लगानीकर्ताको चित्त बुझाउनु सीईओको लागि सबैभन्दा पिडादायी छ-अजय मिश्र

  २०७८ चैत २३ गते २०:३८     विकासन्युज

अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत -नर्भिक इन्टरनेशनल हस्पिटल
हरेक मान्छेको स्वभाव, रुची तथा जीवनशैली पृथक हुन्छ । संस्थामात्र नभई मान्छेले बेलाबेलामा पेसा पनि परिर्वतन गर्छन् । सायद रुची र खुसीका कारण पनि हुन सक्छ । यस्तैमध्येका एक पात्र हुन्, अजय मिश्र । जो कुनै बेला सरकारी जागिरे, विदेशी नियोग, सञ्चार माध्यम, बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी तहमा रहेर काम गरेका थिए । र, अहिले नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । प्रस्तुत छः मिश्रसँग पेसागत रुची, चुनौतीसँगै नर्भिक अस्पताल र अर्थतन्त्रमा देखिएको अस्थिरता लगायतका विषयमा विकासन्युजले गरेको विकास वहस ।

तपाई धेरै संस्थासँग जोडिए काम गर्नुभयो, यसरी बारम्बार संस्था परिर्वत गर्नुको कारण के हो ?

म सरकारी विद्यालय र सरकारी कलेजबाट विद्या हासिल गरेको व्यक्ति हुँ । घरको वातावरणको कुरा गर्ने हो भने सबै जना सरकारी जागिरे । परम्परादेखि नै घर परिवार सबै सरकारी सेवा सुविधामा समर्पित । साढे २१ वर्षको उमेरमा म सरकारी लेखा अधिकृतको रूपमा सेवा प्रवेश गरे । किताब पढेको थिए, लेखा अधिकृतमा जागिर खान गए । त्यो बेला सरकारी लेखा प्रणाली मैले पढेको नै रहेनछु । पास भएर जागिर खान गए तर, त्यो सिस्टममा घुलमिल हुन निकै समय लाग्यो ।

सरकारी प्रणाली बुझ्न र व्यवहारमा लागू गर्न मलाई निकै समय लाग्यो । बिस्तारै काम गर्दैन थिए तर, अधिकृत पोस्टमा मैले गर्न सकिन । सरकारी निकायको काम गर्ने वातावरण मलाई आकर्षित गर्न सकेन । साढे २१ वर्षको युवा जोस जागर धेरै, के–के न गर्न सकिन्छ भन्ने भयो । त्यहाँ धेरै समयसम्म अट्न सकिनँ । मन उकुसमुकुश भयो । त्यसपछि मैले सरकारी जागिर छोडे । जागिर छाडेको केही महिनापछि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडीपी) आकर्षक प्रस्ताव आयो र त्यसमा काम गर्न थाले ।

आज हाम्रो समाजमा लाखौं युवा सरकारी जागिर कसरी खाने भनेर लोकसेवा परीक्षाको लागि भिडिरहेका छन्, उनीहरूको लक्ष्य नै सरकारी जागिर खानु हो । उनीहरूलाई तपाई के भन्न चहानु हुन्छ ?

जागिर खादा व्यक्तिको स्पष्ट उद्देश्य हुन्छ । म जागिर खान बाध्य छु । किनकि त्यहाँ म आर्थिक रूपमा निर्भर छु । त्यति खेर म धेरै चिजमा सम्झौता गर्छु । त्यो जागिर मेरो जीविको पार्जन हो भनेर मैले वातावरण अनुकूल नभए पनि त्यसमा म लामो समयसम्म रहन्छु । अर्काे पक्षबाट हेर्दा आर्थिक निर्भरताको लागि म जागिर खान बाध्य छैन । म जागिर सन्तुष्टिको लागि खादै छु भने परिवर्तन धेरै हुँदो रहेनछ ।

