भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

  २०७९ जेठ २४ गते १५:५७     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरेका हुन् ।

अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु गरिएको हो ।

हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरुप यो सेवा सुरु गरिएको महानगरप्रमुख रेणु दाहालले बताइन् । उनले भनिन्, ‘डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।’ पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुआत गरिएको उनले बताइन् । स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उनले जानकारी दिइन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत सेवा लिन सबैलाई आग्रह गरे । उनले भने, ‘अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।’ जनताले सेवासुविधा चुस्त रुपमा पाउन सक्ने उनको भनाइ थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम सुरु गरिएको बताए । डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरु लिन सहज हुने उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.