चुपचाप सकियो नबिलमा अनिल शाहको सेकेण्ड इनिङस्

  २०७९ जेठ १० गते १४:५६     सन्तोष रोकाया

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह आगामी असार १७ गतेबाट अवकाश पाउँदैछन् । २०७५ साल असारमा बैंकको सीईओका रूपमा कार्यभार सम्हालेर काम सुरू गरेका शाहको पदावधि सकिएसँगै उनी बैंकबाट बाहिरिन लागेका हुन् ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) बैंकलाई गाभ्ने प्रक्रियामा सहयोग गरेका एनबी बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुङ्गानालाई नबिल बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेसँगै शाह नबिल बैंकबाट बाहिरिन लागेको निश्चित भएको छ ।

नबिल बैंकमा शाहले सीईओका रूपमा दुई पटक काम गरे । विगतका दिनहरूमा चर्चा पाइरहने र मिडियाको लागि फ्रन्टलाइन बन्ने शाहको नबिल बैंकको दोस्रो इनिङ भने खासै चर्चामा रहेन । बरु उनको नविल बैंकको दोस्रो पटकको इन्ट्री नै विवादको घेरामा रह्यो ।

सेलिब्रेटी बैंकर शाह सञ्चार माध्यमको हेडलाइन धेरै पटक बन्ने बैंकरमा अग्रणी रहे । बैंकिङ क्षेत्रमा कार्यकुशलता मात्रै होइन, युवाहरूमाझ प्रेरणादायी सन्देश प्रवाह, शिष्ट स्वभाव, उच्च व्यक्तित्व र प्रखर वक्ताको उपमाले परिचित बैंकर शाह सधैं ‘फ्रन्टलाइन’मै देखिए । र, कुनै पनि कम्पनीको सीईओ वा बैंकरको नाम लिनुपर्दा भुइँमान्छेले पनि शाहको नाम लिने उनको व्यक्तित्व बन्यो ।

बैंकिङ जस्तो क्षेत्रमा र सीईओ जस्तो प्रोफेसनमा रहेर पनि बैंकर शाह कुनै नेता, कलाकार, खेलाडीभन्दा कम चर्चित रहेनन् ।

उनको कार्यकुशलता नेपाली बैंकिङ उद्योगले ग्रहण गर्न पायो । उनी जुन बैंकमा प्रवेश गरे, त्यो बैंकलाई अब्बल बनाउन सक्ने उनको सामर्थ्यको चर्चा सधैं भइरह्यो । उनलाई सञ्चार माध्यमहरूले पनि पछ्याइरहे । मिडियामैत्री उनको स्वभाव नै उनलाई चर्चित गराउने कारक बन्यो । पत्रकार र संचारमाध्यमका लागि शाह जहिल्यै उपलब्ध रहे । प्राविधिक विषयको जानकारी दिन र सूचना प्रवाहमा उनले कहिल्यै कन्जुस्याई गरेनन् ।

त्यसैकारण पनि उनी एक सेलिब्रेटी बैंकरका रूपमा जनमानसमा चिनिए । तीन दशक बढी बैंकिङ अनुभवले पहिलो पुस्ताको बैंकरका रूपमा उनी चिनिन्छन् । तर, उनको जिउडाल, स्वभाव र काम गर्ने शैलीमा कुनै कमि देखिँदैन ।

हार्वर्ड विश्वविद्यालय अन्तर्गतको जोन एफ केनेडी स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्केटिङ विषयमा पनि स्नातकोत्तर गरेका छन् । उनी नेपाल बैंकर्स संघको अध्यक्ष पनि बनिसकेका छन् ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट वित्तीय विश्लेषकका रूपमा बैंकिङ करिअर सुरू गरेका शाहले व्यवसायिक रूपमा भने बैंकिङ करिअर तत्कालिन नेपाल ग्रिनलेज अर्थात् अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट प्रारम्भ गरे । सो बैंकमा १३ वर्ष काम गरेका शाह त्यस बैंकबाट बाहिरिएपछि नेपाली बैंकिङ क्षेत्रले बढी लाभ पाउन सक्यो ।