म पनि साढे २१ वर्षको उमेरमा लेखा अधिकृतको जागिर छोड्ने आँट् गर्दिन थिए होला । किनछोडे भने अन्य विकल्पहरू मसँग थिए । म त्यसमा आर्थिक रूपमा निर्भर थिइनँ । अर्काे राम्रो अवसर पाइन भने मेरो मास्टर पढ्न बाँकी नै थियो । त्यो दुइटै अप्सन देखेपछि म खुल्ला रूपमा बाहिर निस्किए । संयोग नै भनौं, म कहिले पनि खाली बस्नु परेन ।

३२ वर्षको प्रोफेसनल करियरमा नर्भिक हस्पिटल मेरो लागि १४ औं संस्था हो । त्यसले पनि के संकेत गर्छ भने कामप्रति सन्तुष्टि हुँदैन भने त्यो काम म बन्द गर्छु । हैन भने एउटै संस्थामा रहेर पनि २० वर्षसम्म जागिर खाइन्थ्यो । सबैभन्दा बढी एउटा संस्थामा ७ वर्ष काम गरे । मलाई लाग्छ कि, मैले त्यो संस्थामा गर्नुपर्ने काम जति गरिसकियो, त्यो संस्थामा थप योगदान दिन सक्दिन भन्ने लागेपछि छाडेर हिड्ने हो ।

मैले पनि त्यो संस्थालाई फाइदा दिने लिमिटेसन हुन्छ । त्यहाँ मेरो काम सकियो, अर्काेमा लागे हुन्छ भन्ने मेरो सोच हुन्छ । सीईओ भएर नै काम गरेको १५ वर्ष भइसक्यो । एकातिर मेरा साथीहरू बैंकको सीईओको रूपमा २ कार्यकाल काम कम भयो भनिरहेका छन् । म चाहिँ बैंकको सीईओेको एक कार्यकाल पर्याप्त हो भन्छु । किनभने ४ वर्षपछि कुनै व्यक्तिले जति भ्यालु एड गर्न सक्छ, त्यसपछि धेरै बाँकी रहँदैन भन्ने मेरो बुझाइ हो ।

युनडीपीको प्रजोक्टमा के काम गर्नुभयो ?

युनडीपीबाट प्लान इन्टरनेसनलमा गरिवी निवारण परामर्शदाता भएर गएँ । ५ वर्ष प्लान इन्टरनेसनल र युनडीपीमा बिताए । मेरो जीवनको सबैभन्दा ठूलो वर्ष लर्निंग पोइन्ट त्यो ५ वर्ष हो । सो वर्षभित्रमा नेपालका गाउँगाउँमा भएका गरिबी, त्यसका कारणहरु, निराकरणको उपायको बारेमा गहिरिए अध्यान गर्न अवसर पाएँ ।

अलि कति राजनैतिक घटनाक्रमहरु बदलिए, काठमाडौं बाहिर सुरक्षाको चुनौति बढ्यो । विकासको काम गर्नको लागि असहजता भयो । काठमाडौं फर्किने मनासयमा म नेपाल टेलिभिजनमा आएँ । मेरो जिन्दगीमा सबैभन्दा सन्तुष्ट भएर काम गरेको नेपाल टेलिभिजनको ३ वर्षे कार्यकालमा हो । आफ्नो निर्णय सत प्रतिशत गर्न सक्ने, इच्छा लागेको कुरा गर्न सक्नेर स्रोत माथिको सत प्रतिशत कन्ट्रोल हुने सीईओ पदमा मैले १५ वर्ष काम गरें । तर, सीईओ नभए पनि नेपाल टेलिभिजनको त्यो ३ वर्षे कार्यकाल मेरा लागि सबैभन्दा बढी सन्तुष्टीको समय थियो ।

नेपाल टेलिभिजनमा जिम्मेवारी के थियाे ?

