अर्थसचिवसहित जम्बो टोली लिएर अर्थमन्त्री बिरगञ्ज चिनी कारखानामा, दिए सञ्चालन गर्ने आश्वासन

  २०७९ जेठ २१ गते १८:२५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीरगञ्ज चिनी कारखाना संचालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उनले जानकारी दिएका छन् । शनिबार बीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनीसहितको टोली बिरगञ्ज चिनी कारखानामामा पुगेर सञ्चालन गर्ने आश्वासन दिएर फर्केको हो ।

अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनीसहित राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान बीरगञ्ज चिनी उद्योगको निरिक्षण गरेका छन् ।

‘बीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ उनले भने, ‘६–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’

उनले चिनी मिल संचालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन बीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।

वीरगञ्ज चिनी कारखाना रुस सरकारको सहयोगमा ०२१ सालमा स्थापना भएको हो । दैनिक १५०० टन उखु पेल्ने क्षमता यो उद्योगसँग छ । यो उद्योगमा सञ्चालनमा ल्याउन केही मेशिन मर्मत गर्नुपर्नेछ भने केही थप्नुपर्ने अवस्था रहेको एक सरकारी अध्ययनले देखाएको छ । बिरगञ्ज चिनी कारखाना ०६१ सालबाट बन्द छ ।

शर्माले आगामी आवको बजेटमार्फत् सो चिनिी कारखाना पुर्नसंचालनमा ल्याउने घोषणा गरेका छन् । उनले बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास दिलाए । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल संचालनयोग्य रहेको जानकारी दिएका थिए ।

मन्त्री शर्माले पथलैया–बीरगञ्ज करिडोर, निजगढ बिमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने बिषय, सुख्खा बन्दरगाह, एकिकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट बीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताए ।

यस्तै, आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दीगो अर्थतन्त्र निर्माण गर्ने, बिद्युतमा छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिने, तयारी र कच्चा बस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर गर्नेलगायतका बिषयबस्तु राखेर देशभरका उद्योगीलाई सम्बोधन गर्नेक्रममा बीरगञ्जका व्यवसायी पनि समेटिएको बताए ।

यस्तै, उनले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । बीरगञ्ज उद्योग बाणिज्य संघको ४६ आंै साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाए ।

‘निजगढ बिमानस्थल बनाउनुपर्छ, बन्छ, यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने, ‘यो सरकारले निजगढ बिमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’

उनले त्रिभुवन बिमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ बिमानस्थल चाहिएको बताए । उनले निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए ।

‘मधेशलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ, यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उनले भने ।

सो कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताए । उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा रहेको अर्थव्यवस्थालाई सही दिशामा ल्याएर नेपाल र नेपालीको भाग्य बदल्ने प्रयत्न गरिएको बताए ।

‘बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग व्यापारलाई औद्योगिकरण गर्न खोजिएको छ’ अर्थ सचिव मरासिनीले भन्नुभयो, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा लिने संभवत सरकारको यो पहिलो दस्ताबेज हो ।’

One comment on "अर्थसचिवसहित जम्बो टोली लिएर अर्थमन्त्री बिरगञ्ज चिनी कारखानामा, दिए सञ्चालन गर्ने आश्वासन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.