‘दावी नतिर्ने निर्जीवन बीमा, बदनामी खेप्ने जीवन बीमा’

  २०७८ चैत २४ गते १७:५४     पोषकराज पौडेल

म कार्यालयको कामको सिलसिलामा कार्यालय बाहिर जान रुचाउँछु । सिटिजन लाइफ इन्स्योरेन्सको हाल १४७ वटा शाखा छन् । म हरेक शाखामा वर्षमा कम्तिमा २ पटक शाखामा पुगेको हुन्छु । शाखाको वास्तविक अवस्था बुझ्न, कर्मचारी, अभिकर्ता र बीमितहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न, उनीहरुको भावना बुझ्न यस्तो भ्रमण मेरो लागि अनिवार्य नै छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको मुख्य काम केन्द्रीय कार्यालयभित्र नै हुन्छ । एउटै कुर्सीमा बसेर प्रविधिको प्रयोग गरी देशभर वा दुनियाँको कुनै पनि ठाउँमा प्रशासनिक काम गर्न सकिन्छ । नीति निर्माण गर्न र कार्यान्वयन गराउन पनि सहज छ । प्रमुख कार्याकारी अधिकृतको हैसियतले मैले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थागत संरचना सहि बनाएको छु । विभागीय प्रमुखहरुको, शाखा अधिकृतहरुको क्षमता विकासमा प्रयाप्त ध्यान दिएको छु । उनीलाई अधिकार प्रत्यायोजन पनि गरेको छु । ‘म नभए कम्पनी चल्दैन’ भन्ने हिसावले नभई ‘म नभए पनि कम्पनी चल्छ’ भन्ने हिसावले प्रणालीगत विकास गरेको छु । तसर्थ म १५/२० दिन बिदामा बसेँ वा एक दुई महिना नै कार्यालय बाहिर भए भने पनि कार्यालयको नियमित काम रोकिदैन ।

नीति र योजना तयार भएपछि त्यसको कार्यान्वयनका लागि मैदानमा जानैपर्छ । मैदानमा जाँदा बनेको नीति, योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको क्रममा कस्तो समस्या देखिएको छ, त्यसलाई सम्बोधन गर्न के गर्नुपर्छ भन्ने बुझ्न, अरुलाई बुझाउन सजिलो हुन्छ । मेरो संस्थागत संरचनाले काम गरेको छ कि छैन, च्यानल नेटवर्कले काम गरेको छ कि छैन, त्यसबारे जानकारी लिन सजिलो हुन्छ । फोन वा इमेलबाट ग्राहक, अभिकर्ता वा कर्मचारीका समस्याहरु जानकारी लिन सकिन्छ, तर त्यसको विभिन्न तह पार गर्दै प्रमुख कार्यकारी अधिकृतको तहमा पुग्दा अपूर्ण वा गलत सञ्चार भएको हुन सक्छ । तसर्थ कर्मचारी, अभिकर्ता र बीमितको भावना बुझ्न र कम्पनीको योजनाको प्रभावकारी कार्यान्वयनका लागि शाखाहरु भ्रमणमा पटक पटक हिड्छु ।

कमजोर आत्मविश्वास

जीवन बीमामा सक्रिय अभिकर्ताको संख्या साढे २ लाख छन् । उनीहरुलाई यहि पेशामा रहेर जीवन बिताउँछु वा लामो समय गरिखान्छु भन्ने आत्मविश्वास छैन । बीमा अभिकर्ताले पाउने कमाई भन्दा आधा वा आधाको पनि आधा भए पनि स्थायी जागिर भए हुन्थ्यो भन्ने मानसिकता धेरै अभिकर्तामा छ । नेपालमा अभिकर्ता भएर मासिक ५० हजार कमाइरहेको मान्छे मासिक २५ हजारको लागि दुवई जान तयार भएको छ । थोरै भएपनि स्थायी आम्दानीप्रति उनीहरु बढी विश्वस्त छन् ।

