मैनहिया-सम्पत्तिया प्रसारण लाइन निर्माणको काम ६० प्रतिशत सम्पन्न

  २०७८ चैत ६ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य ६० प्रतिशत सकिएको छ ।

रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्यसहित काम तीव्र पारिएको छ ।

२८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ४४ वटाको जग हालिएको छ । पाँचवटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरणहरु आयोजनास्थलमा ल्याइ सकिएको निर्माण कम्पनीले जनाएको छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा-मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी रहेको छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरू, कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ । टोलीले नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो लाइन महत्त्वपूर्ण रहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.