नेपाल टेलिभिजनमा सुरु चोटी म त्यहाँको प्रशिक्षण र योजना विभाग हेर्थे । नेपाल टेलिभिजनको त्यो विभाग मैले नै स्थापना गरेको भन्दा पनि हुन्छ । युनेस्कोसँग सहकार्य गरी प्रशिक्षणको लागि ५५ हजार डलर अनुमोदन पनि गराइयो । नेपाल टेलिभिजन नोक्सानमा गइरहेको थियो, मलाई व्यापार महाशाखा पठाइयो । नेपाल टेलिभिजनको इतिहासमा व्यापारमा फाइदा भएको पहिलो पटक म व्यापार महाशाखामा भएको समयमा नै हो । त्यो बेला बोनस पनि ख्वाइएको थियो ।

त्यो बेला म शाखा प्रमुख भए पनि मैले प्रस्ताव गरेका कुनै पनि योजना तथा कार्यक्रम रोकिएन । मैले ल्याएको प्रस्तावलाई टेलिभिजनको प्रबन्धक, महाप्रबन्धकले रोक्ने प्रयास गरेनन् । मैले चाहेको हिसाबमा त्यहाँ काम गर्न पाएँ । जहाँ पदभन्दा मर्यादा तथा अवसर पाउनु हुन्छ त्यहाँ सन्तुष्ट हुनुहुन्छ । अहिले पनि नेपाल टेलिभिजनमा जहाँ म माइत गएको अनुभव गर्छु । मैले उक्त सञ्चार माध्यम छोडेको २० वर्ष भइसक्यो । आज पनि मैलेसँगै काम गरेका सहकर्मी साथीहरूबाट त्यही सम्मान, त्यही माया पाउँछु ।

जो सञ्चार क्षेत्रमा क्रियाशील हुनुहुन्छ उहाँहरू त्यही सन्तुष्टि देखिँदैन तर जो सञ्चार क्षेत्रबाट बाहिर जानुभयो उहाँहरू मिडिया नै राम्रो थियो भन्नुहुन्छ । यो किन यस्तो हुँदो रहेछ ?

२० वर्ष अगाडि मिडिया छाडा पनि थिएन । कन्टेन्ट पनि बेच्दैन थिए । त्यो बेला इमानदारिता र अनुशासन थियो । आज धेरै मिडियाको कन्टेन्टमा प्रश्नहरू देखिराखेको छु । अनुसासन भन्ने चिज नै छैन । त्यसमा योग्यता, विज्ञताका चिजहरू ओझोलमा पर्दै गए ।

३२ वर्षमा १४ वटा संस्थाको परिवर्तन गर्नुभयो कुन कुन संस्थामा काम गर्नुभयो ?

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी), जिल्ला शिक्षा कार्यालय, युएनडीप, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन, एभिन्यूज टेलिभिजनको महाप्रबन्धक भएर काम गरे । यसपछि माछापुच्छ्रे बैंक, प्रुडेन्सियल फाइनान्सको सीईओ भएपछि त्यसलाई एनएमबीमा मर्ज गरेर सिद्धार्थ डेभलपमेन्ट बैंकको सिईओ बने । सिद्धार्थबाट जनता बैंकको डेपुटी सिइओ भएर गए । जनता बैंकपछि युनाइटेड फाइनान्सको सिईओ भएँ । र, हाल नर्भिक अस्पतालमा काम गरिरहेको छु ।

बैंकतर्फ जुन–जुन संस्थामा रहेर काम गर्नुभयो, ती संस्थाहरुको अस्तित्व नै रहेनन् नि ?

प्रुडेन्सियल फाइनान्समा मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिदा त्यो संस्था बन्द हुने अवस्थामा थियो । केही गुनासो र सरकारी मुद्दाहरू थिए । नकारात्मक ब्यालेन्ससिट थियो, त्यो संस्था टिकाइरहन गाह्रो थियो । सेयरहोल्डर र निक्षेपकर्ताको हितको लागि त्यो संस्थाको मर्जरको विकल्प थिएन । मर्जरमा लानु पर्ने बाध्यता थियो ।

