विज्ञापनमा विदेशी मुद्राको अपचलन, राज्यले गुमायो राजस्व

  २०७९ जेठ १२ गते १०:५८     नारायण अर्याल

काठमाडौं । पीडीएफ रिडर नामक एनरोइड मोबाइल एपमा इकमर्श साइडमा दराजको विज्ञापन छ । पीडीएफ रिडर एपमै फोन पे, खल्ती, एनसेल जस्ता कम्पनीको विज्ञापन पनि भेटिन्छ ।

मोवाइलकै भ्वाइस रेकडर नामक भ्वाइस रेकर्ड गर्ने अर्काे एक एपमा इसेवा, बजाज नेपाल, टीभीएस लगायत कम्पनीका विज्ञापन राखिएको छ । फेसबुक म्यासेन्जर एपमा दराज, एनसेल जस्ता कम्पनीहरुको विज्ञापन हुन्छ । यस्तै, युट्युव, गुगल जस्ता सामाजिक संजालमा धेरै नेपाली कम्पनीहरुको विज्ञापन छ ।

पछिल्लो समय नेपालका धेरै कम्पनीहरुले सामाजिक संजाल र इन्टरनेट प्लेजफर्महरुमा विज्ञापन गर्न थालेका छन् । सार्वजनिक संचारमाध्यममा विज्ञापन गर्न महंगो पर्ने र प्रभावकारिता पनि कम हुने भन्दै कम्पनीहरु यस्ता प्लेटफर्ममा विज्ञापन गर्न आकर्षित भएका हुन् ।

तर, नेपालको कानुनले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न नेपाली कम्पनीहरुलाई छुट दिएको छैन । विदेशी संचार प्लेटफर्ममा नेपाली कम्पनीहरुले विज्ञापन गर्न पाउने नपाउने विषय यकिन रुपमा उल्लेख गरिएको छैन भने कम्पनीहरुले यस्ता विज्ञापनको भुक्तानी पनि गैरकानुनी रुपमा गर्ने गरेको पाइएको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले नेपाली कम्पनीहरुले विदेशी इन्टरनेट प्लेटफर्ममा विज्ञापन गर्न पाउने कानुनी व्यवस्था नभएको बताए । इन्टरनेट प्लेटफर्ममा नेपाली निकायहरुले गरिरहेको विज्ञापनलाई कानुनी दायरामा ल्याउनको लागि आफूहरुले चासो लिएर काम गरिरहेको उनले भनाई छ ।

‘नेपाली कम्पनीहरुले विदेशी इन्टरनेट प्लेटफर्ममा विज्ञापन गर्ने विषयमा कानुन ‘साइलेन्ट’ छ, यो विषय हाम्रो नोटिसमा छ, यसलाई कानुनी दायरामा ल्याउन काम गरिरहेका छौं,’ अध्यक्ष हुमागाईंले भने ।

विदेशका इन्टरनेट प्लेटफर्ममा गरेको विज्ञापनको भुक्तानी नेपाली कम्पनीहरुले विदेशी मुद्रामा नै गर्नुपर्ने हुन्छ । यस्तो विज्ञापन पनि एड एजेन्सीहरु मार्फत हुने गरेको छ । तर, अहिलेसम्म कुनै पनि एड एजेन्सीले विदेशी इन्टरनेट प्लेटफर्मलाई भक्तानी गर्नको लागि भनेर विदेशी मुद्रा सटही सुविधा नलिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बताए ।

कानुन अनुसार नेपाली कम्पनीले विदेशी इन्टरनेट प्लेटफर्ममा विज्ञापन गर्न पाउँदैनन् । तर, हजारौं नेपाली वस्तु तथा सेवा उत्पादन गर्ने उद्योग, कम्पनी, कलेज, लगायत धेरै कर्पोरेट हाउसहरुले गैरकानुनी रुपमा विदेशी इन्टरनेट प्लेटफर्मको प्रयोग गरेर विज्ञापन गरिरहेका छन् । नेपाली वस्तु तथा सेवाहरुको उत्पादन गर्ने कम्पनी तथा विभिन्न संस्थाहरुले विदेशी बिज्ञापन प्लेटफर्मको प्रयोग गरेर विज्ञापन गर्न पाइने कानुनी व्यवस्था रहेको छैन ।

विज्ञापन सम्बन्धी क्रियाकलापको नियमन गर्नको लागि विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को व्यवस्था रहेको छ । सो ऐनमा इन्टरनेटका विदेशी प्लेटफर्म र विश्वव्यापी सामाजिक सञ्जालमा विज्ञापन गर्ने सम्बन्धमा कुनै व्यवस्था रहेको छैन ।

नेपालीले प्रयोग गर्ने सामाजिक सञ्जाल र मोवाइल एप्लिकेसन झण्डै शतप्रतिशत विदेशी रहेका छन् । अधिकांश नेपालीहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप र इमो सबै विदेशी कम्पनीहरुको स्वामित्वमा रहेका छन् । त्यस्तै अन्य युट्युव, गेम एप, माइक्रोसफ्टका विभिन्न फिचर एप, एडोवका विभिन्न फिचर एप, लगायतका इन्टरनेट प्लेटफर्महरु पनि विदेशी कम्पनीका हुन् ।

आजको दिनमा जो सुकैले सामाजिक सञ्जाल वा विदेशी एप्लिकेसनका प्रयोगकर्ताहरुले प्रत्यक्ष रुपमा देख्न सकिन्छ कि धेरै नेपाली कम्पनीहरुले ठूलो मात्रामा ती प्लेटफर्ममा विज्ञापन गरिरहेका छन् । जसमा विशेष गरेर मोवाइल वालेट, कलेज, अनलाइन सपिङ स्टोर, टेलिकम्युनिकेसन, आदि रहेका छन् । ती संस्था तथा कम्पनीहरुले दैनिक रुपमा करोडौं रुपैयाँ विज्ञापनको लागि ती प्लेटफर्ममा खर्च गरिरहेको देखिन्छ ।

मुलुकभित्रको कुनैपनि निकायले आफ्नो वस्तु तथा सेवाको सूचना प्रकाशन वा प्रशारण गर्दा राज्यलाई अनिवार्य रुपमा कर बुझाउनुपर्ने हुन्छ । तर कानुनी व्यवस्थामा नै नभएको विदेशी इन्टरनेट प्लेटफर्ममा विज्ञापन गर्नेहरुले कसरी विदेशी मुद्रामा भुक्तानी गरिरहेका छन् ? विज्ञापन वापत राज्यलाई कर बुझाएका छन् कि छैनन् भन्ने जस्ता प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.