‘उसलाई वा त्यसलाई परेको हो भनेर पन्छिने काम नगरौं, व्यवसायिक एकता चाहिन्छ’

  २०७८ माघ १९ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायिक एकता आजकाे आवश्यकता रहेको बताएका छन् । पछिल्लो समय सरकारी निकायबाट नै व्यवसायी माथि आक्रमण तथा अनेकन लाञ्छना लगाउने कार्यहरु बढेको भन्दै उनले व्यवसायीहरु एकिकृत भएर समस्याकाे समाधान गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले नेपालमा जस्तोसुकै व्यवस्था परिवर्तन भए पनि व्यवसायीहरुलाई सधैं पीडित र प्रताडित बनाएको विगत र वर्तमान भएको बताउँदै शासक/प्रशासकहरुले विभिन्न नीति, नियम र कानुनको गलत व्याख्या गर्दै व्यवसायीलाई दुःख दिने गरेको आराेप पनि लगाएका छन् ।

सधैं निजी क्षेत्रलाई दबाउने र डरमा बाँच्न बाध्य पार्ने कार्य गर्दै आएको प्रस्टै देखिएको उनको बुझाई छ ।

‘राज्यका निकायले निजी क्षेत्र प्रति आकर्षित नै हुन नसक्ने ऐन नियमलाई प्रयोग गरी निजी क्षेत्रका व्यवसायलाई दुःख दिने कार्य भएको छ, यसमा नीजि क्षेत्रले शसक्त आवाज उठाउनु पर्ने अवस्था सृजना भएको छ, अहिले उसलाई वा त्यसलाई परेको हो भनेर पन्छिने छुट निजी क्षेत्रका संघ संस्था र हामी व्यवसायीलाई छैन,’ उनले भने ।

गत साता मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वटा सिमेन्ट उद्योगविरुद्द सवा एक अर्ब रुपैयाँको भ्रष्टाचारको मुद्दा दायर गरेको थियाे । ती सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको भन्दै अख्तियारले गत बुधबार मुद्दा दायर गरेको थियाे ।

यस्तै, अहिले व्यवसायी आनन्द बतासको पनि व्यापक आलोचना भइरहेको छ । बतासले नारायणहिटी संग्राहलय परिसरभित्र रेस्टुरेन्ट चलाउने ठेक्का लिएर अनुमति लिएको भन्दा बढी क्षेत्रफलमा विभिन्न संरचना निर्माण गर्न थालेको भन्दै उनकाे आलोचना भइरहेको हाे । यद्यपि, अहिले क्षेत्रमा निर्माणाधीन संरचनाहरुकाे काम रोकिएको छ ।

यी दुई विषयमा उद्योगी व्यवसायीहरुले सरकारको विरोध गरिरहेका छन् । व्यवसायीहरु आफै पनि यो एकजुट हुने समय भएको बताउँदै आएका छन् । श्रेष्ठले यस्ता किसिमका क्रियाकलापको एक जुट भएर विरोध गर्नुपर्ने र समस्या समाधानमा सार्थक पहल गर्नु पर्ने धारणा राखेका हुन् ।

‘यस्ता कार्यको लागि हामी व्यवसायी बीच अभुतपूर्व एकताको खाँचो छ, हामी एकबद्ध छौं र जस्तोसुकै समस्यासँग लड्न सक्छौं भन्ने देखाउँदै सबै व्यवसायीको सहअस्तित्वलाई सम्मान गरौँ, यस घडीमा समस्यामा परेका व्यवसायीहरूको मनोबल उच्च राख्न सबैले आफ्नो क्षेत्रबाट सहयोग र समर्थन गरौँ, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.