सात वर्षमै बन्द भयो ४ करोडमा बनेको अछामको दर्ना लघुजलविद्युत्

  २०७८ माघ २४ गते १४:४२     विकासन्युज

भजनी । अछामको बान्निगढी गाउँपालिका–६ साबिक दर्ना गाविसमा २०७० सालमा पहिलोपटक बिजुली बत्ती बलेको थियो । दर्नावासीको लामो प्रयासका बाबजुद कैलाश खोलाको पानीबाट ८३ किलोवाट क्षमताको आयोजना सुरु भए पनि त्यो आयोजना सात वर्ष नपुग्दै खस्कदो अवस्थामा पुगेको छ ।

जलविद्युत् आयोजनाको पानीको कुलो बाढीले बगाएपछि त्यसको सञ्चालनका लागि कुनै पहल नभएको स्थानीयवासी बताउँछन् । स्थानीय क्षेत्रमा उत्पादन भएको विद्युत्ले स्थानीयवासीलाई निकै राहत मात्रै दिएको थिएन गाउँमा साना तथा मझौला उद्योगहरु समेत सञ्चालनमा आएका थिए ।

साढे चार करोडको लागतमा निर्माण भएको लघु जलविद्युत् आयोजनाको छ सय मिटर कुलो भत्किएको छ । सो आयोजनाको एक किलोमिटर सात सय मिटर लामो कुलो रहेको छ । साबिकको दर्ना गाविसका ६६२ र कालागाउँ गाविसका ४५० घरधुरी विद्युत्को पहुँचमा रहेका थिए । आयोजना सञ्चालनका लागि आफूहरुले पहल गरेको भए पनि त्यसको सुनुवाइ नभएको बान्निगढी जयगड गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताएका छन् ।

‘प्रदेशका माननीय आएर अब विद्युत् आयोजना सञ्चालन नल्याउने र राष्ट्रिय प्रसारण लाइन जोड्ने भनेर जानुभयो । राष्ट्रिय प्रसारण लाइन पनि जडान भयो’, गाउँपालिकाका अध्यक्ष खड्काले भने, ‘अहिले उपभोक्ता मारमा छन् । विद्युत्को चुहावट निकै बढेको छ । प्राधिकरणलाई एक वर्षमा २८ लाख तिर्नुपर्ने देखिएको छ । उपभोक्तासँग पैसा उठाएकै छ ।’

उनले विद्युत् सहकारीमार्फत सञ्चालन हुँदै आएको राष्ट्रिय प्रसारण लाइनले उपभोक्ताहरुलाई निकै मारमा पारेको बताउँदै त्यसको छिट्टै समाधान गर्न आवश्यक रहेको बताए । गाउँपालिका अध्यक्ष खड्काले त्यो पनि अस्थायी सम्झौताअनुसार बिजुली बत्ती बालिएको र २८ लाख बक्यौता तिर्न नसक्दा तीनपटक विद्युत्लाइन काटिएको बताउँदै त्यसको गाउँपालिकाले जिम्मा लिएर अहिले जडान गरिएको बताए । उनका अनुसार राष्ट्रिय प्रसारण लाइन जतिबेला पनि काटिन सक्नेछ ।

उपभोक्ताले लघुजलविद्युत् आयोजना सञ्चालनमा हुँदा न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट सात रुपैयाँका दलले विद्युत् महसुल तिर्नुपर्थ्यो । अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएपछि उपभोक्ताहरुले न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १५ रुपैयाँका दरले विद्युत् महसुल तिर्दै आएका छन् । लघु जलविद्युत् आयोजना हुँदा दिनमा २२ घन्टा बत्तीको सुविधामा रहेका उपभोक्ता अहिले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुँदा दिनहुँ बत्ती बिनै बस्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी हिक्मत थापा बताउँछन् ।

लघु जलविद्युत् आयोजना सञ्चालनमा हुँदा स्थानीय पाँचजनाले रोजगारीसमेत पाएका थिए । अहिले जलविद्युत् आयोजना व्यवस्थापन समितिले उनीहरुलाई जागिरबाट हटाइसकेको छ । २५ महिनाको तलबसमेत कर्मचारीहरुले अझै नपाएको विद्युत् आयोजनामा काम गर्दै आएका झनक थापाले बताए ।

‘पुरानो २५ महिनाको तलब पाएका छैनौँ । आयोजना सञ्चालनका लागि पनि कुनै पहल भएको छैन । समितिले माघ ५ गतेदेखि कर्मचारीहरुलाई अवकाश दिइसकेको छ,’ थापाले भने, ‘जागिरबाट अवकाश दिए पनि काम गरेको पैसा त दिनुपर्ने हो । पटकपटक आफूहरुले पाउनुपर्ने रकम माग गर्दा पनि त्यसको सुनुवाइ भएको छैन । त्यसैमा पनि तीनजनाको बीमाबापतको ५७ हजार पनि समितिले तिरेको छैन ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.