तनहुँमा बाख्राको दूधबाट बनेको चीजको माग धेरै

  २०७८ चैत ७ गते १४:५१     विकासन्युज

बाख्राको दुधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ-धौ पर्न थालेको छ ।

विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरूमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरूले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो । विदेशीहरूले चीज र वाइन खाने भएको र नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तरयुक्त भएको कारणले पनि पछिल्लो समय धेरै मन पराइएको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य बताउछन् ।

अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरू पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढिरहको छ । उनले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दुध पुर्‍याउन सक्ने बताए ।

एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि चार लिटरसम्म दूध दिने गरेको उनको भनाइ छ । दूधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको उनले बताए । उनले स्थानीयको माग, होटल व्यवसायीहरूको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको बताए ।

यो बाख्राले सबै किसिमका घाँसहरू खाए पनि पोषिलो कुरा धेरै खुवाउनु पर्ने उनको भनाइ छ । अनुसन्धान कन्द्रले अहिले चीजसँगै सानेन जातको पाठीहरू पनि बिक्री गर्दै आएको छ । तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसाबमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दूधभन्दा चीजको बढी माग आइरहेको बताए ।

त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यष पुण्यसिंह लामा भने बन्दीपुरलाई पर्यटनसँग जोडेर उत्पादन र रोजगारी बढाउने लक्ष्यमा रहेको बताउछन् । बन्दीपुर सांस्कृतिक र ऐतिहासिक थलो भएको भन्दै उनले २० वर्षे गुरुयोजना बनाएर बन्दीपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ काम गरेको बताए ।

अध्यक्ष थापाले ऐतिहासिक सम्पदाहरूलाई पर्यटनमा बदलेर रोजगार र उत्पादन सिर्जना गर्ने लक्ष्यअनुसार ऐतिहासिक सम्पदाहरूको सुरक्षा गर्ने काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.