हुण्डाइको दुई मोडेलका विद्युतीय कार नेपाली बजारमा : यस्ता छन् विशेषताहरू

  २०७८ चैत २५ गते १८:३२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा हुन्डाइले नयाँ विद्युतीय गाडी सार्वजनिक भएका छन् । नेपालमा हुन्डाईको आधिकारसक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली अटो बजारमा दुइटा विद्युतीय कार भित्र्याएर सार्वजनिक पनि गरिसकेको छ ।

कम्पनीले हुण्डाइका ‘कोना’ र आइओनिक–५ सार्वजनिक गरेर अहिले बजारमा खरिद बिक्री भइरहेको छ । उत्कृष्ट ढंगले डिजाइन गरिएको गाडी आधुनिक सुविधायुक्त छ । आइओनिक–५को डिजाइनलाई कम्पनीले प्रिमियम विद्युतीय गाडीकै स्वरुप भनेको छ ।

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पूर्वाधार र अपरेसनहरूमा मिडिया वित्तीय बजार प्राधिकरण (एफएएम ) यात्रा अभिमुखीकरण कार्यक्रम गरेर कारको बारेमा पनि जानकारी दिएको छ ।

कम्पनीले विगत लामो समयदेखि विद्युतीय गाडीको विक्री गर्दै आएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरेसँगै पछिल्लो समय नेपाली बजारमा सो सवारी साधनको माग पनि बढ्दो नै छ ।

विगत दुई वर्षदेखि बिक्री हुँदै आएको हुण्डाई कोना एक सफल क्रसओभर कार हो । कम्पनीका अनुसार नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने सुरक्षा र एड्भान्स कनेक्टिभिटी विशेषता पनि थप भएर आएको छ ।

कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्ट, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयूक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ । जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्ज समेत बढ्ने छ । ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।

यस्तै, आइओनिक ५को नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यो गाडी अन्य इलेक्ट्रिक गाडीको तुलनामा फरक विशेषता रहेको कम्पनीको दावी छ ।

आइओनिक–५ मा भएका विशेषताहरूका कारण गाडीबारे धेरैको चासो छ । यसको ‘डिजाइनिङ’ र ‘स्टाइल’ निकै आधुनिक हुनुका साथै आकर्षक छ ।

सुरक्षाको लागि आइओनिक–५ मा सात वटा एयरब्याग, हाइवे–ड्राइभिङ असिस्ट, रिभर्स पार्किङ, इएससीसहितको एबिएस, टायर मनिटरिङ प्रविधि, हिल असिस्ट, रिअर–भ्यू प्रविधिलगायत विशेषताहरू समावेश गरिएको छ ।

हुन्डाई आइओनिक–५ सोलार रुफ र भिजन रुफ गरी दुई भेरियन्टमा उपलब्ध छ। सोलार रुफ भेरियन्ट ५ देखि ७ प्रतिशत सोलार पावरबाटै चार्ज हुन्छ । कम्मनीका अनुसार कोनाको ६० लाखभन्दा र आइओनिकको ८० लाख रुपैयाँको हाराहारीमा मूल्य पर्छ ।

आइओनिक–५ मा ५८ किलोवाटको लिथियम आयन ब्याट्री हुने अनुमान छ । जसले १०० किलोवाट पावर र २९५ एनएम टर्क जेनेरेट गर्छ । यो विद्युतीय गाडीलाई सामान्य सर्किटबाट समेत चार्ज गर्न सकिन्छ। एक पटकको पूरा चार्जमा यसले ३ सय ६५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले विद्युतिय सवारीको माग बढेसँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । सो स्टेशनबाट निःशुल्क गाडिको चार्ज गर्न सकिने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुण्डाइ विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोवाइल उत्पादक कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.