सन् २००४ मा नविलको जीएम भएर गएदेखि नै रेडियो, टेलिभिजन, पत्रपत्रिका र पछिल्लो समय अनलाइन संचार माध्यमहरुमा समेत छाइरहने शाह सन् २०१८ मा नविलको दोस्रो इनिङ्सका लागि इन्ट्री गरेपछि भने मिडियामा करिब देखिएनन् । उनले जे गरे, चुपचाप गरे, जति गरे, कामले मात्रै देखाए । एग्रेसिभ विजनेस ग्रोथ गरिरहेको नविल बैंकको व्यवस्थापन प्रमुख, अझ त्यसमा पनि अनिलकेशरी शाह शान्त रहे, मौन बसे । र, नेपाली बैंकिङ उद्योगलाई अविष्मरणीय र सम्झनलायक योगदान दिएर उनी नविल बैंकको दोस्रो इनिङस्बाट बाहिरिदै छन् ।

स्ट्याण्डर्डबाट बाहिर आएको शशिन जोशी, उपेन्द्र पौडेल, अनिल शाह, अजय श्रेष्ठ, परशुराम कुँवरसहितको पुस्ताले नेपाली बैंकिङ क्षेत्रमा कन्जुमर लेण्डिङ सुरु गरेर बैंकिङ क्रान्ति नै गरेको छ । यही पुस्ताले सुरु गरेको उपभोक्ता कर्जाकै कारण आज सामान्य मान्छेले पनि गाडी चढ्ने वा महंगो घर घडेरी किन्ने सपना बनाउन सकेको छ ।

अनिल शाह दरबारीया शाह खलक हुन् । त्यसैले उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक छोडेर नविल बैंकमा महाप्रवन्धक भएर आउँदा नै उनको चर्चा धेरै भएको थियो । ‘जागिरे दरबारीया शाह कस्तो रहेछ भनेर एक पटक भेट्ने मन छ’ भन्ने पत्रकारहरु उनी स्ट्याण्डर्ड चार्टर्ड छोडर नविल आएकै बेलामा भेटिन्थे ।

अनिल शाह फोटो खिचाउन खुब शौखिन छन् भन्ने कुरा उनले सुरुमै देखाए । नविल बैंकको जीएम भएको बेलामा अन्तरवार्ता लिन जाने पत्रकारहरुलाई शाह पोज पोजमा फोटो खिच्न लगाउँथे ।

नबिल बैंकमा रहँदा उनको चर्चा पुनः चुलियो । नबिल बैंक सञ्चालक समिति उनीप्रति खुसी भएर उनलाई सीईओ बनायो । नबिल बैंकमा ६ वर्ष काम गरेपछि उनी मेगा बैंकमा सीईओ भएर गए ।

मेगा बैंकमा उनले निरन्तर दुई कार्यकाल (८ वर्ष) सीईओका रूपमा काम गरे । सुरुवाती चरणको मेगा बैंकलाई बैंकिङ क्षेत्रमा एउटा राम्रो बैंकका रूपमा चिनाउन उनले ठूलो भूमिका खेले । मेगा बैंकमै रहँदा शाहले ल्याएको हलोदेखि हाइड्रोसम्म भन्ने नाराले उनको र बैंकको चर्चा थप चुलियो । सो नारा मेगा बैंकको प्रभावकारी कार्यक्रमको रूपमा बैंकिङ क्षेत्रमा देखियो । आफ्नो र आफू कार्यरत बैंकको ब्राण्डिङमा सफल शाहले चलाएको ‘मेगा नमस्ते’ मेगा बैंकले निरन्तरता दिएकै छ ।

मेगा बैंकमा दुई कार्यकाल सकाएपछि शाह सेञ्चुरी बैंकमा जाने चर्चाले निकै प्राथमिकता पायो । उनी सो समय केही विवादमा पनि तानिए । सेञ्चुरी बैंकमा जानका लागि करार सम्झौता गरिसकेका शाह सम्झौतापछि तलव सुविधामा कुरा नमिलेको भन्दै सेञ्चुरीमा जानबाट रोकिए ।