प्रुडेन्सियल फाइनान्स एनएमबीमा लगिसकेपछि सिद्धार्थ बैंकको सीइओ भएँ । सिद्धार्थको म सीइओ हुँदा बैंकिङ्ग कसुरका केही मुद्धा चालिरहेको थियो । सेयरको मूल्य ६० रुपैयाँमा झरेको थियो । राष्ट्र बैंकले कारबाही गर्ने अवस्थामा पुगेको संस्था हो । मैले २ वर्षभित्र अत्यधिक रिटन पनि सेयर होल्डरलाई खुवाको हुँ । क्यापिटल बढाएर २ सय ५० करोड रुपैयाँ पनि पुर्याएको थिएँ । शाखा सञ्जाल पनि ह्वातै बढाएँ । त्यतिखेर समयमा डेभलोमेन्ट बैंक मध्ये चौथो नम्बरमा पुयाँइएको हो । त्यति विकास भइसकेपछि सेयर होल्डरको चाहना अनुसार वाणिज्य बैंकमा विकास बैंक मर्जर गर्दा सबैभन्दा बढी मूल्य लिएर मर्जर भएको बैंक सिद्धार्थ डेभलपमेन्ट बैंक नै हो ।

हेर्दा १ः१ को मर्जर हो । तर सिद्धार्थले ६० प्रतिशत हकप्रद गरेर जनता बैंकले ५० प्रतिशत हकप्रद रद्द गरी मर्जर गरेका हुनाले सेयर होल्डरले एक सय ४० बराबरको मूल्य पाएको मर्जर हो । सिद्धार्थ विकास बैंकको रूपान्तरणको लागि त्यो मर्जर आवश्यकता थियो । जनता बैंक पनि ग्लोबल बैंकमा जानु आवश्यक थियो । जनता बैंकको पनि आफ्नै किसिमको कमिकजोरीहरु थिए । बढ्नको लागि लिमिटेशन थियो, ग्लोबलमा गएपछि अवसर चाहिँ खुलेको हो ।

यसपछि म युनाइटेड फाइनान्समा गएँ । यो बलियो र पुरानो फाइनान्स कम्पनी हो । तर सानो थियो । यसको फोकस चाहिँ हायर पर्चेज कर्जामा थियो । समय बदलियो र कोभिडको पनि प्रभाव बढ्यो । त्यसपछि युनाइटेडलाई मर्जरको विकल्प रहेन । त्यसपछि नेपालको सबैभन्दा ठूलो बैंकसँग मर्जर गर्यौं ।

मर्जर गर्नु गराउनुमा नियमकको प्रेसर, सेयर धनीको चाहना र दबाब कति काम गर्याे, तपाईँ जस्तो प्रोफेशनल मान्छेको भूमिकाले कति काम गर्यो ?

म आफै पनि ६ वटा मर्जर प्रोशेसमा प्रत्यक्ष संलग्न भएँ । व्यक्तिगत रूपमा भन्दा सबैभन्दा धेरै मर्जर मैले नै गराएको हुँ । म संलग्न भएर गरेको कुनै मर्जर नियमक निकायको प्रेसरले गराएको हैन । सेयर होल्डरको हितको लागि बढी भन्दा बढी रिटर्न दिन सक्ने गरी मर्जर गरेका हौं । जे जति मर्जर भए, त्यो सबै प्रोफेसनल र नितान्त सेयरधनीको चाहानामा भएका थिए ।

मर्जरमा तपाईले जति भूमिका खेल्नुभयो त्यसमा तपाई पूर्ण सन्तुष्ट रहनुभयो ?

