मर्जरमा जान नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे सम्झौता, स्वाप रेसियो १००ः९०

  २०७९ जेठ २७ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि दुई बैंकले जेठ २७ गते (शुक्रबार) प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

मर्जरमा जाने सम्झौता भर्खरै सकिएको मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले बताए ।

‘हामीले भर्खरै सम्झौता गर्यौं,’ उनले विकासन्युजसँग भने ।

सम्झौता अनुसार मर्जपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ । त्यस्तै, इन्भेष्टेमेन्टले मेगा बैंकलाई १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज गर्ने सम्झौता भएको छ । सो अनुसार मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ ।

मेगा बैंकका सञ्चालक गोपाल खनालका अनुसार मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वी बहादुर पाण्डे र सीईओमा ज्योति पाण्डे हुने भएका छन् । त्यस्तै, वरिष्ठ डेपुटी सीईओ रबिना देशराज श्रेष्ठ बन्ने भएकी छिन् । त्यस्तै, आगामी ६ महिनाभित्रमा एकीकृत कारोबार सक्ने गरी मर्जर प्रकृया अघि बढाइने मेगा बैंकका सञ्चालक खनालले बताए ।

नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि हिमालयन बैंकसँग मर्जमा जाने प्रकृया अघि बढाएको थियो । तर उक्त सम्झौता भाडिएर हिमालयनसँग डिमर्ज भएपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको सम्झौता गरेको हो ।

यस्तो छ दुई बैंकको वित्तीय अवस्था

चुक्ता पुँजी

नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । त्यस्तै, मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १४ अर्ब ३५ करोड रुपैयाँ छ भने मेगाको ३ अर्ब ६८ करोड रुपैयाँ कोषमा सञ्चित छ । अब मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी भने हाल एकीन भइसकेको छैन । दुई बैंकबीचको स्वाप रेसियो गणना भएपछि मात्रै पुँजी तय हुने छ ।

निक्षेप तथा कर्जा

इन्भेष्टमेन्ट बैंकले गत चैत मसान्तसम्म १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको थियो । त्यस्तै, मेगा बैंकले १ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ नै कर्जा लगानी गरेको छ ।

नाफा

२०७८ चैत मसान्तसम्म इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो भने मेगा बैंकले २ अर्ब १ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको थियो । सो अवधिसम्म इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र मेगा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसा थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ क्रमशः १८०.९७ र १३६.७० रुपैयाँ छ ।

शाखा सञ्जाल

इन्भेष्टमेन्ट बैंकको हाल ८८ वटा शाखा, १३२ वटा एटीएम, ३१ वटा एक्स्टेन्सन काउन्टर र ५८ वटा ब्रान्चलेस बैंकिङ सञ्चालनमा रहेको छ । त्यस्तै, मेगा बैंकको २०७ वटा शाखा, १३९ वटा एटीएम, २५ वटा एक्स्टेन्सन काउन्टर र सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.