बैंकहरुले दिएको कर्जा र राष्ट्र बैंकबाट लिएको सापटी करिब बराबर

  २०७८ फागुन २२ गते १०:३३     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा बेथिति देखिएको छ । सर्वसाधारणबाट निक्षेप लिएर कर्जा लगानी गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट लिएको सापटी र उनीहरुले अहिले दिइरहेको कर्जा करिब बराबर हुन लागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको गत फागुन २० गतेसम्मा ४२ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) लिइसकेका छन् । यो रकम चालु आर्थिक वर्षमा बैंकहरुले एक हप्ताको लागि राष्ट्र बैंकबाट लिएको रकमको कुल योग हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन १६ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई कुल ४६ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा दिएका छन् । बैंकहरुले दिएको कर्जा उनीहरुले राष्ट्र बैंकबाट लिएको एसएलएफ सापटी सुविधा भन्दा करिब ४ खर्ब मात्रै बढी छ ।

बैंकिङ क्षेत्रमा तरलता अभाव भएकोले बैंकहरुले कायम राख्नुपर्ने तरलताको लागि राष्ट्र बैंकबाट यसरी सापटी लिने गरेका हुन् । मौद्रिक नीतिको मध्यावधी समीक्षाअघिसम्म बैंकहरुले ५ प्रतिशत व्याजदरमा यस्तो रकम चलाउन पाउने गरेका थिए । राष्ट्र बैंकबाट एसएलएफ सापटी लिएको रकम बढीमा ७ दिन चलाउन पाइन्छ । त्यसपछि फेरि सापटी लिन पाइने सुविधा छ । मौद्रिक नीतिको मध्यावधी समीक्षा पछि भने यस्तो सापटीको व्याजदर ७ प्रतिशत बनाइएको छ ।

तरलता अभाव भएपछि बैंकहरुले राष्ट्र बैंकबाट सापटी दिएका हुन् । राष्ट्र बैंकबाट लिएको सापटी रकम तरलता कायम गर्ने प्रयोजनमा प्रयोग हुने गरेपछि पछिल्लो समयमा कर्जा विस्तार बृद्धि भइरहेकोले बैंकहरुले त्यस्तो रकम कर्जा दिन प्रयोग गरे कि भन्ने शंका राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकका अनुसार गत फागुन १५ गतेसम्ममा बैंकिङ क्षेत्रको निक्षेप ४८ खर्ब ८४ अर्ब रुपैयाँ थियो । त्यसको भोलिपल्ट अर्थात फागुन १६ गते बैंकिङ क्षेत्रको निक्षेप एक अर्ब रुपैयाँले बढेर ४८ खर्ब ८५ अर्ब रुपैयाँ पुग्यो ।

तर, सोही दुई दिनको कर्जाको अंक भने फरक छ । फागुन १५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४६ खर्ब ९० अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेका थिए । जबकि फागुन १६ गते बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी ४६ खर्ब ९४ खर्ब रुपैयाँ पुगेको छ । एक दिनमा निक्षेप एक अर्ब रुपैयाँले बढ्दा कर्जा तथा लगानी भने ४ अर्ब रुपैयाँले बढेको तथ्यांकले देखाएको छ ।

बैंकहरुले आफूसँग भएको निक्षेपको २० प्रतिशत रकम अनिवार्य रुपमा तरलताको रुपमा राख्नुपर्ने भएपनि त्यसो गर्न पनि नसकेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार केही वाणिज्य बैंकहरुले नै २० प्रतिशत तरलता कायम गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.