२०७८ फागुन २४ गते २१:१६ विकासन्युज
काठमाडौं । विदेशी मुद्राको संकट भोगिरहेको श्रीलङ्काले डलरमा रेमिट्यान्स पठाउने नागरिकलाई प्रति डलर ३८ रुपैयाँ बढी दिने भएको छ ।
श्रीलङ्का सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दैै आएको हालको प्रोत्साहन रकम बढाउने निर्णय गरेको हाे।
मङ्गलबार कोलोम्बोमा मन्त्री परिषद्को बैठकपछि सञ्चारमाध्यमलाई गराइएको जानकारी अनुसार केन्द्रीय बैंकले विदेशी कामदारले विप्रेषणमार्फत् तिरेको प्रत्येक डलरको ३८ रुपैयाँ (०.१७ अमेरिकी डलर) भुक्तानी गर्ने घोषणा गरेको हो ।
यसअघि केन्द्रीय बैंकले विप्रेषणमार्फत् श्रीलङ्का पठाएको प्रति डलर १० रुपैयाँ (०.०४ डलर) तिरेको थियो ।
मन्त्रालयका प्रवक्ता अधिकारीले विदेशी भूमिमा रहेका श्रीलङ्काली नागरिकले वार्षिक करिब ७ देखि ८ अर्ब अमेरिकी डलर श्रीलङ्कामा पठाउने गरेको बताए ।
सरकारले सन् २०२१ मा अमेरिकी डलरको विनिमय दर २०० रुपैयाँ कायम गरेपछि विप्रेषण बापत् प्राप्त हुने यो रकम करिब २.५ अर्ब डलरले घटेको थियो ।
विदेशमा काम गर्ने श्रीलङ्कालीलाई औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन भत्ता बढाउने निर्णय लिइएको हो । फागुन २४ गते एक अमेरिकी डलरको आधिकारिक खरिददर २२५.२० रुपैयाँ रहेको केन्द्रीय बैंकले मङ्गलबार दिउँसो जनाएको छ । अमेरिकी डलरको बिक्री दर भने सोमबार घटेको मूल्य अनुसार २२९.९९ रुपैयाँमा कायम भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.