बुबाको ‘इख’ले बैंकर बनेका सर्जु : ३ हजार तलबदेखि डीसीईओसम्म

  २०७९ वैशाख ५ गते १४:१३     सन्तोष रोकाया

काठमाडौं । लाजिम्पाटको एमबीएल टावरको पाँचौं तलामा एउटा भव्य कोठा । एसीसहितको सफा, चिटिक्क र सानदार कोठा । त्यही सानदार कोठाबाट देखिन्छ भरिभराउ काठमाडौं ।

काठमाडौंको कोलाहल त्यो भव्य कोठामा पुगेपछि शून्य हुन्छ । सायद मनको कोलाहल पनि त्यसमा काम गर्दै गर्दा शान्त हुन्छ होला । सोही कोठामा व्यस्त देखिन्छन् माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जु थापा ।

मैले सुरुवातमै डीसीईओ थापालाई प्रश्न गरेँ, ‘बैंकिङ जब’ कति राम्रो है ? उनले एकछिन सोचमग्न हुँदै भने, ‘हुन त झट्ट हेर्दा एसी रुम, बैंकरले टाइसुट लगाएको देखिन्छ, हँसिलो फुर्तिलो देखिन्छ तर, बैंकिङ जब कति तनावपूर्ण छ भन्ने कुरा काम गर्नेहरूलाई मात्रै थाहा हुन्छ, कहिलेकाहीँ त कामबाट घर फर्किंदा घरका सदस्यहरूसँग बोल्न पनि मन लाग्दैन ।’

उनी हाँस्दै प्रतिप्रश्न गर्छन्, ‘तर, बैंकर बन्न पनि त कहाँ सजिलो छ र ?

मैले पुनः जिज्ञासा राखेँ, तपाईं कसरी बैंकर बन्नु भयो ?

उनी जवाफ दिन्छन्, ‘म बैंकर बन्नुको पछाडि मेरो बुबाको ठूलो हात छ, बुबाले मेरो पढाइप्रति त्यति धेरै चासो र हौसला नदिएको भए आज म यो स्थानमा हुन्थेँ वा हुन्थेन, पढ्दै गएँ, मेहनत गर्दै गएँ, जीवनमा आएका अवसरहरूलाई ग्रहण गर्दै गएँ, आफ्नो जिम्मेवारीलाई सकेसम्म कुशलताका साथ पूरा गरेँ, त्यही कारणले पनि हुनसक्छ आज माछापुच्छ्रे बैंकको डीसीईओसम्म पुगेको छु ।’

२०३० सालमा संखुवासभाको वानामा जन्मेका सर्जु ४ वर्षकै हुँदा उनको परिवार झापाको चन्द्रगढीमा बसाइँ स‍र्‍यो । झापामा उनी ८ कक्षासम्म पढे । भारतको बनारसबाट आईए (अहिलेको प्सलटु)पास गरेका उनका बुवा झापामै एक विद्यालयको प्रधानाध्यापक थिए ।

उनका बुवा हेड मास्टर भएको विद्यालयको स्तरोन्नति भएर निम्न माध्यामिक विद्यालय (निमवि)बाट माद्यामिक विद्यालय (मावि) बन्यो । आईए पढेका उनका बुवालाई हेड मास्टरबाट हटाएर विद्यालय व्यवस्थापन समितिले बिए (स्नातक) पढेकोलाई हेड मास्टरमा नियुक्त गर्‍यो ।

हेड मास्टरबाट हट्नु परेको पछुतो उनले आफ्नो छोराहरूमाथि पोखे । अब नपढी हुँदैन भन्ने मानसिकताका साथ उनी आफ्नो छोरोहरूलाई पढाउनतर्फ लागे ।

‘हुन त बुवाले बनारसबाट आईए पास गर्नु भएको थियो तर, बिए पढेको मान्छे हेड मास्टर बनेपछि उहाँलाई आफू नपढेकोमा पछुतो भयो, अब छोराहरूलाई राम्ररी पढाउनु पर्छ भन्ने कुरा उहाँको मनमा खेलिरह्यो, उहाँले हामी (तीन दाजुभाई) लाई कामभन्दा पनि पढाइमा ध्यान दिन भनिरहनु भयो, हुन पनि अहिले सबै भाइ राम्रै स्थानमा छौं,’ उनले विगत स्मरण गर्दै भने ।

