आईपीओ लिएर बीमा कम्पनीबाट जागिर छोड्दै कर्मचारीहरु

  २०७८ फागुन ८ गते १४:१४     विकासन्युज

काठमाडौं । नयाँ बीमा कम्पनीहरुबाट जागिर छोड्ने कर्मचारीको संख्या बढ्न लागेको छ । कम्पनीहरुले साधारण सेयर (आईपीओ) जारी गरिसकेपछि जागिर छोड्ने कर्मचारीको संख्या बढेको हो ।

नयाँ कम्पनीले आईपीओ जारी गर्दा ५ प्रतिशत सेयर कर्मचारीको लागि सुरिक्षत राखिएको हुन्छ । कम्पनीहरुले जारी गर्ने आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुने वित्तिकै मूल्य कम्तिमा पनि ३ गुणाले बढ्ने गरेका कारण सर्वसाधारणमा आईपीओप्रति आकर्षण बढेको छ । यही आकर्षणको कारण कर्मचारीहरु आईपीओ जारी नगरेका कम्पनीमा जाने र सेयर पाइसकेपछि अन्य कम्पनीमा जाने गर्न थालेका हुन् ।

कम्पनीले आईपीओ जारी गरिसकेपछि केही कर्मचारीले जागिर छोडेको युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार कर्णले बताए ।

‘आईपीओ जारी भएपछि कर्मचारीको संख्या घटेको छ, केही कर्मचारीहरुले जागिर छोडेका छन्,’ प्रमुख कार्यकारी अधिकृत कर्णले भने ।

उचित हो ?

केही कम्पनीहरुले आईपीओ पाएपछि निश्चित अवधिसम्म कम्पनीमा काम गर्नै पर्ने अनौपचारिक शर्त पनि राख्ने गरेका पाइएको छ । तर, अहिलेको कानुनी व्यवस्था अनुसार त्यसो गर्न नमिल्ने प्रमुख कार्यकारी अधिकृत कर्ण बताउँछन् ।

‘कर्मचारीलाई सेयर दिने भनेको हिजोका दिनमा काम गरेको आधारमा हो, अवका दिनमा काम गर्ने आधारमा होइन, त्यसैले कम्पनीबाट पाइने सुविधा (आईपीओ) पाएपछि जागिर छोडे भनेर नराम्रो सोच्नुपर्ने अवस्था म देख्दिनँ, काम गर्ने व्यक्तिको पनि अधिकारको कुरा हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत कर्णले भने ।

बीमा समितिका अधिकारीहरु भने आईपीओ पाउने लोभले कर्मचारी अनेक तरिका अपनाएर नयाँ कम्पनीमा जाने र आईपीओ पाइसकेपछि बढी बोनस पाइने पुराना कम्पनीतिर पस्न खोज्ने प्रबृत्ति देखिएको बताउँछन् ।

‘कम्पनीले कमाएको नाफाबाट कर्मचारीलाई पनि बोनस दिनुपर्छ, त्यसैले नयाँ कम्पनीमा गएर आईपीओ लिने र बढी बोनस पाउने कम्पनीमा जान फेरि अनेक तरिका अपनाउने प्रबृत्ति बढेको गुनासो कम्पनीहरुले गरेका छन्, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा कम्पनी र कर्मचारीबीचको हो, हामीले यसै भनेर पठाउने गरेका छौं,’ समितिका एक अधिकारीले भने ।

One comment on "आईपीओ लिएर बीमा कम्पनीबाट जागिर छोड्दै कर्मचारीहरु"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.