कोरोना बीमाको दाबी एकमुष्ठरुपमै भुक्तानी हुन्छ : अध्यक्ष सिलवाल

  २०७८ चैत २९ गते १५:१५     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

समितिको कार्यालयमा चैत २९ गते आयोजित नव वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिव लगायत पदाधिकारीहरुसँग निरन्तर छलफल गर्नुका साथै बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको उल्लेख गरे ।

अध्यक्ष सिलवालले चालू आर्थिक वर्षमा बीमा दाबी फछ्र्यौट उल्लेखनीयरुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीहरुमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तारमा सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको समितिले जनाएको छ ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५.४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र यो अझै बढ्दै जाने बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए । त्यस्तै, बीमा समितिका निर्देशक दिनेशकुमार लालले समितिले विगतमा नभएका धेरै काम गएको एक वर्षमा नै सम्पन्न गरेको विचार व्यक्त गरे ।

बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संचालन गरेको कार्यक्रममा बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्णबहादुर थापा र बीमा समिति कर्मचारी सङ्गठनका अध्यक्ष पदमप्रसाद सोडारीले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.