झापाबाट ८ कक्षा पास गरेपछि उनी मामा घर धरान गए । धरानको शिक्षा निकेतनमा ९ र १० कक्षा पढे । वि.स २०४६ सालमा एसएलसीमा उनी ‘फष्ट डिभिजन’ मा पास भए । विद्यालय तहमा उनी जहिल्यै पहिलो र दोस्रो मात्रै हुन्थे । त्यतिखेर धरानको शिक्षा निकेतनबाट एसएलसीमा ५ जना मात्रै फष्ट डिभिजनमा पास भएको उनी सुनाउँछन् ।

इञ्जिनियर बन्ने रहर

देशमा ठूलो राजनीतिक उतारचढाव थियो । २०४६/०४७ सालमा जनआन्दोलन चर्किँदै थियो । सोही समयमा उनी पढाइकै लागि भनेर धरानबाट काठमाडौं आए । थापाले काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा फिजिक्स विषय लिएर भर्ना भए ।

उनको रहर इञ्जिनियर बन्ने थियो । अस्कल क्याम्पसमा पढ्दै गर्दा छात्रवृत्तिमा विदेश जाने मोह उनलाई नचलेको होइन । तर, त्यतिखेर छात्रवृत्तिमा नाम निकाल्नका लागि पनि ‘फोर्स’ चाहिने उनी सुनाउँछन् । कारणबस उनी छात्रवृत्तिमा छनोट हुन सकेनन् ।

‘एसएलसी दिएपछि इन्जिनियर बन्ने रहर पलायो, त्यस कारण पनि अस्कलमा फिजिक्स लिएर पढेँ, २ वर्ष अस्कलमै बित्यो तर, पछि विज्ञान विषय छोडेर कमर्स पढ्नतर्फ लागेँ,’ उनले भने ।

अस्कल क्याम्पसमा दुई वर्ष विज्ञान विषय पढेपछि स्नातक पढ्न सर्जु शंकरदेव क्याम्पस पुगे । शंकरदेव क्याम्पसमा उनले व्यवस्थापन संकायमा भर्ना गरे । शंकरदेव क्याम्पसबाट उनले स्नातक र स्नातकोत्तर पास गरे । २०५६ सालमा स्नातकोत्तर पहिलो श्रेणीमै पास गरेको उनी सुनाउँछन् ।

६ महिनाको ‘त्यो जब’

स्नातकोत्तरसम्मको पढाइ पनि सकियो । झापाबाट पढाइकै लागि भनेर काठमाडौं पुगेका सर्जु थापालाई अब काम गर्नुपर्छ भन्ने मानसिकता जाग्यो ।

उनले अब एउटा कन्ष्ट्रक्सन कम्पनीमा काम गर्न सुरु गरे । २०५६ सालमा स्नातकोत्तर पास गरेका उनले सोही वर्षदेखि एउटा कन्ष्ट्रक्सन कम्पनीमा अकाउन्टेन्टका रुपमा काम सुरु गरे ।

‘धेरैले स्नातकोत्तर पास गरेको मान्छे त्यति सानो कम्पनीमा के काम गरेको पनि भने तर, मलाई जुनसुकै काम पनि ठूलो नै लाग्छ, त्यहाँ राम्रै काम गरियो, महिनाको तीन हजार रुपैयाँ तलब थियो, ६ महिनापछि काम छोडेँ,’ उनले आफूले सुरुमा काम गरेको कम्पनी स्मरण गर्दै भने, ‘साहुले पनि राम्रै माया गर्नुहुन्थ्यो ।’

२०५७ बाट बैंकिङ करियर सुरु

व्यवस्थापन विषय स्नातकोत्तरसम्म पढेपछि अब बैंकमा जागिर गर्नुपर्छ भन्ने सर्जुको मनमा लागिसकेको थियो । ६ महिनाको अकाउन्टेन्टको जागिरले उनलाई अलिकति भए पनि काम गर्न सिकाइसकेको थियो ।

त्यतिखेर धेरै बैंकहरू थिएनन् । बजारमा नाम चलेका ४/५ वटा बैंकहरू थिए । २०५७ सालमा उनले आफ्नो बैंकिङ करिअर सुरु गरे बैंक अफ काठमाण्डूबाट ।

‘बैंक अफ काठमाण्डू सन् २००० मा नयाँ व्यवस्थापनका साथ अगाडि बढ्दै थियो, कर्मचारीको माग गरेको रहेछ, मैले पनि परीक्षा दिएँ, पास पनि भइयो, बैंक अफ काठमाण्डू नै मेरो बैंकिङ करियरको पहिलो खुड्किलो बन्यो,’ थापाले भने ।

