आर्थिक कारोबार नै नभएको क्याम्ब्रिज विश्वविद्यालयको नाममा वर्षेनी करोडौं सटही गर्दै ब्रिटिस कलेज

  २०७९ असार १ गते १५:१५     नारायण अर्याल

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटीसँग प्रत्यक्ष सम्बन्ध नै नभएर ब्रिटिस काउन्सिलको मध्यस्थता गरेर ए लेभल सञ्चालन गरेको ब्रिटिस कलेजले वर्षेनी विश्विद्यालयको नाममा करोडौं नेपाली रकम पाउन्डस्टर्लिङमा साटेर लैजाने गरेको छ ।

बिकासन्यूजलाई प्राप्त सूचनाअनुसार ब्रिटिस कलेजले आर्थिक वर्ष ०७८/७९ को असोजदेखि पुसको ८ गतेसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग क्याम्ब्रिज विश्वविद्यालयलाई शुल्क बुझाउनको लागि ९ लाख ९६ हजार ८ सय ३१ पाउन्डस्टर्लिङ डलर सटहीको स्वीकृति लिएको देखिन्छ । यो रकम सटहीको स्वीकृति उक्त कलेजले ३ पटक गरेर लिएको शिक्षा मन्त्रालयले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ । आजको विदेशी विनिमय दररेट अनुसार ब्रिटिस कलेजले सटही गरेको उक्त मुद्रा १५ करोड ४ लाख ७१ हजार ६ सय ३९ रुपैयाँ बराबर हुन जान्छ । केही वर्षदेखि नै सो कलेजले क्याम्ब्रिज विश्वविद्यालयलाई भुक्तानी गर्ने नाममा मुद्रा सटही गर्दै आएको छ ।

ब्रिटिस कलेजले ब्रिटिस काउन्सिलसँग मध्यस्थता गरेर ए लेभल सञ्चालन गरेकोमा मन्त्रालयले सिधै विश्वविद्यालयको नाममा रकम भुक्तानी गर्ने गरी मुद्रा सटहीको स्वीकृति दिएको सन्दर्भमा मन्त्रालय उच्च शिक्षा महाशाखाका उपसचिव नारायण पोख्रेलले आफूसँग भएको रेकर्ड सोही भएको र अन्य विषय बुझेर मात्रै भन्न सकिने बताए ।

के भन्छ, ब्रिटिस कलेज ?
ब्रिटिस कलेजले विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कलेजले सञ्चालन गर्दै आएको एउटा कार्यक्रम हो, ए लेभल ।

क्याम्ब्रिज विश्विद्यालयसँग ए लेभल शैक्षिक कार्यक्रमको सम्बन्धन लिएर सञ्चालन गर्दै आएको बताउँदै ब्रिटिस कलेजले सो विश्वविद्यालयलाई शुल्क भुक्तानी गर्नको लागि नेपाल राष्ट्र बैंकबाट वर्षेनी करोडौं रकम सटही गर्ने गरेको छ । तर, ब्रिटिस कलेज ए लेभल कार्यक्रमका म्यानेजर राजनकुमार राईका अनुसार उक्त कलेजको क्याम्ब्रिज युनिभर्सिटीसँग प्रत्यक्ष सम्बन्ध नै छैन र उसले कुनै पनि शीर्षकमा उक्त विश्वविद्यालयलाई शुल्क भुक्तानी गर्दैन ।

ब्रिटिस कलेजले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन गर्ने शैक्षिक कार्यक्रम

ब्रिटिस कलेजले विदेशी विश्वविद्यालयहरुलाई पैसा भुक्तानीको लागि शिक्षा मन्त्रालयसँग लिएको स्वीकृत रकमको विवरण

नेपालमा क्याम्ब्रिज विश्वविद्यालयसँग इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट गरी दुई तरिकाले जोडिएर कलेजहरुले ए लेभलको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्यसमध्ये अधिकांश कलेजहरुले डिपेन्डेन्ट तरिकाले ए लेभल शैक्षिक कार्यक्रम सञ्चालन गरेको देखिन्छ ।

त्यसमध्ये ब्रिटिस कलेजले पनि ब्रिटिस काउन्सिलसँग मध्यस्थता गरेर ए लेभल कार्यक्रम सञ्चालन गर्दै आएको छ । काउन्सिललसँग मध्यस्थता गरेर कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीको परिक्षा र सर्टिफिकेटको सम्पुर्ण प्रकृया पनि काउन्सिलले नै गर्ने ब्रिटिस कलेज ए लेभल कार्यक्रमका म्यानेजर राई बताउँछन् ।

‘दुई प्रकारका कलेजहरु मध्ये एउटा इन्डिपेन्डेन्ट हुन्छ, त्यो कलेजले विश्वविद्यालयलाई निश्चित रकम तिर्नुपर्ने हुन्छ । तर हाम्रो ब्रिटिस कलेजको हकमा भनेको हामी इन्डिपेन्डेन्ट होइनौ, हामी डिपेन्डेन्ट हौं, भनाईको तात्पर्य हामी जतिपनि काम गर्छौं, सिधै क्याम्ब्रिजसँग काम नगरेर ब्रिटिस काउन्सिललाई मध्यस्थताको रुपमा राखेर हामीले काम गर्ने हो,’ ब्रिटिस कलेज ए लेभल कार्यक्रमका म्यानेजर राईले विकासन्युजलाई भने ।

राईका अनुसार सो कलेजले ए लेभलको शैक्षिक कार्यक्रम सञ्चालन गरेबापत ब्रिटिस काउन्सिलले तोकेको परिक्षा शुल्क उसलाई बुझाउनु पर्दछ ।

‘विद्यार्थीले रजिष्ट्रेसन शुल्कको रुपमा ब्रिटिस काउन्सिलले भनेको रकम बुझाउनु पर्दछ, परिक्षा शुल्क बाहेक अरु कुनै पनि प्रकारको शुल्क पनि विद्यार्थीले बुझाउनु पर्दैन्,’ कलेजका राईले भने ।

तोकेको शुल्क बुझाएपछि काउन्सिलले आफ्नो प्रत्यक्ष संलग्नतामा विद्यार्थीहरुको परिक्षा लिने र उनीहरुलाई सर्टिफिकेट प्रदान गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.