करिब ६ अर्ब लगानीमा म्याग्दीको राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

  २०७८ फागुन १ गते १३:३९     विकासन्युज

चिमखोला । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुईवटा जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ ।

तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो  । आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको बताए ।

‘मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुईवटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडेका छौ,’ उनले भने,’सुरुङ निर्माण थालिएको र दुईवटै आयोजनाको विद्युतगृह र बाँधको काम सुरु गर्ने तयारीमा छौ ।’ पाँच हजार पाँच सय मिटरमध्ये दुईवटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मङ्गलेको पनि थप तीन वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ ।

माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुई वटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ । बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मङ्गले जलविद्यु्त् आयोजनाको चिमखोलाको मलाङमा विद्युत्गृह बनाउनका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ ।

दग्नामको अजिङ्गर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ ।

घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी भएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए । कूल लागत पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मङ्गले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ ।

राहुघाट मङ्गलेकोको विद्युत्गृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युत्गृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि निर्माण सुरु भएको हो । विद्युतगृह र अडिट निर्माणस्थल पुग्ने पहुँचमार्ग निर्माण गरिएको छ । विद्युत्गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७स्थित चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना गरिएको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सवस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दूरीको प्रशारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ । राहुघाट नदीको सहायक ठूलो खोलामा संयुक्त ऊर्जा प्रालीले २१दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.