उनले सो बैंकमा जुनियर असिस्टेन्ट लेभलबाट काम सुरु गरे । तलब पाँच हजार रुपैयाँ थियो । बैंकिङ जागिरको सुरुवातमा उनले बैंक अफ काठमाण्डूमा धेरै सिक्ने मौका पाए । उनले बैंकमा क्रेडिट, लोन र ट्रेडमा काम गरे । उनले ४ वर्ष सोही बैंकमै काम गरे । चार वर्ष बैंक अफ काठमाण्डूमा काम गर्दा एक वर्ष नेपालगञ्जको शाखा गएर काम गर्ने अवसर पनि पाएको उनी सुनाउँछन् । उनी नेपालगञ्जमा क्रेडिट चिफको रुपमा गएका थिए ।

त्यतिखेरसम्म धेरै बैंक आइसकेका थिए । चार वर्ष बैंक अफ काठमाण्डूमा काम गरेपछि उनी माछापुच्छ्रे बैंकमा गए । त्यतिबेला माछापुच्छ्रे बैंक क्षेत्रीय बैंकमा रुपमा सञ्चालित थियो । कार्यालय पोखरामा थियो । उनले माछापुच्छ्रे बैंकमा सुपरभाइजरका रुपमा काम गरे । त्यहाँ उनी धेरै टिकेनन् ।

जागिर परिवर्तनसँगै उनको पद पनि बढ्दै गयो । उनी भन्छन्, ‘म काममा बढी प्राथमिकता दिन्छु, बढी मेहनत गर्छु, सफलता पाउनका लागि सपनाभन्दा पनि हार्ड वर्किङ गर्नुपर्छ भन्नेमा मेरो ध्यान जान्छ ।’

माछापुच्छ्रे बैंक छोडेर उनी अब सानिमा विकास वित्तीय संस्थामा आवद्ध भए । सानिमा विकास वित्तीय कम्पनीमा जुनियर अफिसर पदमा प्रवेश गरेका उनले अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, म्यानेजर तहसम्म त्यहाँ काम गरे ।

सुरुमा २०/२२ जना कर्मचारीबाट सुरु भएको सो संस्थामा ९ वर्षसम्म काम गरेर सबै सहकर्मीहरूको सहकार्य र ‘हार्ड इफोर्ट’ले सो संस्थालाई वाणिज्य बैंक सरह पुर्‍याएको उनी स्मरण गर्छन् ।

जुनियर असिस्टेन्टदेखि डेपुटी सीईओसम्म

बैंकर थापा आफूले अहिलेसम्म काम नगरेको कुनै पनि पद बाँकी नरहेको बताउँछन् । उनले जुनियर असिस्टेन्टदेखि डीसीईओसम्मका सबै पदमा रहेर काम गरिसकेका छन् । थापाले बैंकिङ क्षेत्रमै काम गरेको २२ वर्ष भइसकेको छ । ९ वर्ष सानिमा विकास वित्तीय संस्थामा काम गरेका उनी २०७० सालमा माछापुच्छ्रे बैंकमा पुन: फर्किए ।

सानिमा विकास वित्तीय संस्थाबाट माछापुच्छ्रे बैंकमा सिनियर म्यानेजरका रुपमा प्रवेश गरेका सर्जु असिस्टेन्ट जनरल म्यानेजर, डेपुटी जनरल म्यानेजर र अहिले डेपुटी सीईओ भएर काम गरिरहेका छन् । विगत ८ वर्षदेखि उनी माछापुच्छ्रे बैंकमै छन् ।

‘बैंकिङ क्षेत्रले देशको अर्थतन्त्रमा धेरै योगदान दिएको छ, व्यक्तिको रोजिरोटीदेखि व्यापार व्यवसाय सफल बनाउनका लागि बैंकले महत्त्वपूर्ण भूमिका खेल्छ, थापा भन्छन्, ‘पहिले ग्राहकहरू बैंकमा आएर सेवा लिन्थे अहिले बैंकहरू नै घर–घरमा गएर सेवा दिनुपर्ने अवस्था छ, यो २२ वर्षको अनुभवले यही सिकायो ।’

उनी आफूले २२ वर्ष बैंकमा काम गर्दाको अनुभवले बैंकिङ क्षेत्रमा धेरै विकास भएको बताउँछन् । उनी बैंकरसँगै आफू जुनसुकै क्षेत्रमा काम गरे पनि सोही क्षेत्रमा स्थापित हुन सक्ने क्षमता राख्ने धारणा राख्छन् ।

‘मैले क्रियटिभ चिजमा रुची राख्छु, स्पोर्टमा क्रिकेट मन पर्छ,’ उनी आफ्नो रुची सुनाउँछन् ।

अविस्मरणीय ‘त्यो दिन’

