पान र गुट्खा व्यापारी भन्छन्: सुपारी नहुँदा उद्योग बन्द गर्नुपर्ने भयो

  २०७९ वैशाख २ गते १७:२२     विकासन्युज

काठमाडौं । पान तथा गुट्खा उद्योगीले सुपारी नहुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगीले सुपारी नहुँदा उद्योग नै बन्दगर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

समितिको छलफलमा श्रीराम टोबाको उद्योगका म्यानेजर रघु घिमिरेले पर्याप्त मात्रामा उद्योगसँग सुपारी नहुँदा समस्या भएको र उद्योगसँग सुपारी नहुँदा क्षमताभन्दा कम मात्रामा मात्र गुड्का उत्पादन गर्न बाध्य भएको बताए ।

‘हामीसँग १० दिनका लागि पुग्ने मात्र सुपारीको मौज्दात छ, तत्काल सुपारी आयातको अनुमति नपाए उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘नेपाली उद्योगलाई जोगाएर भारतीय गुड्का विस्थापित गर्नेहो भने उद्योगलाई आवश्यक कच्चापदार्थ (सुपारी) को सहज रुपमा आपूर्ति हुनुपर्याे ।’

उनले श्रीराम उद्योगले गत वर्षमात्र ६ अर्ब ४० करोड राजश्व सरकारलाई बुझाएको जानकारी गराए । उनका अनुसार उक्त उद्योगले चैत मसान्तसम्म ६ अर्ब बढी राजश्व सरकारलाई भुक्तानी गरिसकेको छ ।

उनले उद्योगलाई आवश्यक पर्ने सुपारी आयात गर्न नपाउँदा झापाका किसानको घरघरमा गएर सुपारी संकलन गर्नुपर्ने अवस्था आएको पनि बताए । ‘हामीले सरकारलाई वार्षिक रुपमा राजश्व मात्र ७ अर्ब हाराहारीमा बुझाउँदै आएका छौं, सुपारी नभएर उद्योगबन्द गर्नुपर्ने अवस्था आयो भने सरकारको राजश्वसँगै धेरै श्रमिक बेरोजगार बन्छन ।’

उनले भारतीय बजारबाट अवैध रुपमा आयात हुने गुट्खा रोक्न १५ वर्षअगाडी श्रीरामले गुट्खा उत्पादन सुरु गरेको दाबी गरे । ‘अहिले सुपारी नभएर स्वदेशी पान तथा गुट्खा उद्योग बन्द गर्नुपर्ने अवस्था आयो भने सरकारलाई ठूलो नोक्सानी हुन्छ, हाम्रो उद्योग १० दिनमात्र बन्द भयो भने नेपाली बजारमा अवैध रुपमा भारतीय गुट्खा भित्रन्छ’, उनले भने ।

देउती गुट्खा उद्योगका म्यानेजर टोपवहादुर शाही स्वदेशी उद्योगले आवश्यकता अनुसारको कच्चापदार्थ सहज रुपमा आयातको व्यवस्था हुनुपर्ने माग राखे । उनका अनुसार गुट्खा उद्योगका लागि ८० प्रतिशत सुपारी आवश्यक पर्छ ।

‘सुपारी नहुँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन्, १० दिनमात्र उद्योग बन्द भयो भने भारतीय गुड्काले नेपाली बजार भरिन्छ, अर्काे ब्राण्डका गुट्खा प्रयोग गर्ने बानी भयो भने हाम्रो उत्पादन बिक्री हुँदैन्,’ उनले भने ।

रोजगार सरकारका कारण गुम्ने

पान व्यवसायी संघका अध्यक्ष टेकबहादुर अधिकारी सरकारका कारण पान व्यवसायीको रोजगारी गुम्ने खतरा बढेको बताउँछन् । उद्योग समितिमा उनले आफै स्वरोजगार बनेका पान व्यवसायी तथा पान व्यवसायमा आवद्ध श्रमिकको रोजगारी सरकारले सुपारी आयात गर्न नदिएर गुम्ने खतरा थपिएको उनले बताए ।

उनले पान पसलसँगै हिन्दुहरुको संस्कारमा सुपारीको आवश्यक पर्ने भन्दै पान व्यवसायीलाई पनि सुपारी आयातको अनुमति दिनुपर्ने माग राखे ।

‘मैले व्यवसाय सुरु गर्दा (२०४६ सालतिर) २० रुपैयाँ किलो सुपारी पाइन्थ्यो, अहिले त्यही सुपारी १५ सय रुपैयाँ किलो पनि पाइन छाड्यो, पान पसलबाटै गुजारा चलाउने न्यून वर्गका श्रमिकको रोजगारी गुम्य यसको जवाफदेही को हुन्छ’, उनले प्रश्न गर्दै भने, ‘सरकारले रोजगारी दिन सकेको छैन््, आफै स्वरोजगार बनेका श्रमिकको पनि सरकारकै कारण रोजगारी गुम्ने खतरा बढ्यो ।’

पान तथा गुट्खा उद्योगीका कुरा सुनेपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग स्वयमलाई मागको आधारमा आयातको अनुमति दिनुपर्ने निष्कर्ष समितिकोे रहेको जनाएका थिए ।

यसअघि सिमित व्यक्तिको स्वार्थमा सिमित व्यक्तिलाई मात्र सुपारी आयातको अनुमति दिईएको भन्दै विरोध भएपछि सरकारले औद्योगीक प्रयोजनका लागि मात्र सुपारी आयातको अनुमति दिएको थियो ।

सरकारले दिएको अनुमति पारदर्शी नभएको भन्दै समितिले गत साता उद्योगको निरीक्षण गरेर मात्र अनुमति दिनेभन्दै आयातको अनुमति रोक्न उद्योग तथा वाणिज्य विभागलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशन पश्चात हाल सुपारी आयातको अनुमति रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.