म पूर्ण सन्तुष्ट रहेँ । त्यसको कारण छ । कारण के हो भने मर्जर हुने संस्थामा म जागिर खान जान्न भन्थें । त्यसले मर्जर सफल हुन सहयोग गर्दाेरहेछ । मर्जर भाँडिने २ वटा कारण छन् । एउटा सीईओको व्यवस्थापन र अर्काे बोर्डको व्यवस्थापन । मैले भन्ने गरेको छु मर्जपछि मलाई केही पनि चाहिँदैन । जनता बैंक मेरो बाध्यता र परिवेश हो । जनता बैंकले एक वर्षको लागि भएपनि आइदिनु पर्याे भनेर मात्र म त्यहाँ गएको हुँ ।

बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तथा नेतृत्व तहमा पुग्ने चाहाना धेरेको हुन्छ, यो जिम्मेवारी सम्हाल्दाका सुखद पक्षहरू केके रहेछन् र यसका जोखिमहरू केके हुन् ?

मेरो लागि सुखद पक्ष फरक दृष्टिकोणले पनि छ । म तराइको मान्छे । बैंकिङ क्षेत्रको उपल्लो ओहोदामा बिरलै भेट्नु हुन्छ । म फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएँ, सी क्लासमा केही व्यक्तिहरु तराईबाट सीइओ बन्नुभएको थियो । बी क्लासको पनि सीईओ भएँ, बी क्लासमा एउटा सरकारी संस्थामा मात्रै तराईबाट सीईओ हुनुभएको थियो । म ए क्लास (वाणिज्य बैंकको) को बैंकको डेपुटी सीईओ भएँ । तराईबाट ए क्लासको बैंकको डेपुटी सीईओ हुने म एक जना मात्र हुँ । म डी क्लास (लघुवित्त) को वित्तीय संस्थाको डाइरेक्टर भएँ । यस्तो संस्थाको डाइरेक्टर तराईबाट धेरै जना हुनुभएको छ । म राष्ट्र बैंकले तोकेको ए, बी, सी र डी गरी चारै प्रकारको बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी भूमिकामा पुग्न सफल भएँ ।
मैले जे जति संस्था समाले, त्यो सबै बिग्रेको संस्था समालेको हुँ । त्यो बिग्रेको संस्थालाई बनाएर इज्जतदार भूमिकामा ल्याएर छोडेको छु । मलाई यो विषयमा पूर्ण सन्तुष्टी छ । अहिले पनि अलिकति संस्था बिग्रेको र मर्जर चाहिएको रहेछ भने मलाई खोज्दै आइरहेका छन् । आज पनि मलाई मर्जर गर्नुपर्ने छ, आउनुहोस् भनेर भन्छन् ।

चुनौतीको कुरा गर्नुभयो, बैंकिङ क्षेत्र बढो चुनौतीको क्षेत्र हो । यसलाई चुनौतीमूलक बनाएको पनि हामी बैंकरले हो । हामी प्रोफेसनल्ली म्यानेज गर्छाैं भन्छौं संस्थालाई । हामी सर्टटर्म भिजनले काम गर्दैछौं । हामी ३ महिना टाल्ने, ६ महिना टाल्ने, एक वर्ष टाल्ने हिसावले काम गर्छाैं । दीर्घकालिन रुपमा काम गर्दैनौं । जस्तो कि छिटै तरलता फालाफाल हुने र नपाएर हैरान हुने अवस्था जुन छ, त्यसमा आधा दोष बैंकरको हो, आधा मात्रै नीतिगत लगायतको हो । आफ्नो सम्पत्ति र दायित्वको व्यवस्थापन त आफैले गर्न सक्नु पर्यो ।

बैंकिङ क्षेत्र पछिल्लो ४ वर्षमा बढी चुनौतिपूर्ण भयो । किनभयो भने हाम्रा सहकर्मी साथीहरू नै सय मिटरको दौडमा होमिए । बैंकिङ सय मिटरको दौड हैन । तर, सबै संस्थामा सञ्चालक समितिको प्रेसर कस्तो आयो भने त्यो बैंकले सय मिटरको दौड दौडे जस्तो गरी तिमी पनि दौड न भनियो । अनि हामी सबैजना दौडन थाल्यौं । समस्या त्यहाँबाट सुरु भयो । हामीले सिस्टमलाई धरापमा पुर्याएका छौं ।

बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत जिम्मेवारीमा जो बस्नु भएको छ, उहाँहरूको पिडा केके हुन् ?

