि चन्दको फोटो राखेको र सक्कली तारानिधिको वास्तविक नाम, ठेगाना र उमेर राखेर नक्कली नागरिकता बनाइएको थियो । सक्कली तारानिधि लमजुङ जिल्लाका भएकाले नक्कली तारानिधिको पनि लमजुङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता बनाइएको थियो ।

मृत्युदर्ता प्रमाणपत्र र नागरिकता नक्कली बनाइसकेपछि ठगहरुले नक्कली तारानिधिको नाममा कलंकी मालपोत कार्यालयबाट २०७७ पुस १५ गते नामसारी गरेका थिए । त्यसको लागि नक्कली तारानिधिले तारानिधिकै नाममा बैंक खाता समेत खोलेका थिए । सक्कली तारानिधि लामो समयदेखि जापानमा नै रहेको हुँदा उनले प्रयोग गरेको मोबाइल सिम बन्द भैसकेको थियो । त्यसैले नक्कली तारानिधिले उनको नाममा सिम समेत निकालेर प्रयोग गरेको सिआईबीले जनाएको छ ।

जग्गा हात पारिसकेपछि बिक्रीको लागि नुवाकोट दाङसिङका प्रेमप्रसाद खनाल र काठमाडौं बनस्थलीकी डासीमाया श्रेष्ठले ग्राहक खोज्नका लागि सहयोग गरे । सोही क्रममा जग्गा किन्नको लागि भक्तपुरकी सुनिता कर्माचार्य आइपुगेकी थिइन् । तर, जग्गा बिक्रीको क्रममा हकवाला निस्कने प्रसंग उठेपछि सक्कली लोहनी दम्पत्तीको बिबाहित नक्कली छोरीको बिबाहदर्ता प्रमाणपत्र पनि बनाएर देखाउने काम भएको प्रमाण सिआइबीले प्राप्त गरेको छ ।

यसरी सबै नक्कली र झुठा प्रकृया पुरा गरी अन्तिममा सक्कली रुपमा सुनिता कर्माचार्यले लोहनी दम्पत्तीको जग्गा खरिद गरिन् । कर्माचार्यले जग्गा खरिद गरेको १ वर्षमा नै नक्कली बिक्रीकर्ताहरु प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

शान्तादेवीको मृत्युदर्ता प्रमाणपत्र, तारानिधिको नागरिकता प्रमाणपत्र, लोहनी दम्पत्तीको छोरीको नाममा बनाइएको नक्कली बिबाहदर्ता, शान्तादेबीको नामको नक्कली लालपुर्जा कसरी बनाइयो ? यो प्रश्नको उत्तर सिआइबीले पनि भेटाइसकेको छैन् । श्रीमति शान्तादेबी लोहनीको नाममा बनाइएको लालपुर्जा कलंकीको मालपोत कार्यालयका कर्मचारीले किन चिन्न सकेनन् ? यो प्रश्नको उत्तरमा पनि सिआईबी पुगिसकेको छैन ।

नक्कली कागजात निर्माण गर्नेदेखि कानूनी प्रकृयामा सहभागी हुने धेरैतर्फ लोहनी दम्पत्तीको स्वामित्वमा रहेको जग्गा ठगी प्रकरणले आशंका पैदा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.