उद्योग मन्त्रालय नेतृत्व विहिन, प्रधानमन्त्रीलाई नभेटी फाइल बोकेर फर्कन्छन् सचिव

  २०७८ माघ २८ गते १४:०२     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय विभागीय मन्त्री विहीन भएको लामो समय भैसकेको छ । लामो समयसम्म मन्त्री नहुँदा मन्त्रालयको तथा मताहात रहेका अन्य निकायहरुको कामहरु रोकिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको विकास र सहजीकरणको लागि स्थापना भएको मन्त्रालयमा असारदेखि नै मन्त्री छैनन् । प्रधानमन्त्री देउवाले आफ्नो यो कार्यकालमा जम्मा करिब एक दिनको लागि मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्न सकेका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन पनि असंबैधानिक भन्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि गत असार २१ गते शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री देउवाले आफू नियुक्त भएको ८८ दिनसम्म मन्त्रिपरिषदलाई पूर्णता नै दिन सकेनन् ।

प्रधानमन्त्री देउवाले सरकार गठन भएको ८८ औं दिनपछि गत असोज २२ गते मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । र, उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मा गजेन्द्रबहादुर हमाललाई दिएका थिए ।

सांसद नै नभएको व्यक्तिलाई देउवाले मन्त्री बनाएपछि उनको पार्टी नेपाली कांग्रेसभित्रै विरोध भएको थियो । सांसद नै नभएको मान्छेलाई प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाएको भन्दै आलोचना भएको थियो । यही आलोचनाको बीच गत असोज २२ गते उद्योगमन्त्रीको रुपमा सपथ ग्रहण गरेका हमालले २४ घण्टा नहुँदै मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उनले अनावश्यक विवादमा नफस्न राजीनामा दिएको बताएका थिए । उनी नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

हमालले राजीनामा दिएपछि मन्त्रीविहीन भएको मन्त्रालय प्रधानमन्त्री देउवाले नै संहाल्दै आएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रालयको कार्यभार सम्हालेपनि मन्त्रीले गर्नुपर्ने कामहरु भने रोकिएका छन् ।

प्रधानमन्त्री अधिकांश समय राजनीतिक कार्यक्रममै व्यस्त हुने भएकाले मन्त्रालयका फाइलहरू अघि बढाउन नसकिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्री नहुँदा मन्त्रालयका सचिवहरु फाइल बोकेर प्रधानमन्त्री कार्यालयमा पुग्दा समेत प्रधानमन्त्रीले वेवास्ता गर्ने गरेको उनीहरुको भनाई छ ।

‘हाम्रो मन्त्रालयले लामो समयदेखि मन्त्री पाएको छैन्, विभागीय मन्त्री नहुँदा प्रधानमन्त्रीको प्राथमिकतामा मन्त्रालय पर्दैन, उहाँलाई भेट्न फाइल बोकेर सचिवज्यू जादा पनि नभेटी र्फकनुपर्ने अवस्था छ’, ती कर्मचारीले भने ।

रोकियो उद्योग दर्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नहुँदा मन्त्री अध्यक्ष हुने कुनै पनि समितिको बैठक बस्न सकेको छैन । बैठक नबस्दा अनुमति लिनुपर्ने उद्योग दर्ताको कार्य रोकिएको उद्योग विभागले जनाएको छ ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी बोर्ड बैठक बस्न नसक्दा केही विशेष प्रकृतिका उद्योग दर्तामा समस्या सिर्जना भएको बताउँछन् ।

‘अन्य उद्योगका लागि प्रक्रिया पुगेर आएमा हामीले इजाजत दिइहाल्छौं तर, बोर्डबाट नै प्रकृति हेरेर निर्णय गराउनुपर्ने खालका उद्योगको फाइलहरु रोकिएका छन्, उद्योग मन्त्रालय प्रधानमन्त्री यूले सम्हाल्नु भएको छ, उहाँको समय नमिल्दा बोर्ड बैठक बस्न सकेको छैन’, महानिर्देशक तिवारीले भने ।

उनका अनुसार बोर्ड बैठक बस्न नसक्दा अनुमति लिनुपर्ने उद्योगका लागि निवेदन लिएर राख्ने बाहेक अन्य काम भएका छैन ।

‘हामीले निवेदन दर्ता गराएर राखेका हुन्छौं, निवेदन दर्ता भएपछि अनुमति पाइहाल्छ भन्ने लाग्दोरहेछ, दर्ता किन नभएको भन्दै दैनिक गुनासो गर्नेहरु पनि बढ्न थाल्नुभएको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.