निर्माण सामाग्रीमा भएको मुल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी : महासंघ

  २०७८ चैत १५ गते १८:३९     विकासन्युज

काठमाडौं । इन्धन लगायत निर्माण सामाग्रीहरूमा अत्यधिक मात्रामा भएको मुल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योग धाराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

सोमबार काठमाडौंमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए । मुल्यवृद्धि नियन्त्रणसहित राष्ट्रिय भेलाले गरेका निर्णयहरू आगामी एक हप्ताभित्र कार्यान्वयन नभए महासंघ आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने अध्यक्ष सिंहले बताए ।

महासंघले यही बिहीबार नेपाल सरकारका मुख्य सचिवलाई, प्रदेश महासंघले प्रदेश प्रमुखको कार्यालय र जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित् जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय भेलाले पारित गरेका निर्णयहरु कार्यान्वयनका विषयमा ज्ञापन–पत्र बुझाउने जनाएको छ ।

मुल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यवसायीले मुल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं.–२ तुरुन्त जारी गर्नु पर्ने महासंघको माग छ ।

कोभिड—१९, अप्रत्यासित मात्रामा भएको मुल्यवृद्धि लगायत कारणले यही चैत्र मसान्तसम्म निर्माण कार्य सक्न असम्भव भएकाले २०७९ वैशाख १ गतेदेखि लागू हुने गरी २०७९ चैत्र मसान्तसम्म सबै परियोजनामा एकमुष्ठ एक वर्ष म्याद थप हुनुपर्ने महासंघका अध्यक्ष रवि सिंहले बताए ।

साथै, साना निर्माण व्यवसायीहरूको वृद्धि विकासका लागि पाँच करोड रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिद योग्यता निर्धारण गर्न नहुने महासंघको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.