धेरैको जीवनमा आफ्नै किसिमका घटनाहरू हुन्छन् । अधिकांश ती घटनाहरू बिर्सिन्छन् पनि । तर, डीसीईओ थापाको जीवनमा एउटा घटना भने अहिलेसम्म मस्तिष्कमै बसेको छ । कहिले काहिँ उनी आफ्नो विगतलाई सम्झिन्छन् र भन्छन्, ‘थ्याङ्क यू मामा ’

२०४५ साल माघ १ गते सर्जुका मामा धनकुटा थिए । उनलाई फोन गरेर उनको मामाले माइजु पुर्‍याउन विराटनगर जान भने । उनी माघ १ गते विराटनगर गए । तर, माघ २ गते नेपालमा भूकम्प गयो । सर्जु सुत्ने कोठा भत्कियो ।

‘अघिल्लो दिन म विराटनगर गएको थिएँ तर, पछिल्लो दिन म सुत्ने कोठा नै भूकम्पले भत्काएछ, बाजे बिहान बाहिर जानु भएको रहेछ, घरमा रहेकी बज्यैँलाई चोट लाग्यो, मामाले मलाई विराटनगर जानु नभनेको भए के हुन्थ्यो होला… उनी भावुक हुँदै अडिन्छन् ।

अन्तरजातीय विवाह

बैंकर थापाले सन् २०१४ मा अन्तरजातीय विवाह गरे । माछापुच्छ्रे बैंकमा प्रवेश गरेकै वर्ष उनी बैंकर सुजता श्रेष्ठसँग विवाह बन्धनमा बाँधिए ।

हाल सुजता पनि बैंकिङ क्षेत्रमै छन् । उनीहरूको एउटा छोरी पनि छिन् ।

‘चिनजान भएको २/३ महिनामै हाम्रो विवाह भएको हो, जोडी नै बैंकर हुँदा एक अर्काका पीडा पनि बुझिने रहेछ तर, दुवै एउटै जागिरमा हुँदा बच्चाहरूलाई समय दिन नसक्ने हुँदो रहेछ,’ उनी भन्छन्, ‘छुट्टी लिन परे पनि सँगै पार्नुपर्ने, यसको आफ्नै फाइदा र बेफाइदा पनि छन् ।’

तीन दाजुभाइमा सर्जु माइलो हुन् । भाइ पनि बैंकिङ क्षेत्रमै काम गरिहरेको छन् भने उनको दाइ व्यापार व्यवसायमा छन् । आफूले बैंकमा काम गर्दै गर्दा अमेरिका, जापान, थाइल्याण्ड, जर्मन, दुबई लगायत ७/८ देशमा भ्रमण गरिसकेको उनी सुनाउँछन् ।

सीईओ बन्ने सपना

नायव प्रमुख कार्यकारी अधिकृत सर्जु थापा अब आफूले बैंकिङ करियरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन मात्रै बाँकी रहेको सुनाउँछन् । आफूले बैंकिङ क्षेत्रमा काम गर्न अब ८/१० वर्ष मात्रै बाँकी रहेको बताउँदै उनी यो बीचमा सीईओका लागि अवसर आए ग्रहण गर्ने योजना रहेको बताउँछन् ।

‘अब बैंकिङ क्षेत्रमै रहेर काम गर्न ८/१० वर्ष मात्रै बाँकी छ, अहिले पनि आफ्नो ग्रोथको हिसाबले टप लेभलमा पुगिसकेको छु, सीईओ प्रमोसनभन्दा पनि कन्ट्याक्ट लेभलको विषय हो, अवसर आयो भने म त्यसलाई ग्रहण गर्छु नै, बैंकलाई नेतृत्व गर्न सक्ने मसँग क्षमता पनि छ,’ उनले भने ।

बैंकबाट बाहिरिए पनि कुनै संस्थामा वित्तीय सल्लाहकारका रुपमा रहेर काम गर्ने योजना रहेको उनी बताउँछन् ।

‘व्यक्तिले आफ्नो लागि काम गर्ने हो, संस्थाले रिकगनाइज् नगरे पनि अर्को संस्थाले रिकगनाइज् गर्छ, जसले आफ्नो लागि काम गर्छ त्यो मान्छे नै पनि अगाडि बढ्छ, उनी भन्छन्, ‘संघर्ष र मेहनतले नै मानिसको बाटो निर्धारण गर्छ, सपना मात्रै देख्ने होइन काम पनि गर्नुपर्छ ।’

One comment on "बुबाको ‘इख’ले बैंकर बनेका सर्जु : ३ हजार तलबदेखि डीसीईओसम्म"

  • Rajan Bhattarai says:

    Great Sarju…Hamro thau chandragadhi ko Pani nam lieko ma thanks… Keep it up..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X