चोभार सुख्खा बन्दरगाह चैत्रभित्रै सञ्चालन हुन्छ : कार्यकारी निर्देशक

  २०७८ चैत १० गते १५:१९     विकासन्युज


काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।

असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो । सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका हुन् ।

उहाँले भने, ‘निर्माण सम्पन्न त गत असारमै भएको हो । अब यहाँ जुन सरोकारवाला निकाय छौँ हामी इन्टरमोडेल यातायात विकास समिति, भन्सार विभाग, क्वारेन्टीन भयो । अब हाम्रो तयारी सकिएको छ । अब हामी तयारी अवस्थामा छौँ । चाडैँ उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तीव्रता दिइरहेका छौँ ।’

यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार जाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए । भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे ।

उनले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताए । यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरू सुख्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे ।

बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरूको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सबै पूर्वाधारहरूको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रुपमा सञ्चालन हुने उनले बताए ।

इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुख्खा बन्दरगाह निर्माण भइरहेको छ भने विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.