प्रतियुनिट ३८ रुपैयाँमा किनेको बिजुली ९ रुपैयाँमा बेच्दा प्राधिकरणलाई मासिक ८ अर्ब घाटा

  २०७८ चैत १० गते १५:३७     विकासन्युज

काठमाठौं । नेपाल प्राधिकरणलाई ३५ दिनमा ८ अर्ब रुपैयाँ बढी घाटा हुने देखिएको छ । भारतबाट महँगो मूल्यमा बिजुली खरिद गर्दा प्राधिकरणलाई मासिक ८ अर्ब घाटा हुने देखिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महँगोमा बिजुली किनेर सस्तोमा बेच्नु पर्दा प्राधिकरणलाई ३५ दिनमा ८ अर्ब नोक्सान हुने बताए ।

‘अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको अवस्था छ, भारतमा पनि बिद्युतमा संकट देखिँदा केही समस्या उत्पन्न भएकाे हो, यसले पनि हामीलाई प्रतियुनिट ३८ रुपैयाँमा किन्नु पर्ने अवस्था आयो, यसले प्राधिकरणलाई दैनिक २२/२३ करोड रुपैयाँ बराबर घाटा हुन्छ, मासिक ८ अर्ब सम्म नाेक्सान हुन्छ,’ उनले भने ।

उनका अनुसार प्राधिकरणले महँगोमा बिजुली किनेर देशको बिद्युत आपुर्ति सहज गर्नेछ । उनले हालको समस्या छोटो अवधिको रहेको बताए ।

‘यो डेढ महिनाको लागि मात्रै समस्या हो, त्यसपछि हामीले नै विद्युत उत्पादन गर्न सक्छौं, तत्काल नोक्सानमा रहेपनि हामी विद्युत आपुर्ति सहज बनाइरहेका छौं, यसमा सरकारले पनि केही सहजीकरण गर्ला,’ उनले भने ।

भारतले प्रतियुनिट भारु २० रुपैयाँमा बिजुली किन्न प्रस्ताव गरेको छ । २० रुपैयाँ भारतीय रुपैयाँको ३२ रुपैयाँ नेपाली हुन्छ । घिसिङका अनुसार ६ रुपैयाँ अतिरिक्त चार्ज तिर्दा नेपालले प्रतियुनिटको कुल ३८ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य अकाशिएको हो । त्यसको असर नेपालमा पनि परेको र यसलाई विश्वव्यापी संकटकै रुपमा बुझ्नुपर्ने घिसिङको भनाई छ ।

उनले एक डेढ महिनापछि ४/५ सय मेगावाट विद्युत निर्यात गर्न सक्ने अवस्थामा नेपाल पुग्ने बताए । त्यसले विदेशी मुद्रा नेपाल भित्र्याउन पनि सहज हुने उनको भनाई छ ।

‘हामी जसरी पनि खपत बढाउनेतर्फ ध्यान दिइरहेका छौं, ६ हजार मेगावाटका परियोजना निर्माणाधीन छन्, उद्योग–उद्योगमा गएर खपत बढाउने काम गरिरहेका छौं, विस्तारै विद्युत आयातमा पनि कमि आउनेछ,’ उनले भने ।

उनका अनुसार भारतबाट मूल्य बढेर आएपनि नेपालमा भने बढ्ने छैन । केही महिनाको मात्रै संकट भएकोले मूल्य बढाउनेतर्फ प्राधिकरणले नसोचेको उनको भनाई छ ।

‘मूल्य कसैलाई पनि बढ्दैन, उद्योगी व्यवसायीलाई मूल्यमा ‘कम्प्रमाइज’ गर्न सकिन्छ भनेर बोलाएका थियौं तर, त्यो सम्भव भएन, उहाँहरुको जानकारी विना हामीले मूल्य बढाउँदैनौं, हामीले विगत ४/५ वर्षदेखि मूल्य घटाइरहेका छौं, मूल्य बढाउने भन्दा पनि घटाउनेमा हामी केन्द्रित हुनेछौं,’ उनले थपे ।

‘अहिले हामीले उद्योगलाई प्रतियुनिट ९ रुपैयाँमा विद्युत दिएका छौं, भारतबाट खरिद हुने विद्युतको मूल्य प्रतियुनिट ३८ रुपैयाँ परेको छ, हामीले यो कुरा एफएनसीसीआई, चेम्बर, सिमेन्ट उद्योग र फलामे डण्डी उद्योगका प्रतिनिधिलाई पनि भनेका छौं, अर्थमन्त्रीसँग पनि यो कुरा भएको छ,’ घिसिङले भने ।

उनका अनुसार प्राधिकरणले यसअघि भारतबाट विभिन्न युनिटबाट भिन्दाभिन्दै मूल्यमा विद्युत खरिद गर्ने गरेको थियो । उनले यसअघि भारतबाट प्रतियुनिट १ रुपैयाँ ९० पैसामा पनि विद्युत खरिद भएको जानकारी दिदै औसतमा प्रतियुनिट ५ देखि ६ रुपैयाँ पर्ने गरेको बताए ।
प्राधिकरणले पछिल्लो समय प्रतियुनिट १५ रुपैयाँमा विद्युत खरिद गरेको घिसिङको भनाई छ ।

प्राधिकरणले भारतबाट ३८ रुपैयाँ तिरेर ४५० मेगावाट विजुली आयात गर्ने निर्णय भएको हो । प्राधिकरणले भारतीय बजारबाट ९६ वटा पावर ब्लक मार्फत विद्युत आयात गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.