बीमा क्षेत्रमा कर्मचारीहरुमा पनि दक्षता र आत्मविश्वासको कमी छ । ब्रान्चहरुको स्तर वृद्धि, कर्मचारीको क्षमता वृद्धिमा काम गर्न आवश्यक छ । उनीहरुमा सीपको विकास गर्न जरुरी छ । शाखा प्रमुखहरुमा सिक्ने, भिड्ने, अघि बढ्ने, प्रतिस्पर्धामा होमिने कसरी अरुभन्दा अघि बढ्ने भन्ने भावना जागृत हुनुपर्छ । भोलि म क्षेत्रिय म्यानेजर बन्नुपर्छ, कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नुपर्छ भन्ने सोच, जोस, आँट कमैमा देखिन्छ । उनीहरुको आकांक्षा वृद्धिमा पनि हामीले काम गर्नुपर्छ । लाइसेन्स नहुनेलाई लाइसेन्स लिन लगाउने, मिहिनेती छ तर बोल्ने कला छैन भने उसलाई बोल्ने क्षमताको विकास गर्ने, बोल्न आउँछ तर ज्ञानको अभाव छ भने उसको ज्ञान वृद्धिमा सघाउने काम गर्नुपर्ने देखिन्छ । अभिकर्ताहरुको क्षमता विकासमा पनि धेरै मिहेनत गर्नुपर्ने छ ।

आँट भएको मान्छेले सिकाउनु र आँट नभएको मान्छेले सिकाउनुमा धेरै फरक छ । कम्पनीको सीईओ गएर शाखाका कर्मचारीलाई दुई घण्टा सिकाउँदा वा अभिकर्ताहरुलाई १ घण्टा प्रशिक्षितले सिकाउँदा त्यसले पार्ने प्रभाव धेरै ठूलो हुन्छ । त्यसले उनीहरुको आत्मविश्वास धेरै माथि हुन्छ । जुनकुरा फोन वा इमेलको भरमा त्यति प्रभावकारी हुँदैन ।

भेलामा भाग लिन भत्ता

विकट क्षेत्रहरु, जहाँ आर्थिक, शैक्षिक, लैङ्गिक अधिकार र सशक्तीकरणको लागि गैरसरकारी संस्थाहरुको विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन्, त्यहाँ मानिसहरुलाई भेला गराउन कठिन छन् । उनीहरुलाई बीमा साक्षरता दिन, बीमा अभिकर्ताको तालिम दिएर लाइसेन्स दिन पनि कठिन छ । किनकी त्यस क्षेत्रमा कुनै पनि कार्यक्रममा भेला हुन आउने मानिसहरु भत्ता खोज्छन् । भत्ता नदिने कार्यक्रममा मानिसहरु सहभागी हुनै मान्दैनन् । आयोजकप्रति स्थानीयहरुको धारणा कस्तो छ भने ‘उनीहरुको आवश्यकताले हामीलाई बोलाएका हुन्, उनीहरुको काममा हामी सहभागी भैइदिनुपर्ने हो, उनीहरुले पैसा दिँदैनन् भने हामी किन जाने ?’ भन्ने छ । तर बीमा कम्पनीहरुले बीमा साक्षरता सम्बन्धी कार्यक्रम वा अभिकर्ता तालिम कार्यक्रममा भत्ता दिन सक्दैन । बीमा कम्पनीले भेलामा सहभागी हुनेलाई भत्ता दिन सक्दैन ।

७० प्रतिशत महिला


जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताहरुको भूमिका बढी हुन्छ । कर्णाली, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेशहरुमा महिला अभिकर्ताहरुको प्रवेश र टिकाउ बढ्दो छ । अधिकांश पुरुषहरु रोजगारीको लागि विदेश जाने भएर पनि होला, ग्रामिण क्षेत्रमा महिला अभिकर्ताको हिस्सा ७० प्रतिशतसम्म देख्न सकिन्छ । जुम्लामा गरिएको सानो भेलामा ११ जना मानिसहरु सहभागी भए । त्यसमा २ जना पुरुष र ९ जना महिला थिए । त्यहाँ महिलाहरुको गुनासो के रह्यो भने घरको सबै काम महिलाले मात्र गर्नुपर्छ, खेतबारीको काम पनि महिलाले गर्नुपर्छ । कर्णालीका धेरै क्षेत्रमा बिहानदेखि बेलुकासम्म छोरी मान्छेले काम गर्ने हो, छोरा मान्छेले काम गर्नु पर्दैन भन्ने मानसिकता पनि छ । त्यसैले बीमा अभिकर्ता भएर काम गर्न महिलालाई गाह्रो छ, भ्याइदैन भन्ने भनाई उनीहरुले राखे ।

