चितवनमा बन्दैछ सवा १ अर्ब लागतको भव्य सिटी हल, अन्तर्राष्ट्रिय स्तरको सुविधा

  २०७८ माघ ४ गते ११:००     विकासन्युज

काठमाडौं । चितवनको भरतपुरमा सुविधा सम्पन्न भव्य सिटी हल निर्माण भइरहेको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा सिटी हललाई निर्माण गरिरहेको हो ।

निर्माणाधीन अवस्थामा रहेको सिटी हलको २२ प्रतिशत काम सम्पन्न भइसकेको महानगरको भनाई छ । महानगरका अनुसार महानगरपालिकाले महत्वकांक्षी योजनाका रूपमा सिटी हल निर्माणको काम अगाडि बढाइरहेको छ ।

महानगरको गौरवको आयोजना भित्र पर्ने सिटी हल अन्तर्राष्ट्रियस्तरको नमुना मोडेल तथा सेवा सुसिवधाहरु हुने आयोजना प्रमुख प्रकाश अर्यालले बताए । उनका अनुसार हालसम्म २२ प्रतिशत काम सकिएको छ भने बाँकी ७८ प्रतिशत काम भवन निर्माणको समय अवधि भित्र नै सकिने छ ।

महानगरपालिकाले भरतपुर–१० मा रहेको जिल्ला समन्वय समितिको ४ विघा जमीनमा आधुनिक सिटी हलको निर्माण भइरहेको छ । जमिन मुनीको काम सकिएर अहिले पिलर तथा ढलानको काम भइरहेको आयोजना प्रमुख अर्यालले बताए ।

उक्त भवनको लागत अनुमान भ्याट हित एक अर्ब २० करोड ३ लाख ७३ हजार ७ सय ६९ रहेको छ भने सम्झौता रकम भ्याट सहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रहेको छ । हालसम्म १४ करोड रुपैयाँ भुत्तानी भइसकेको अर्यालको भनाई छ ।

महानगरको सहरी विकास मन्त्रालयसँग भवन निर्माण गर्न महानगरले २०७७ मंसिर २८ गते सम्झौता गरेको थियो । उक्त हल २६ महिना अर्थात् २०७९ फागुन १७ गते भित्र निर्माण सम्पन्न भइसक्नु पर्नेछ । महानगरले संघीय सरकारको सहयोगमा उक्त हल निर्माणको काम सुरुवात गरेको हो ।

निर्माणाधीन सिटी हल निर्धारित समय अघि नै सम्पन्न गर्ने लक्ष्यसहित द्रुत गतिमा काम भइरहेको अर्यालको भनाई छ । उक्त हलको उचाइ २५ मिटरको हुनेछ ।

‘पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ, अन्तर्राष्ट्रिय स्तरको बन्ने भनिएको आधुनिक सिटी हल दुई हजार जना मानिस अट्न सक्ने क्षमताको हुनछ,’ उनले भने ।

हल निर्माणको कार्य तीव्र गतिमा भइरहेकोले तोकिएको समय अगावै गुणस्तरीय सिटी हल निर्माण हुने अर्यालको भनाइ छ । सिटी हलका लागि आवश्यक निर्माण सामाग्रीदेखि स्थानीय स्तरमा उत्पन्न हुने कुनै पनि समस्या समाधानका लागि महानगर प्रतिवद्ध रहेको पनि अर्यालले जनाए ।

अहिले दैनिक ९० जना कामदार सिटी हल निर्माणको काममा खटिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल निर्माण गरेको महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.