मतदान केन्द्रभित्र फोटो खिच्न निषेध, अर्काेको नाममा मतदान गरे २५ हजार जरिवाना

  २०७९ वैशाख ३० गते ७:४०     विकासन्युज

काठमाडौं । देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । बिहान ७ बजे देशभर एकसाथ सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले मतदान केन्द्रमा क्यामरा बोक्न कडाईदेखि अर्काेको नाममा मतदान गर्नेलाई कारवाहीको अधिकार निर्वाचन अधिकृतलाई दिएको छ ।
कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आएमा उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ ।

छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार निर्वाचन आयोगले मतदान अधिकृतलाई दिएको छ ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन् ।

यस्तै, मतदान केन्द्रमा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु लैजान पूर्ण रुपमा निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.