विश्वासको कमी

सबै उपभोक्ताले सचेत हुन्छन्, सबै विषयबस्तु बुझेर मात्र बस्तु तथा सेवा खरिद गर्छन् भन्ने मलाई लाग्दैन । विश्वास नै बस्तु तथा सेवा खरिदको मुल आधार हो । मेरो हस्ताक्षरमा कारोबार हुने बैंक खाता ३० वटा भन्दा बढी छन् । ती सबै खाता खोल्दा मैले बैंकका फारममा लेखिएका सर्तहरु मैले पढिन । मैले बैंकमा खाता खोल्दा वा क्रेडिट कार्ड लिँदा पनि बैंकका सबै सर्तहरु नपढी, नबुझी सहि गर्छु । बैंकका कर्मचारीले भनेको ठाउँ-ठाउँमा सहि गरेर छोडिन्छ । यातायात कार्यालयले दिएको ब्लुबुकमा के-के लेखेको छ, नपढी हामी गाडी लिएर हुइकिन्छौं । कारको बिक्रेताले कारभित्र रहेको सुविधाबारे बताउँछ, हामी एक सरो सुनेर विश्वास गर्छौं र कार किन्छौं । त्यो सबै विश्वासमा चलेको देखिन्छ ।

तर बीमाप्रति जनस्तरमा विश्वासको वातावरण बनाउन सकिएको छैन । त्यसको पनि धेरै कारणहरु छन् । बीमाबारे राम्ररी नबुझाइकन वा करकापमा बीमा गराउने पुरानो अभ्यासले गर्दा यो क्षेत्र अलि बद्नाम भएको हो । बीमा दावी भुक्तानीमा गरिने ढिलासुस्ती र बीमकको कमी कमजोरीले पनि यस क्षेत्रप्रति शङ्का उपशङ्का बढी हुने गरेको पाइन्छ । बीमा गराउँदा भनिएको र बीमा पोलिसीमा लेखिएको फरक र दावी गर्दा उपभोक्ताले महशुस गरेको असन्तुष्टिले पनि बीमा बजारप्रति नकारात्मक धारणा बनेको हुनुपर्छ । अर्को, बीमाप्रति उपभोक्ताको अपेक्षा धेरै तर पाउने सुविधा कम हुँदा पनि समस्या भयो । भूकम्पपछि बीमा कम्पनीहरुले १६ अर्ब रुपैयाँ दावी भुक्तानी दिए । त्यसले बजारमा राम्रो सन्देश दिएको थियो । अहिले कोभिड बीमाको दावी नपाएपछि फेरी बीमाप्रति अविश्वास पैदा भएको छ ।

जीवन बीमा क्षेत्रमा दावी भुक्तानीमा खासै समस्या छैन । धेरै दावी सजिलै भुक्तानी हुने गरेको छ । शंकास्पद र विवादस्पद केशहरुमा थप अध्ययन गर्न समय लाग्छ । त्यस्तो केशको हदमा दावी भुक्तानी केही ढिला होला वा गलत नियतबस बीमा दावी गरेको प्रमाणित भएको अवस्थामा दावी भुक्तानी नै नपाउनु स्वभाविक हो । निर्जीवन बीमा क्षेत्रमा दावी भुक्तानीमा धेरै सुधार भएको छ । पछिल्लो समय कोभिड इन्स्योरेन्सको दावी भुक्तानी नहुँदा जीवन र निर्जीवन दुबै बीमा क्षेत्रको बद्नाम भएको छ । र, बीमाप्रति फेरि अविश्वास सिर्जना भएको छ ।

जीवन बीमाको बारेमा अन्तरक्रिया कार्यक्रम गर्दै गर्दा सहभागी उठेर बोल्छन् र भन्छन्- ‘कोभिडको बीमा पाइँन, मेरो गाडीको इन्स्योरेन्स पाइँन, दावी भुक्तानी पाउन धेरै गाह्रो भयो ।’ बीमा समितिले आयोजना गरेको जीवन र निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरु सहभागी भएको कार्यक्रमहरुमा पनि निर्जीवन बीमामा समस्या धेरै छन्, जीवन बीमा कम्पनीहरुको समस्या बिरलै मात्र उठ्ने गरेको छ ।

(सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.