बीमा कम्पनीहरुले आफुखुशी सीईओको तलब घटाउन नपाउने

  २०७८ माघ २५ गते १४:०८     विकासन्युज

काठमाडौं । बीमा व्यवसाय सञ्चालन गर्ने बीमा कम्पनीहरुले अब आफुखुशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब घटाउन नपाउने भएका छन् । जीवन तथा निर्जीवन दुबै प्रकारका व्यवसाय गर्ने कम्पनीहरुले अब समितिको स्वीकृति बिना आफ्ना सीईओको तलब तथा भत्ता घटाउन नपाउने भएका हुन् ।

समितिले बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०७४ संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । २०७४ असोज १८ गते समितिबाट स्वीकृत भएको उक्त मार्गदर्शन समितिले २०७८ पुस २६ गते संशोधन गरेको हो ।

यो मार्गनिर्देशिका अनुसार कम्पनीले कार्यकारी प्रमुखलाई दिन तलब, भत्ता तथा अन्य सुविधा चार भागमा विभाजन गरेको छ । त्यसमध्येको एक अर्थात मार्गनिर्देशनको दफा ४ मा रहेको निश्चित वार्षिक तलब तथा भत्तामा भने समितिले केही परिमार्जन गरेको हो ।

उक्त संशोधित दफामा ‘बीमकले प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्ति गर्दा वा यस उपदफा बमोजिम गणना गरिएको निश्चित वार्षिक तलबभत्ता रकम यसअघि प्रदान गरिएको वार्षिक तलब तथा भत्ताभन्दा कम हुन आएमा समितिको स्वीकृति लिई अघि प्रदान गरिएको तलबभत्ता रकमसम्म प्रदान गर्न सकिनेछ’ भन्ने उल्लेख छ ।

उक्त मार्गनिर्देशन अनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीका सीईओले विगत तीन आर्थिक वर्षको औषत कर्मचारी खर्चको ६ प्रतिशतसम्म भक्ता पाउने व्यवस्था छ । अर्को, जीवन र निर्जीवन बीमा व्यवासाय गर्ने कम्पनीको सीईओले कम्पनीको विगत तीन आर्थिक वर्षहरुको अन्तको औषत कूल सम्पत्तिको क्रमशः ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म निश्चित वार्षिक तलब तथा भत्ता पाउने मापदण्ड रहेको छ । तर यी दुई मापदण्डबाट गणना गर्दा जुनबाट कम आउँछ सोही अनुसारको तलबभत्ता निर्धारण गरिने व्यस्था रहेको छ ।

र, यही सीमाभित्र रहि कम्पनीहरुले समितिको पूर्वस्वीकृति लिएर मात्रै सीईओको तलब तथा भत्ता थपघट गर्न पाउने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.