अस्ट्रेलिया छात्रवृत्ति : ६० लाख रुपैयाँ बढीको सेवा सुविधा, स्वास्थ्य बीमा पनि

  २०७८ चैत १४ गते १८:५२     डोमी शेर्पा

काठमाडौं । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा निःशुल्क स्नातकोत्तर पढ्नको लागि हरेक वर्ष छात्रवृति दिँदै आएको छ । यस वर्ष पनि अस्ट्रेलियाले स्नातकोत्तर अध्ययनको लागि ‘अस्ट्रेलिया अवार्ड स्कलरसीप’ खुला गरेको हो ।

अस्ट्रेलियाको सरकारले अस्ट्रेलिया अवार्ड स्कलरसीपमार्फत् हरेक वर्ष नेपाली विद्यार्थीहरुलाई लिने गरेको छ । नेपाली विद्यार्थीहरुको आर्थिक र सामाजिक विकाससँग सम्बन्धित विषयमा छात्रवृति दिँदै आएकोमा यस वर्ष पनि छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

काठमाडौं महाराजगंजस्थित अस्ट्रेलिया अवार्डको कार्यालयका अनुसार पछिल्लो ६० वर्षदेखि अस्ट्रेलियाले दिँदै आएको छात्रवृत्तिमा ११ सयभन्दा बढी नेपाली विद्यार्थीहरु यस छात्रवृत्तिबाट लाभान्वित भइसकेका छन् ।

स्नातक तह पूरा गरेर आफ्नो क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव भएकाले सो छात्रवृत्तिमा आवेदन दिन पाउने छन् ।

नेपालका लागि अस्ट्रेलिया अवार्ड छात्रवृत्ति विपद् जोखिम न्यूनीकरणको लागि विकास क्षेत्रहरूको अध्ययन कार्यक्रम, आर्थिक विकास, शिक्षा, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, शासन, स्वास्थ्य, प्राकृतिक स्रोत व्यवस्थापन र दिगो पूर्वाधार विकासको लागि प्रदान गरिन्छ ।

अस्ट्रेलिया अवार्डको प्राथमिकतामा महिला सशक्तिकरण, अपाङ्गता भएका र विपन्न सामाजिक समूहका व्यक्तिहरू पर्ने सूचनामा उल्लेख छ ।

आवेदन दिन कसले पाउँछन् ?

यो छात्रवृत्तिको आवेदनको लागि १८ वर्षभन्दा माथिको नेपाली नागरिक हुनु पर्नेछ । अस्ट्रेलिया वा न्यूजिल्यान्डको स्थायी बसोबासको तयारी गरिरहेको वा पिआर पाइसकेको व्यक्तिसँग विवाह गर्नेले भने यस छात्रवृत्तिमा आवेदन दिन पाउने छैनन् ।

यस्तै, अस्ट्रेलियामा स्थायी बसोबासको तयारी गरिरहेका र सैन्य कर्मचारीले पनि यस छात्रवृत्तिको लागि आवेदन दिन पाउँदैनन् ।

यो छात्रवृति पाउनका लागि स्नातककोत्तर तह अध्ययनको लागि स्नातक तह पढिसकेको वा पढिरहेको हुनपर्नेछ । स्नातक तह पास गरेर कम्तीमा पनि ३ वर्षको काम गरेको अनुभव हुनुपर्दछ । अथवा दुई वर्षको मास्टर डिग्रीसहित ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

यस्तै, आइएलटिएसमा ६.५ अंक वा टफेलमा ८४ अंक जसमा हरेक सबटेष्टहरुमा २४ अंक वा पिटिईमा कम्तीमा पनि ५८ र नन कम्युनिकेटिभ स्किलमा कम्तीमा ५० अंक ल्याएकाले पनि छात्रवृति पाउने व्यवस्था छ ।

यस्ता छन् सेवा सुविधा

यस छात्रवृत्ति अन्तर्गत विद्यार्थीहरुले दुई वर्षमा खान बस्न, पढ्नेदेखि अन्य सुविधाहरु पाउँछन् । उनीहरुले शिक्षण शुल्क, फर्किने हवाइ भाडा, जीवनयापन खर्च र चिकित्सा बीमाको सेवा पनि पाउनेछन् ।

अस्ट्रेलिया अवार्डको नेपालीस्थित कार्यलयका अनुसार एकजना विद्यार्थीका लागि उनीहरुले पढ्ने विषय अनुसार लगानी लाग्ने भएपनि औसतमा ६० लाखभन्दा बढी बराबरको सेवा सुविधा पाउनेछन् ।

अस्ट्रेलिया अवार्ड छात्रवृत्ति पाउनेहरुले अस्ट्रेलिया अवार्ड छात्रवृत्तिका सर्तहरू पालना गर्ने अस्ट्रेलियाको राष्ट्रमंडलसँग सम्झौता गर्नुपर्नेछ । उनीहरुले आफ्नो छात्रवृत्ति पूरा गरेपछि कम्तीमा दुई वर्षको लागि अष्ट्रेलिया छोड्नु पर्नेछ ।

ग्लोबल रिच कन्सल्टेन्सीका प्रमुख नारायण बजाजका अनुसार दुई वर्ष स्नातकोत्तर अध्ययन गर्न कम्तिमा पनि शिक्षण शुल्क ६० लाख रुपैयाँ बढी लाग्छ । यस्तै, स्वास्थ्य बीमाको लागि दुई वर्षको १५ सय अस्ट्रेलियन डलर लाग्छ । यसअर्थ अस्ट्रेलिया सरकारले प्रदान गर्ने यस छात्रवृत्ति ६० लाख बढीको रहेको छ । अस्ट्रेलिया अवार्डको लागि आवेदन दिने अन्तिम मिति आगामी वैशाख १६ गते तोकिएको छ ।

One comment on "अस्ट्रेलिया छात्रवृत्ति : ६० लाख रुपैयाँ बढीको सेवा सुविधा, स्वास्थ्य बीमा पनि"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.