सेञ्चुरी बैंकमा कुरा नमिलेपछि उनले दोस्रो इनिङका रूपमा नबिल बैंकमा प्रवेश गरे । तर, राष्ट्र बैंकले एक बैंकको सीइओलाई अर्काे बैंकमा जान कम्तिमा ६ महिना काम नगरी बसेको हुनुपर्ने (कुलिङ पिरियड) नियम बनाएकोले शाह दोस्रो पटक नविलमा झ्यालबाट पस्नु पर्यो । किनभने शाहलाई नबिल बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा बैंकमा भित्र्यायो । कुलिङ पिरियड सकिएपछि उनी बैंकको सीईओका रूपमा नियुक्त भए ।

नबिल बैंकमा उनको दोस्रो इनिङ पनि आगामी असार तेस्रो साता सकिँदैछ । नबिल बैंकको सीईओकै रूपमा रहेर उनले धेरै काम गरे । नबिल बैंकको विजनेस ग्रोथ, सेयरधनीलाई प्रतिफलसँगै बैंकलाई बैंकिङ क्षेत्रमा एक लिडर बैंकका रूपमा चिनाउन शाहले ठूलो भूमिका खेले ।

नबिल बैंकले बैंकिङ मात्रै नभइ उद्यमशिलता विकासमा पनि पछिल्लो समय प्रभावकारी काम गर्दै आएको छ । जसको श्रेय शाहलाई जान्छ । उनको प्रवेश जुन बैंकमा भयो, त्यो बैंकमा कुनै न कुनै नयाँ काम भइरह्यो । शाहको नयाँ काम र कार्यक्रमसँगै उनको चर्चा पनि भइरह्यो । तर, नबिल बैंकमा शाहको दोस्रो इनिङले भने खासै चर्चा पाएन । अर्थात उनी नबिल बैंकमा सीईओ भएपछिको केही वर्षपछि उनी खासै चर्चामा देखिएनन् ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने विषय सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाए । दुवै बैंक एकआपसमा गाभ्न/गाभिनका लागि अन्तिम चरणमा छन् । तर, यो प्रकरणमा सीईओ शाह ‘सीन’मा देखिएनन् । बरू सोही बैंकका डीसीईओ मनोज ज्ञवाली प्रमुख पात्र जस्तै गरी देखिए । त्यसबाहेक नविल बैंकको व्यवस्थापन देखिने धेरै ठाउँहरुमा पछिल्लो समय अनिल होइन, मनोज देखिन्छन् बढी ।

एनबी बैंकलाई गाभ्ने विषयमा सीईओ शाह न कुनै सार्वजजनिक ठाउँ वा कार्यक्रममा मुख खोल्छन्, नत आन्तरिक रूपमा कुनै भूमिकामा बसेर काम गरेको देखिन्छ ।

सन् २००४ मा नविलको जीएम भएर गएदेखि नै रेडियो, टेलिभिजन, पत्रपत्रिका र पछिल्लो समय अनलाइन संचार माध्यमहरुमा समेत छाइरहने शाह सन् २०१८ मा नविलको दोस्रो इनिङ्सका लागि इन्ट्री गरेपछि भने मिडियामा करिब देखिएनन् । उनले जे गरे, चुपचाप गरे, जति गरे, कामले मात्रै देखाए । एग्रेसिभ विजनेस ग्रोथ गरिरहेको नविल बैंकको व्यवस्थापन प्रमुख, अझ त्यसमा पनि अनिलकेशरी शाह शान्त रहे, मौन बसे । र, नेपाली बैंकिङ उद्योगलाई अविष्मरणीय र सम्झनलायक योगदान दिएर उनी नविल बैंकको दोस्रो इनिङस्बाट बाहिरिँदै छन् ।

2 comments on "चुपचाप सकियो नबिलमा अनिल शाहको सेकेण्ड इनिङस्"

  • Banker says:

    मेरो विचारमा सिईओले समग्र नेतृत्व दिने हो र समन्वयकारी भूमिका खेल्ने हो । तर, बैंकलाई माथि उठाउन सिईओ भन्दा तल रहेका उच्च व्यवस्थापन र विभागहरुको भूमिका महत्वपूर्ण हुन्छ जस्तो लाग्छ ।

  • Branch says:

    शाखामा बस्ने त तलब खाने मात्र हुन है
    Above banker: may 25,2022 at 4.12 pm

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.