अर्बौ रुपैयाँ फसेपछि बैंकले राख्यो फूलबारी रिसोर्ट लिलामीमा, अर्बौंको सम्पत्तिमा ठूला व्यवसायी भिड्दै

  २०७९ असार ३ गते ८:४१     विकासन्युज

काठमाडौं । पर्यटन व्यवसायीहरुले गर्वका साथ नाम लिने पर्यटन पूर्वाधार हो पोखराको फूलबारी रिसोर्ट । तर ३० वर्षको यात्रामा यो प्रोजेक्ट फेल भएको छ ।

२०४६ सालको उदारिकरणपछि नेपालको पर्यटन क्षेत्रमा बनेको पहिलो र ठूलो पर्यटन पूर्वाधार हो फूलवारी रिसोर्ट । १३८ रोपनी क्षेत्रफलमा बनेको यो परियोजना अन्तत असफल भएको छ ।

दी फूलबारी लिमिटेडले कर्जा तिर्न नसकेपछि नेपाल बैंकले होटलको सबै पूर्वाधार लिलामीमा निकालेको छ । यस रिसोर्टले २०५५ सालमा बैंकबाट १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएको थियो । २० वर्ष अघिदेखि होटलले व्याज तथा किस्ता बैंकलाई बुझाएको छैन ।

‘२०७६ कात्तिकमा हामीले कर्जा पुर्नसंरचना गरेर ३ अर्ब ४५ करोड रुपैयाँ बनाएका थियौं । त्यसपछि पनि फूलबारीले रकम बुझाएन’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने–‘पुर्नसंरचना भएपछि पनि ऋणिले पैसा बैंकलाई तिरेको छैन । हामी २०५९ सालदेखिकै हिसावमा फर्कन सक्छौं । त्यसअवस्थामा बैंकले ऋणिसँग लिनु पर्ने साँवा, व्याज, हर्जना हिसाव गर्दा २० अर्ब हुन सक्छ ।’

फूलबारी रिसोर्टमा नेपाल बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी संचय कोषले फूलबारी रिर्सोटमा २०५५ सालमा १३१ करोड रुपैयाँ कर्जा लगानी गरेको थिए । होटल पूर्ण रुपमा बनेर सञ्चालन भए लगत्तै नेपालमा माओवादी सशस्त्र द्वन्द्वले उग्र रुप लिएको थियो ।

द्वन्द्वको बेलामा विदेशी पर्यटकको आगमन नाजुक भएपछि यो होटल आर्थिक संकटमा परेको थियो । राजनीतिक अस्थिरता, भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगायतको कारण नेपालको पर्यटन व्यवसायमा पटक पटक प्रतिकूल असर पर्दा फूलबारी रिसोर्ट कहिल्यै नाफामा आउन सकेको थिएन । बैंकले पटक पटक कर्जा पुर्नसंरचना गर्दै ऋणिलाई सहजीकरण गरेपनि फूलबारी रिसोर्टले आफ्नो वित्तीय व्यवस्थापन गर्न नसकेको र पटक पटक गरिएको समझदारी पनि पालना नभएपछि होटलको चल अचल सम्पत्ति सबै बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

अमात्य ग्रुपले लगानी गरेको यस होटलको मूल्य लगानीकर्ता पिउस बहादुर अमात्य हुन् । यो ग्रुपले विगत दुई दशकदेखि आर्थिक संकट झेल्दै आएको छ ।

१३८ रोपनी जग्गा, त्यसमा बनेको सूविधा सम्पन्न होटल, मेसिनहरु, त्यसभित्रका सबै चल सम्पत्तिको मूल्य अर्बौमा भएकोले यसमा ठूला व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । बैंकले आगामी साउन ५ गतेसम्म कति मूल्यमा किन्न तयार हुने हो सो खुलाई आवेदन माग गरेको छ ।

(असार ४ गते कर्जा रकम अपडेट गरिएकाे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.