दावी भुक्तानीअनुसार मूल्याङ्कन हुँदै बीमा कम्पनी, अंक कम पाउनेलाई सेवासुविधा पनि कम

  २०७९ जेठ १६ गते १९:२४     विकासन्युज

काठमाडौं । अब बीमा कम्पनीहरु दाबी भुक्तानी अनुसार मूल्याङ्कन हुने भएका छन् । बीमा समितिले बीमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर जीवन बीमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताएको हो ।

सोमबार जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेशकुमार लालले सो बताएका हुन् । यससँगै, सो मूल्याङ्कनमा न्यून अर्थात कम अङ्क पाउने कम्पनीहरूलाई समितिबाट पाउने सुविधाहरूमा समस्या पर्ने समेत उनले जानकारी गराएका छन् ।

निर्देशक लालले समितिले बीमा दाबी भुक्तानीमा देखिएका समस्याहरूका सम्बन्धमा कम्पनीहरूसँग निरन्तररूपमा छलफल गरी दाबी भुक्तानीमा जोड दिए पनि सोचे जस्तो परिणाम दिन नसकेको बताए ।

कम्पनीले बीमाशुल्क लिएर बीमालेख बिक्री गरेपछि विना झन्झट ढिलाई नगरिकन दाबी भुक्तानी दिनैपर्नेमा जोड दिँदै निर्देशक लालले बीमाको विश्वसनीयता तब बढ्छ, जब बीमा दाबी भुक्तानी समयमै हुन्छ भने ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक (कानून) विरोध भट्टले जीवन बीमा कम्पनीहरूको दावीसँग सम्बन्धित समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरे । उनले बीमितले बीमा दावी सम्बन्धी लगायत जुनसुकै किसिमका उजूरीहरू इमेल, फोन वा पत्र मार्फत मौखिक वा लिखितरूपमा समितिमा गर्न सक्ने र त्यसलाई समितिले उजूरीका रूपमा स्वीकार गर्ने बताए ।

समितिले जीवन बीमा कम्पनीहरूबाट बिना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी हुन सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूका दाबी विभागमा कार्यरत कर्मचारीहरूले आफ्नो काम गर्ने शैलीलाई परिस्कृत गरी दाबी भुक्तानीको प्रक्रियालाई छिटोछरितो रूपमा अगाडि बढाउनुपर्ने र भुक्तानीका लागि पहल पनि गर्नुपर्ने बताए ।

One comment on "दावी भुक्तानीअनुसार मूल्याङ्कन हुँदै बीमा कम्पनी, अंक कम पाउनेलाई सेवासुविधा पनि कम"

  • मुरतुजा अंसारी says:

    जति नियम लगाऐ पनि 3 महिना देखि 2 बरस भनदा बढी को अफिसको चकर लगाऐर भुक्तानी दिने गरेको छ यो सबको बारन अभिकर्ता संग कुनै बातचित सुझाब मा धयान नदिनु को कारन हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.