संस्थाका विभिन्न स्टेकहोल्डर मध्ये लगानीकर्ता पनि एक हुन् । लगानीकर्ताको चित्त बुझाउनु सबैभन्दा पिडादायी छ । किनभने सबै संस्थाको आफ्नै स्ट्रेन्थ हुन्छ । लगानीकर्ताले संस्थाको स्ट्रेन्थ नहेरी, जुन १, २, ३ भन्ने नम्बरिङ छ, त्यसमा तुलना गरिदिन्छन् ।

बजारले बैंकरहरुलाई हेर्ने दृष्टिकोण, विशेष गरी सीइओहरुप्रति सकारात्मक छैन । किनभने इनले धेरै तलब खान्छ, धेरै सुविधा लिन्छन्, ऋणीहरूलाई लुटेर पैसा कमाएर धेरै तलब खाइरहेएका भन्ने छ । बैंकरहरुको तलब धेरै भयो भनेर प्रधानमन्त्रीको मुखबाट पनि सुनिरहेका हुन्छौं । बैंकले राम्रो प्रगति गरेको छ, सेयरधनीलाई प्रतिफल दिएको छ, त्यसैकारण त उसले बढी सेवा सुविधा लिएको हुन्छ । तर यी राम्रा पक्षमा कसैले बोल्दैन, लेख्दैन । सोझै आलोचना मात्रै हुन्छ । यही यो देशको बिडम्बना यो पनि हो ।

बैंकरप्रति हेर्ने दृष्टिकोण राम्रो छैन । सरकारी निकायबाट काम लिन बैंकलाई ज्यादै कठिन हुन्छ । जस्तो कि कुनै बैंकले कुनै ठाउँमा शाखा खोल्यो भने त्यहाँ विद्युत चाहिन्छ । तर, सिधा प्रक्रियाबाट विद्युतको लाइन जोड्न सकिदैन । ऋण लिन दिनको लागि जग्गा रोक्का फुक्का राख्नुपर्ने हुन्छ । सिधा तरिकाले मालपोतमा हाम्रो काम हुँदैन । यातायातमा गाडीको नामसारीको काम कानुनी व्यवस्था अनुसार हुँदैन । त्यो हाम्रा लागि ज्यादै पिडादायी क्षण हो । किनभने यस्ता खर्च मैले कहाँबाट व्यवस्थापन गर्ने भन्ने पीडा हुन्छ । कहाँबाट व्यवस्थापन हुन्छ भनेर मैले धेरै भन्न मिल्दैन ।

अर्काे, नियामकसँगको सम्बन्ध पनि निकै पीडादायी हुन्छ । बैंकका म्यानेजरलाई बैंक व्यवस्थापन गर्न धेरै समय दिन सकिदैन । आधा समय त यस्ता सरोकारवालालाई मिलाउँदैमा जान्छ ।

धेरै मान्छेले भन्ने गर्छन् नर्भिक अस्पताल धेरै महँगो छ तर सो अस्पतालमा मानिसहरूको भिड पनि लागेका छ । महँगो पनि, भिड पनि किन भइरहेको छ ?

तपाई नर्भिकमा आउनु भयो भने ८० प्रतिशत बिरामीहरू मध्यम वर्गीय भेट्नुहुन्छ । ५ प्रतिशत न्यून वर्गीय र १० देखि १५ प्रतिशत मात्र सम्पन्न वर्गीय भेट्नु हुन्छ । त्यो भनेको हाम्रो अस्पतालको सेवा मध्यम वर्गको लागि उपयुक्त छ । नर्भिक कसरी महँगो भन्ने छाप पर्यो भनेर बुझ्नु जरुरी छ । यो अस्पताल २८ वर्ष अगाडि स्थापना भएको थियो । त्यो समय प्राइभेट ठूला अस्पताल थिएन । सरकारी अस्पताल मात्र थिए । अहिले नर्भिक महँगो भनिरहेका छौं, यस्तै २/४ वटा अस्पताल छिरौं र अन्य अस्पतालको तुलनामा नर्भिक सस्तो रहेछ भन्ने अवस्थामा आइपुग्नु हुन्छ । २० वर्ष अगाडि नर्भिकमा हुनेखाने मात्र उपचारका लागि आउँथे । अहिले सबै मध्यम वर्गीय उपचारको लागि आउँछन् । त्यसैले यो अस्पताल सबैको लागि उपयुक्त छ ।

कुन कुन कारणले गर्दा यस अस्पतालमा आम सर्वसाधारण आकर्षित भइरहेका छन् ?

३ वटा कारणले गर्दा यो अस्पतालमा सर्वसाधारण आकर्षित भएका छन्, एउटा नर्भिकको लोकेशन, अस्पतालमा भएको केही ख्याति प्राप्त डाक्टर र ब्रान्ड इमेजको कारण गर्दा यो अस्पताल नागरिकहरू आकर्षित भएका छन् ।

यस अस्पतालमा तपाईको नेतृत्वमा के परिवर्तन हुन्छ ?

बिरामी र अस्पतालबीचको सञ्चार प्रणालीको सम्बन्धलाई अलिक बढाउने, सेवा विस्तार गर्ने, काठमाडौंर बाहिर पनि यसको पहुँच पुर्याउने योजना बनाएका छौं ।

नर्भिकको साधारण सेयर निष्काशन प्रक्रिया कहाँ पुग्यो ?

आगामी आर्थिक वर्ष २०७९/८० मा यसको प्रक्रिया सम्पन्न हुन्छ । किन भने बुक बिल्डिङको प्रक्रियाबाट अगाडि बढ्छौं । यसका आवश्यक तयारीहरू भइरहेका छन् । २० प्रतिशत सेयर पब्लिकमा लाने हाम्रो सोच हो । समयले यसलाई परिवर्तन गर्न सक्छ ।

अस्पतालको क्षेत्रमा सरकारले पनि ठूलो लगानी गरिरहेको छ, निजी क्षेत्रबाट खुलिरहेका अस्पतालहरू लगानीको हिसाबले कति सुरक्षित छन् कति नाफामूलक छन् ?

अन्य क्षेत्रको तुलनामा अस्पतालहरु नाफामुलक चाहिँ छैन । सरकारका अस्पतालहरू सुविधा सम्पन्न छन् । लगानी पनि अस्पतालको क्षेत्रमा सरकारले निकै गरेको छ । तर, देशको आवश्यकता अनुसारको सेवा सुविधा भने पुर्याउन सकेको छैन । सरकारी अस्पतालमा अपरेसनको पालो कुर्नु पर्याे भने ३ देखि ६ महिनासम्म लाग्छ । बिरामीले त्यो समयसम्म कुर्न सक्दैन बाध्य भएर निजी अस्पताल नै जानु पर्यो । सरकारीमा लोड धेरै छ लोड थेग्न सकेको छैन ।

One comment on "लगानीकर्ताको चित्त बुझाउनु सीईओको लागि सबैभन्दा पिडादायी छ-अजय मिश्र"

  • Janata says:

    “सिधा प्रक्रियाबाट विद्युतको लाइन जोड्न सकिदैन । ऋण लिन दिनको लागि जग्गा रोक्का फुक्का राख्नुपर्ने हुन्छ । सिधा तरिकाले मालपोतमा हाम्रो काम हुँदैन । यातायातमा गाडीको नामसारीको काम कानुनी व्यवस्था अनुसार हुँदैन । त्यो हाम्रा लागि ज्यादै पिडादायी क्षण हो । किनभने यस्ता खर्च मैले कहाँबाट व्यवस्थापन गर्ने भन्ने पीडा हुन्छ । कहाँबाट व्यवस्थापन हुन्छ भनेर मैले धेरै भन्न मिल्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.